
कृति : जिन्दगी र समय
विधा : कथासंग्रह
कथाकार : ध्रुव मधिकर्मी
मार्मिक र मर्मस्पर्शी कथाहरु लेख्न खप्पिस कथाकार हुन् ध्रुव मधिकर्मी । यस संग्रहभित्र सामाजिक पृष्ठभूमिका कथाहरु छन् । केही कथाहरु मनोवैज्ञानिक र प्रतीकात्मक छन् । गाउँले जीवन शहरियामा रुपान्तरित हुँदै गरेका कुराहरुमा कथाहरु बुनिएका छन् । ग्रामिण कृषिबाट शहरको जनजीवनमा परिवर्तन हुँदाका अबस्थाहरु कथाहरुले चित्रण गर्छन् । कथाह्ररुको पृष्ठभूमि पनि भक्तपुर देखिएको छ । कथाहरु विसंगतिपूर्ण परिवेशलाई उजागर गर्न सक्षम देखिएका छन् । उतिबेलाको समयका वाछिटाहरु कथाहरुमा प्रष्ट देखिन्छन् ।
यस कथासंग्रहभित्र विषयगत विविधाका ३६ थान कथाहरु समावेश गरिएका छन् ।
प्रस्तुत कथासंग्रहलाई उतिवेलाको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले पहिलो पटक २०४५ सालमा प्रकाशनमा ल्याएको हो ।
कृति : अजम्बरी गाउँ
विधा : उपन्यास
उपन्यासकार : न्यून न्होक
अनुवादक : खगेन्द्र संग्रौला
चर्चित प्रगतिवादी साहित्यकार एवं अनुवादक खगेन्द्र संग्रौलाले यस कृतिलाई वि.सं.२०२६ सालतिर नेपालीमा अनुवाद गरेका हुन् । । यसमा क्रान्तिकारीहरुको गौरवमय चरित्रको मज्जैले चित्रण गरिएको छ । भियतनामी क्रान्तिकारी नेता होचिमिन्हको प्रेरणा र नेतृत्वमा भएको जनक्रान्ति र त्यसको एक पात्र नूपको नेतृत्वमा कोगँ होआ र त्यसको आसपासका गाउँलेहरुले गरेको क्रान्तिकारी विद्रोहको कथा बुनिएको छ । अत्याधुनिक हतियार,जेल नेलको पर्वाह नगरी सामन्तीहरुको विरुद्ध भियतनामी कोँग होआका गाउँलेहरुले भाला र ढुँगाका भरमा लडेको बहादुरीको कथा पढ्न पाइन्छ ।
त्यहि युद्धको एक योद्धाले आफ्नै आँखाले देखेभोगेको कुरालाई सुन्दर र मिहिन ढंगले खिपिएको छ ।
सरल भाषामा अनुवादित यो उपन्यास भीयतनाममा महत्व दिइएको छ । सयौं वर्ष लामो क्रान्तिकारी परम्पराले जन्माएका योगदानका विरताको कहानी हो ।
विजय मल्लका कविता संग्रह
विजय मल्ल आख्यानमा चर्चित नाम । समसामयिक कविता लेख्छन् । यथार्थको भावमा वग्छन् कवितामा । प्रस्तुत कृतिमा गद्य कवितामा आफ्ना अभिव्यक्ति पोखेका छन् । जुन विषयमा कविता सृजना गर्छन् सो विषयको गहिराईमा डुबेर मात्र लेख्छन् । यसमा प्रस्तुत कविताहरु विषयगत विविधतायुक्त छन् । यथार्थपरक मात्र नभएर रोमान्टिक कविताहरु पनि यस कृतिमा परेका छन् । उनी चिन्तनशिल साहित्यकार हुन् ।
विजय मल्लका कविता संग्रहलाई पहिलो पटक शारदा प्रकाशन गृहबाट छापिएको हो भने यो तेस्रो पटक विं.सं.२०३६ सालमा साझा प्रकाशनबाट प्रकाशित गरिएको हो ।








