कृति : जराको स्वर
विधा : कविता
कवि : राम विनय
सबैले बुझ्न सक्ने सरल भाषामा कविता लेख्छन् कवि । कविता मार्फत समाजको यथार्थ र सत्यको पहिचान गर्छन् । आफ्ना अनुभूतिहरुलाई कवितामा उधिन्छन् । विकृति र विसँगतिका थुप्राहरुलाई कोपरेर लेखिएका ३७ थान कविताहरुले भरिएको छ जराको स्वर ।
उनी प्रगतिवादी धारका कवि हुन् । परिवर्तनको पक्षमा आवाज वुलन्द गर्छन् । सोही राजनीतिक दर्शनबाट प्रभावित भएर उनका कविताहरु कोरिएका छन् । यस कृतिभित्र विषयगत विविधताका कविताहरु परेका छन् । राम विनयका कविताहरु बौद्धिकताको कसीमा घोटिएकाले पठनीय देखिन्छन् ।
वि.सं.२०६० सालमा विवेक सिर्जनशिल प्रकाशनले जराको स्वरलाई प्रकाशित गरेको हो ।
कृति : हीरा
विधा : उपन्यास
उपन्यासकार : कविता पौडेल
कविता पौडेल भन्नासाथ विद्रोही चेत भएकी महिला । उतिवेलै हलो जोतेर पञ्चायतको विरुद्ध होमिएकी कविता प्रगतिवादी साहित्यकार हुन् । हीरा उनको सामाजिक विषयवस्तुमा आधारित यथार्थवादी उपन्यास हो । ग्रामिण परिवेशका पात्रहरु भएको र सोही परिवेशको चित्रण गरिएको प्रस्तुत उपन्यासमा नारी जातिमाथि परम्परागत र संस्कारजन्य रुपमा गरिएको सामाजिक एवं साँस्कृतिक अन्याय,हेपिएको,ठगिएको र गरिएको अत्याचारका वरिपरि उपन्यासको कथानकता घुमेको छ ।
यसमा छोराछोरी बिचको नेपाली समाजमा हुने विभेद,पतिपत्निविचका सम्बन्ध,सहित विभिन्न पात्रहरुको चरित्र चित्रण गरिएको छ । यो उपन्यास घट्नाप्रधान देखिन्छ । नारीवादी स्वर पनि यसमा मुखरित भएको पाइन्छ । यस उपन्यासकी मूख्य पात्र हीराले गरेको विद्रोह देख्न सकिन्छ ।
सरल भाषाशैली,ग्रामिण परिवेश,गुल्मी,अर्घाखाँची,पाल्पा लगायतका जिल्लातिर प्रयोग हुने भाषा हेर्दा उपन्यास आँञ्चालिक देखिन्छ । नारीमा परिवर्तनको लागि आउने हुटहुटी मज्जैले अनुभूति गर्न सकिन्छ ।
हीरालाई पसिना प्रकाशनले पहिलो पटक वि.सं.२०६३ मा प्रकाशनमा ल्याएको हो ।
कृति: वनेपा -स्तवन
कृतिकार : ज्ञानकाजी मानन्धर
कनेपाली संस्कृतिका ज्ञाता र अनुसन्धानदाता हुन् ज्ञानकाजी मानन्धर । यो कृति नेपाली संस्कृतिमा उतिबेलाको नौलो उपलब्धी हो ।
वनेपाको भौगोलिक अबस्थिति,पुरातात्विक,ऐतिहासिक महत्व सम्बन्धी विभिन्न खोजमूलक सामाग्रीहरुले भरिएको गहकिलो कृति हो । यसमा वनेपाली समाजका अमूल्य सम्पदाका रुपमा सुरक्षित अनेक पूजाआजा,जात्रापर्व,उत्सव,कर्मकाण्ड,कला,वास्तुकला,मठमन्दिर आदिको जानकारी दिने पुस्तक हो वनेपा -स्तवन । वनेपाली जनजीवन,संस्कारजन्य चित्रमय सांस्कृतिक जीवन पद्धति,,तोरी पेल्ने कोल,नेवारको सामाजिक,साँस्कृतिक जीवनपद्धति र कोल सञ्चालन गर्ने स्वजातीय प्रविधिको ज्ञानमूलक पुस्तक हो ।
काभ्रे जिल्लाको वनेपा,वनेपाली समाजको साँस्कृतिक पक्षको जानकारी दिने यो पुस्तकमा वनेपाको भौगोलिक अवस्थिति,क्षेत्रफल, पर्वहरु,देशपूजा,वनेपाको ऐतिहासिक,धार्मिक,सामाजिक,साँस्कृतिक लगायतका पक्षहररुको वर्णन गरिएको छ ।
यो संगहनीय पुस्तक वनेपा -स्तुवनलाई वि.सं.२०६३ सालमा पहिलो पटक सुखवेती मानन्धरले प्रकाशनमा ल्याएका हुन् ।