
विशेष सम्पादकीय
जाडोबाट गर्मीतिर घर्मराउँदै गरेको मौसम । वसन्त ऋतुले रुखविरुवाहरुमा पालुवा पलाउन थालेको याम । समयले अचेट्दा अचेट्दै लम्किरहेका हाम्रा पाइला । वदलिंदो मौसमसङ्गै बदलिएको राजनीतिक परिवेश । निराशाका लप्काहरुले झिनाझप्टी हाँन्दै गर्दा केहि आशावादी भाव हावी हुन खोजेको बेला । नयाँ वर्षको पहिलो घामको किरणले तपाईँ हाम्रो घरआँगनीमा पदार्पण गरिसकेको छ ।
देशमा बेथिति धेरै छन् । गर्नुपर्ने कुरा गर्न नसकिरहेको अवस्था छ । बेथितिको चरम परकाष्टामा बाँचिरहेको छ – देश । अभाव र पीडासङ्ग पौँठेजोरी खेल्दै छन् – जनता । पौरख गरेर खान खोज्नेहरु छन् – निराश । युवाहरुको लर्को दिनानुदिन बढ्दो छ –परदेश । आशामा तुँवालो व्याप्त छ– निराशाको । जनताको भावनाको हुन सकेको छैन्– कदर । धनी झन धनी र गरिव भासिएका छन् –गरिवीको रसातलमा । भ्रष्टाचारले निलेको छ –जताततै ।
निराश र बिरासिला जीवन जीउँदैछन् –भुइँमान्छेहरु । उदास छन्– पाखा पखेराहरु । सोझा जनताको अबोधतामा होली खेलिरहेका छन् –शासकहरु । गुनासो मनभरी पालेर पोख्ने ठाउँको खोजीमा बसेका छन्–जनता । उदासी मन,उदासी तन र गरिबीले आक्रान्त शरीर बोकेर बाँचिरहेछन्–जनता । यस्तैमा आएको छ सँघारमै नयाँ साल । नयाँ उमङ्ग लिएर, नयाँ समय बोकेर । तर,जनतामा उत्साह छैन् । नयाँ वर्षको जोश,जाँगर छैन् । श्रमजिवीहरुको मन मलिनै छ । मुहार अध्याँरै छ । अभाव र पीडाका अनगिन्ति पहाड चढ्नु तिनको बाध्यता छ ।
यसै बीचमा राजनीतिक परिवर्तनको श्रृँखला देखिएको छ । पुराना नेताहरु विस्थापित भएर नयाँले जनताको विश्वास जितेका छन् । लामैसमय देशको शासनमा ढलिमलि गर्नेहरुलाई जनताले सत्ताच्यूत गरिदिएका छन् । केहि होला कि भन्ने आशमा । केहि गर्छन् कि भन्ने भावमा । परिवर्तनको अनुभूत गर्न पाइएला कि भन्ने अनुमानमा । तर,केहि सुधार होला भनेपनि सुशासनको ढ्ँवाङ फुकेपनि–व्यवहार त्यस्तो देखिएको छैन् । जेमा पनि हात हाल्ने प्रवृत्तिको सुत्रपात भएजस्तो भान भएको छ । ‘जति जोगी आएपनि कानै चिरेका’ भन्ने उक्ति सार्थक नहोस भन्न चाहान्छौं ।
महँगीको मारले जनताको ढाड उठ्नै नसक्ने गरी थिचिएको छ । बेरोजगारी र शिक्षित बेरोजगारी दिन दुईगुना रात चौगुना बढ्दै जाँदा युवापंक्ति विदेश पलायन हुने क्रममा बढोत्तरी भएको छ । सरकार भएको आभास महसुस गराउन चूनौति छ । यो सरकारलाई जेन्जी विद्रोहको जगमा जनताले जिताएको भएपनि त्यतिबेलाका विध्वँशहरुको पुनर्निर्माणको चूनौति पनि छ । हिजो विग्रेका थितिहरु बसाल्नु छ । प्वाल परेको टाल्नु छ । अभावको जाँतोमा पिधिंएर कष्टकर पीडाका घाउ बोकेका जनताको घाउमा मल्हमपट्टी लाउनु छ । चूनौतिको चाङ छ ।
यतिबेला सत्तामा आसिनहरुको चरित्र,व्यवहार पुरातन शैलीमै जाने खतरा देखिएको छ । सुधारका संकेतमा कालो बादल लाग्दा जनताको आशा र भरोसा टुट्न सक्छ । त्यतातिर ध्यान दिनु आवश्यक छ । प्रतिशोधपूर्ण कारवाहीहरुले फेरी उही पुरानै ढर्रामा जान लागेको आभास हुनसक्छ,त्यतातिर ख्याल गर्नु आवश्यक छ ।
हिजोका झण्डै तीन दशकभन्दा बढी शासन गर्दा कामै नभएका भन्ने भाष्य निर्माण पनि राम्रो होइन । तर जति हुनुपर्ने हो,त्यति गर्नसकेनन् । उतिबेलाका शासनसत्तामा बस्नेहरुले उदार मनले काम गरेनन् । विधिको दुरुपयोग गरे । आसेपासेका स्वार्थमा लागे । यसैले उनीहरुप्रति जनता अनुदार भएका हुन् । यो कुरा अहिलेको सत्तासिनहरुले पनि बुझ्नु आवश्यक छ । मुलुकलाई विधि र पद्धतिको टूाकमा हिँडाउन पहिले आफु हिड्नुपर्दछ भन्ने कुरालाई हेक्का राख्नुपर्छ ।
सुशासन र मानव अधिकारको सुगन्ध जनताले सुँघ्न सक्ने बातावरण सिर्जना होस । भ्रष्टाचारमा शुन्यसहनशीलता होस । विकृतरहित प्रशासनले जनताको सेवा सुविधालाई सहज र निर्वाध प्रदाह गर्न सकुन् । जनताले जनता हुनुमा गर्व बोध गर्न सकुन् । यस अर्थमा नयाँ वर्षको शुभकामना छ । सुशासनको न्यानो बर्को सबैले ओढ्न पाउन । सार्वजनिक सेवा र सुविधाका विषयहरु सरकारको प्राथमिकतामा परुन । आधारभूत संवैधानिक मौलिक हकलाई निर्वाध रुपले प्रयोग र उपभोग गर्न सबै नागरिकले सकुन । हाम्रो यहि अर्थमा नयाँ सालको शुभकामना छ ।
जनताको पक्षमा बोल्ने र लेख्ने हाम्रो अधिकारको हामी प्रयोग गरिरहन्छौं । प्रश्नहरु गर्ने ठाउँमा छौं,उत्तर खोजिरहन्छौं । सत्यको पक्षमा निष्पक्ष भएर हामी कलम चलाईरहँन्छौ । गलत प्रवृत्तिको विरुद्ध हाम्रो खबरदारी उत्तिकै रहन्छ । वाक स्वतन्त्रताको पखेँटा हालेर स्वस्थ,निष्पक्ष र ताजा समाचार प्रवाहको निम्ति हामी लागि रहन्छौं ।
नयाँ वर्षले मुलुकमा कायापलट गर्ने तर्फको यात्रामा लाग्न शासकहरुलाई प्रेरित गरोस । बेथितिहरुको अन्त्य गरोस । सबैले सुख र खुशी अनुभूत गर्ने वातावरणको सिर्जना होस । नयाँ बर्ष २०८३ सालको सबैमा मंगलमय शुभकामना ।

