
कविता
खडक बोहोरा
को हुन् उनीहरू ?
जो एक गाँस खानकै लागि
घर आँगन छोडेर छिमेकी देशतिर लागे।
यो देश त उनीहरूको पनि हो नि,
तर
दिनभरि हात पाखुरा जोते पनि
एकछाकको गाँस टार्न पुगेन
परदेशको भूमि रोजाई भयो ।
उनीहरूलाई के थाहा छ भने
यो देशमा पनि सरकार छ,
गाउँघरका वडामा पनि सरकार छ,
बजेट आउँछ, विकास आउँछ
योजना बन्छन खर्च हुन्छ
काम गरेको पैसा पाउनु
मरभुमिमा पानी भेटाउनु हो
पाई हाले पनि
न आङ ढाक्न धरो किन्न पुग्छ,
न एक छाक टार्ने अनाज जोहो गर्न मिल्छ
भन्छन,
घरदेश छोडेर परदेश जानु
सधैं रहर हुँदैन,
त्यो त त्यहाँ पुग्नु हो
जहाँ भोग्न बाँकी केही बाकी रहँदैन,
अनि जहाँ जीवन नै
कष्ट र पीडाको रापले सेकिन्छ ।
को हुन् उनीहरू?
जो नुनकै लागि
पुस्तादेखि पुस्तासम्म पसिना बेचिरहेका छन्,
जहाँ पसिनाको मूल्य भन्दा सधैं
महँगो हुन्छ नुन पनि ।
को हुन् उनीहरू ?
जो कल्पना गर्छन्
मेरो आफ्नै देशमा
खान–लाउन पुग्ने गरी
ढुक्कले काम गर्न पाएको भए,
चैनको निन्द्राले सुत्न पाएको भए
थकान मेटिन्थ्यो प्यास मेटिन्थ्यो
दुख अभाव र कष्टको
अनि
देश नै छोडेर विदेश
किन जान्थ्यौं र ?
को हुन् उनीहरू ?
जसले “ यो देश मेरो हो” भनेर सोच्दा पनि
सधैं श्रमिक नै रहन्छन्,
मजदुर नै बनाइन्छन्।
यो कस्तो विभेदकारी सोच हो
तिमीले देख्यो भने
देश बनाउने भिजन
सुन्दर सपना साकार पार्ने सकल्प,
उनीहरूले देखे भने
श्रमिकका झिनामसिना आशाहरू।
के फरक छ
नागरिकताको कागजमा?
के फरक छ
त्यो कागजमा लेखिने मसीमा ?
के फरक छ
सोच्ने दिमागको संरचनामा ?
के फरक छ देशको सिमानामा
जहाँ तिमी र उनीहरु देश भनेरै बसीरहेका छन
को हुन् उनीहरू ?
पीडा सुनाउँदा निमुखा ठहरिने,
गास छैन भन्यो भने गरिब कहलिने,
बास छैन भन्यो भने सुकुम्बासी बनाइने
न्याय माग्दा भिखारी सम्झने
भन सरकार,
को हुन् उनीहरू ?
बझाङ



