
काठमाडौँ । प्रशान्त महासागर क्षेत्रमा सक्रिय शक्तिशाली आँधी ‘बावी’का कारण फिलिपिन्समा पहिरो र खराब मौसमका घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । आँधी अब ताइवानतर्फ अघि बढिरहेको छ भने जापान, चीन र अन्य पूर्वी एसियाली मुलुकहरूले उच्च सतर्कता अपनाएका छन् ।
करिब एक हजार किलोमिटर क्षेत्रफलमा फैलिएको ‘बावी’ पछिल्ला धेरै दशकयताकै सबैभन्दा शक्तिशाली आँधीमध्ये एक मानिएको छ । आँधीको प्रभावका कारण ताइवान सरकारले विशेषगरी पहाडी क्षेत्रबाट १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । यद्यपि आँधीको केन्द्र ताइवानमा प्रत्यक्ष प्रवेश नगर्ने अनुमान गरिए पनि केही क्षेत्रमा एक मिटरसम्म वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।
ताइवानका राष्ट्रपति लाई चिङ तेले आँधी केही कमजोर भए पनि यसको दायरा अझै निकै ठूलो रहेकाले तीव्र हावा र भारी वर्षाले व्यापक असर पार्न सक्ने बताएका छन्। खराब मौसमका कारण ९१७ अन्तर्राष्ट्रिय र सबै २७४ आन्तरिक हवाई उडान रद्द गरिएको छ ।
जापानमा पनि ‘बावी’को प्रभाव देखिन थालेको छ । दक्षिणी साकिशिमा द्वीपसमूहमा भारी वर्षा र तीव्र हावा चलेपछि मौसम अधिकारीहरूले बाढी र पहिरोको जोखिमबारे चेतावनी दिएका छन् । लोकप्रिय पर्यटकीय गन्तव्य इशिगाकीमा सबै हवाई उडान र जलयात्रा सेवा बन्द गरिएको छ भने स्थानीय बासिन्दाले खाद्यान्न र अत्यावश्यक सामग्रीको मौज्दात गर्न थालेका छन् । जापान एयरलाइन्सले १०० भन्दा बढी उडान रद्द गर्दा करिब २० हजार यात्रु प्रभावित भएका छन् ।
आँधीका कारण हङकङ र ताइवानबीचका सबै साताअन्तका उडान रद्द गरिएका छन् । साथै पूर्वी चीनका हाङझाउ, निङ्बो र फुझोउ जाने केही उडान पनि स्थगित भएका छन् । ताइपेस्थित ताओयुआन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबारका सबै उडान रद्द गरिएको छ ।
चीनको राष्ट्रिय मौसम केन्द्रका अनुसार आँधीको अधिकतम हावाको गति अहिले करिब २०० किलोमिटर प्रतिघण्टा रहेको छ । यसअघि जुलाई ५ मा यसको गति २९० किलोमिटर प्रतिघण्टासम्म पुगेको थियो, जसलाई अमेरिकी अन्तरिक्ष निकाय नासाले पनि पुष्टि गरेको थियो । आँधीको केन्द्र नजिक लगातार १४४ किलोमिटर प्रतिघण्टाको हावा चलिरहेको छ भने झोक्काको गति १९८ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने चेतावनी जारी गरिएको छ ।
यसअघि ‘बावी’ले अमेरिकी क्षेत्र गुआम, रोटा, साइपन र उत्तरी मारियाना द्वीपहरूमा ठूलो क्षति पुर्याएको थियो । आँधीका कारण विद्युत्का खम्बा र तार ढलेका, सडक डुबानमा परेका, भवनहरूमा क्षति पुगेको तथा समुद्री मार्गमा अवरोध सिर्जना भएको जनाइएको छ । अमेरिकी तटरक्षक बलले मौसममा सुधार आएपछि समुद्री मार्ग खुलाउन अवरोध हटाउने काम सुरु गरेको छ ।
मौसमविद्हरूले ‘बावी’ अझै पनि पूर्वी एसियाका विभिन्न क्षेत्रमा भारी वर्षा, तीव्र हावा, बाढी र पहिरोको जोखिम कायम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।








