FILE PHOTO: Guards hold U.S. and Brazilian flags as U.S. President Joe Biden receives Brazilian President Luiz Inacio Lula da Silva and his wife Rosangela da Silva at the White House in Washington, U.S., February 10, 2023. REUTERS/Evelyn Hockstein/File Photo
काठमाडौँ । अमेरिकाले ब्राजिलबाट आयात हुने केही वस्तुमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने घोषणा गरेको छ । ब्राजिलले अनुचित व्यापारिक अभ्यास गरेको निष्कर्षसहित एक वर्ष लामो अनुसन्धानपछि अमेरिकाले यस्तो निर्णय गरेको हो ।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका प्रमुख जेमिसन ग्रियरले घोषणा गर्दै ब्राजिलका केही नीतिले अमेरिकी हितमा असर पारेको बताएका छन् । अनुसन्धानका क्रममा डिजिटल व्यापार, असमान कर सुविधा, इथानोल बजार पहुँचलगायतका क्षेत्रमा ब्राजिलका अभ्यासलाई अमेरिकाले आपत्तिजनक ठहर गरेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ब्राजिलका राष्ट्रपति लुला दा सिल्भा नेतृत्वको सरकारले अमेरिकासँग इमानदार वार्ता नगरेको आरोप लगाउँदै नयाँ शुल्क त्यसैको परिणाम भएको बताएका छन् ।
अमेरिकाले प्रस्ताव गरेको यो अतिरिक्त शुल्क आगामी जुलाई २२ देखि लागू हुनेछ। यद्यपि आपूर्ति प्रणालीमा असर पर्ने र अमेरिकामा उत्पादन नहुने केही वस्तुलाई भने शुल्कबाट छुट दिइएको छ । कच्चा पदार्थ, औषधि र कफीलगायत केही वस्तु यसमा समावेश छन् । अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले ब्राजिलसँग समस्या समाधानका लागि वार्ता जारी राख्न अमेरिका तयार रहेको जनाएको छ ।
अमेरिकाले गत वर्ष जुलाईमा सन् १९७४ को व्यापार ऐनअन्तर्गतको धारा ३०१ प्रयोग गर्दै ब्राजिलमाथि अनुसन्धान सुरु गरेको थियो। यो व्यवस्था विदेशी व्यापारिक अभ्यासले अमेरिकी व्यापार र प्रतिस्पर्धामा असर पारेको अवस्थामा प्रयोग गरिन्छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमाथि ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। पछि उक्त निर्णय फिर्ता लिइएको थियो। ट्रम्पले ब्राजिलमा पूर्वराष्ट्रपति जायर बोल्सोनारोमाथि चलेको मुद्दालाई लिएर पनि असन्तुष्टि जनाएका थिए ।
अमेरिकाले यसअघि व्यापार असन्तुलन भएका देशहरूमाथि धारा ३०१ प्रयोग गर्दै आएको छ। पछिल्लो वर्ष अमेरिकाले ब्राजिलसँग करिब १४ अर्ब ४० करोड अमेरिकी डलरको व्यापार बचत गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ११२ प्रतिशतभन्दा बढी वृद्धि हो।








