स्वप्निल बिपनाहरु
नीला घिमिरेद्धारा लिखित कथासंग्रह स्वप्निल बिपनाहरुमा १३ थान विभिन्न शिर्षकका कथाहरु समावेश भएका छन् । यसमा समाहित कथाहरुका विषयवस्तुहरु हाम्रै समाजका विभिन्न आयाममा लेखिएका छन् । पारिवारिक सम्बन्ध भित्रका जटिलताहरु,श्रमजिवी किसानका समस्या र पीडायुक्त दैनिकी,एकल महिलाका समस्याग्रस्त जीवनका विभिन्न पलहरु,अपाहिज भएर बाँच्न विवश मान्छेका विषम परिस्थितिभित्रका पीडाहरु,बैदेशिक रोजगार र यसले निम्त्याएको मृत्यूका कारुणिक व्यथा,मिथिला संस्कृति भित्रका कथा,जातीय विभेदको रुग्ण कहानी,नारीमाथि हुने यौन शोषण लगायतका विषयवस्तुलाई घिमिरेले आफ्ना कथाहरुमा उतार्ने प्रयास गरेकी छिन् ।
सरल भाषा कथाको प्राण बनेको छ । कथाहरु मझ्यौला कदका छन् त्यसैले पढ्न झंझट लाग्दैन् । समसामयिक समाजको यथार्थलाई कथानकता बनाइएको हुँदा कथाहरु यथार्थवादी धारमा टेकेका छन् ।
स्वप्निल बिपनाहरुलाई बलेंसी साहित्य समाजले प्रकाशन गरेको हो । यस कृतिको मूल्य रु.२००। रहेको छ ।
तरङ्ग
कपिल किशोर घिमिरेको मुक्तकसंग्रहभित्र २७६ वटा मुक्तकहरु समेटिएको छ । समाजका विकृति र विसंगति विरुद्ध कटाक्ष यो संग्रहको विशेषता देखिन्छ । यति हुँदाहुँदै पनि यसभित्र प्रेम,नाता सम्बन्ध,देशप्रेम,विभिन्न सन्देश लगायतका विषयहरुमा समेत मुक्तकहरु लेखिएका छन् । पहिलो मुक्तकसंग्रह भएर पनि अनुप्रासको उपर्युक्त प्रयोगले मुक्तकहरु जमेका छन् । यसैगरी तुकबन्दीमै लेखिएका मुक्तकहरुका अन्त्यानुप्रास पनि मुक्तकको मानक अनुरुप देखिएका छन् ।
तरङ्ग मुक्तकसंग्रहलाई हामी र हाम्रो कृति समाजले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.३००। रहेको छ ।