
काठमाडौँ।प्रधानमन्त्री बालेन र लिङदेनबीच भेटवार्ता वालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, समसामयिक घटनाक्रम तथा आपसी चासोका विभिन्न विषयमा छलफल भएको जनाइएको छ।
भेटमा राप्रपा अध्यक्ष लिङदेनसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य खुस्बु ओली पनि सहभागी थिए।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले संविधान संशोधनमार्फत वर्तमान व्यवस्थामा आवश्यक सुधार वा परिवर्तन गर्न खोजे राप्रपाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए। छलफलका क्रममा प्रधानमन्त्री शाहले भने कार्यदलको उद्देश्य आफैं संविधान संशोधन गर्ने वा संशोधनका एजेन्डा तय गर्ने नभई व्यापक छलफलका आधारमा बहसपत्र तयार गर्नु मात्र रहेको स्पष्ट पारेका थिए।
प्रधानमन्त्री र राप्रपा नेतृत्वबीचको भेटलाई पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल र समन्वयका रूपमा हेरिएको छ।



