
पुराना पुस्तक
कृति :सिमान्त आकाश स्रष्टासितको अन्तर्यात्रा
कृतिकार : नेत्र एटम
विधा : निवार्तासंग्रह
विभिन्न विधामा क्रियाशिल ३५ जना स्रष्टाहरुसँग आत्मीय वार्ता मार्फत नेपाली भाषा,साहित्य लगायतका क्षेत्रका यावत विषयहरुको बारेमा ती स्रष्टाहरुको भावना,वुझाईलाई पाठक सामु पस्कने प्रयास गरेका छन् नेत्र एटमले । यो एक प्रकारको निवार्ता हो,पढ्दा निबन्धको झल्को पनि आउँछ । यसले स्रष्टाको मनका भावहरुको गहिरो खोतलखातल गरेर पाठक समक्ष पुर्याएको छ । आत्मपरक रुपमा प्रस्तुत गर्ने एटमको सतप्रयास सफल पनि भएको छ । उनले यसलाई स्रष्टासितको अन्तर्यात्रा भनेका छन् ।
यसमा डायमन शमशेरदेखि रोशन थापा निरव सम्म अटेका छन् । यसमा एटमले उनीहरुका कृति,साहित्यप्रतिको मान्यता,बुझाई र दृष्ट्रिकोण सहित साहित्यको कलात्मक सौन्दर्यलाई उनीहरु मार्फत पर्गेल्ने सफल प्रयास भएको यो कृति पठनीय छ । आत्मपरकतालाई मज्जैले पोखेर स्रष्टाको भित्रि तहसम्म पस्ने नेत्र एटमको सत्कर्मले संवाद,वार्ता,प्रश्नोत्तर,अन्तरवार्ता जे भने पनि नेपाली साहित्यको महत्वपूर्ण कृतिको रुपमा सिमान्त आकाश आएको छ ।
यस कृतिलाई पहिलो पटक तन्नेरी प्रकाशन काठमाडौंले वि.सं.२०६२ मा प्रकाशनमा ल्याएको हो ।
कृति : जननेता मदन भण्डारीसँगको सहयात्रा
कृतिकार : मुकुन्द न्यौपाने
विधा :संस्मरण
मुकुन्द न्यौपाने सक्रिय राजनीतिज्ञ हुनुका साथै नेपाली भाषा साहित्यमा पनि एकदर्जन कृति योगदान गरेका छन् ।
आफ्नोे राजनीतिक जीवनका सोह्र वर्ष मदन भण्डारीसँगको निकटतामा व्व्यतित गरेका न्यौपानेले भण्डारीसँगका सहकार्यका विभिन्न सन्दर्भहरुलाई सुरुचिपूर्ण ढंगले पढ्न सक्नेगरी यस कृतिमा उल्लेख गरेका छन् । उतिबेलाको पञ्चायती व्यवस्थामा भूमिगत भएर संगठन विस्तारमा लाग्दाका अनौठा,डरलाग्दा र रोचक पलहरुलाई यस कृतिमा कैद गरेका छन् । नेपालका विभिन्न भूगोलका डाँडाकाँडा र गाउँबस्तीहरुमा गरेका खालीखुट्टाको यात्रादेखि केही विदेश यात्राका संस्मरणहरु पनि यसमा उल्लेख गरेका छन् ।
मदन भण्डारीसँग पहिलो भेट कसरी भयो,२०३५ ३६ सालको आन्दोलनमा के कस्तो भूमिका रह्यो ?विभिन्न समयका भूमिगत बैठकहरु,पार्टीका विभिन्न केन्द्रिय अधिवेशनहरु ,विद्यासँग मदनको विवाहका प्रसँग,२०४६ सालको आन्दोलन लगायतका कम्यूनिष्ट गतिविधिहरुको इतिहास समेत जानकारी लिन सकिने प्रस्तुत कृतिमा माले माक्र्सवादी एकिकरणको फेहरिस्त समेत छ । यसर्थ,यो संस्मरण नेपाली कम्यूनिष्ट आन्दोलनको केही जानकारी दिने कृति पनि हुनसक्छ ।
जननेता मदन भण्डारीसँगको सहयात्रालाई मदन भण्डारी फाउण्डेशनले प्रकाशनमा ल्याएको हो ।
कृति : पात्रहरु
विधा : कथासंग्रह
कथाकार : रुद्र ज्ञवाली
भोगाईलाई पर्गेलेर लेख्न कम्ति गाह्रो हुन्न होला । यस्तै गरेर आफ्ना भोगाइ,अनुभूतिलाई कथाको माध्यमबाट पोखेका छन् कथाकार रुद्र ज्ञवालीले पात्रहरु मार्फत । यस कृतिभित्र १७ विभिन्न शिर्षकृत र विषयगत विविधा बोकेका कथाहरु समेटिएका छन् । आफैै कथाको शुत्रधार भएर,पात्रहरु आफैंले स्थापित गरेर कथा सृजना भएका छन् ।
यथार्थपरक लाग्छन् कथा ,प्रस्तुतिको हिसावले सुन्दर,सुललित बगेका कथाहरु देखिन्छन् । हाम्रा भोगाईका दैनिकीसँग साक्षात्कार गरिएका कथाहरुले यहाँ स्थान बनाएका छन् । हामी र हाम्रो समाज,यहाँकै पात्र,परिवेशका घट्नाहरुको कथानकतामा कथाहरु आएका छन् ।कथाले मज्जैले तान्छन् किनकी रोचक छन् कथाहरु । विभिन्न कुराहरुको सत्यापन गर्ने सामथ्र्य कथामा छ । कतिपय कथाहरु समाजका विकृति र विसंगतिलाई तिव्रतर प्रहार गरेर लेखिएका छन् । सरल भाषाशैली छ भने मझ्यौला आयतनका कथाहरु छन् ।
पात्रहरुलाई सिर्जनशील सहकारी प्रकाशन प्रा.लिले पहिलो पटक प्रकाशनमा ल्याएको हो ।








