
काठमाडौं असार ३२ गते । केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ब्रोडकास्टिङ पार्टनरका रुपमा कान्तिपुर टेलिभिजनलाई अनुबन्ध गरेको छ ।
नेपाल भलिबल लिगका प्रबन्ध निर्देशक अश्विन केडिया र कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सो अवसरमा कान्तिपुर टेलिभिजनका मार्केटिङ म्यानेजर अनुपम अधिकारी, नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय र एनभीएलका सीओओ विकास खेतानको पनि उपस्थिति रहेको थियो ।
सम्झौतासंगै अब नेपाल भलिबल लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ । नेपाल भलिबल लिगको चरणबद्ध तयारीलाई अगाडि बढाउने क्रममा खेलस्थलमै आएर खेल हेर्न असमर्थ दर्शकलाई मध्यजनर गरी प्रत्यक्ष प्रशारणका लागि कान्तिपुर टेलिभिजनसंग सम्झौता गरेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यो सम्झौताले नेपालीे भलिबलको विकास र विस्तारमा सहयोग पुग्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भलिबलको पहिचानलाई अझ फैलाउन मद्दत पुग्ने विश्वास लिएको बताइएको छ ।
यसअघि एनभीएलको पहिलो संसकरणमा सहभागी हुने ६ फ्रेन्नचाइज टोली, टिम मालिक, टिम लोगो, नारा, फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक सार्वजनिक भइसकेको छ । त्यस्तै टिकेटिङ पार्टनरमा आईएमइ खल्ती लिमिटेडसंग सम्झौता गरेको थियो ।
एनभीएलमा सहभागी हुने टिमहरुमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स रहेका छन् ।







