काठमाडौं । गृहसचिव राजकुमार श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।
आइतबार गृहसचिव राजकुमार श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गरेका थिए । सो क्रममा उनले नेपाल प्रहरी प्रधान कार्यालयको परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरेका थिए ।
कार्यक्रममा गृहसचिव श्रेष्ठले कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने अमर प्रहरीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै कर्तव्य पालनका सिलसिलामा घाइते भई जीवन बिताइरहेका सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।
गृहसचिव श्रेष्ठले नेपाल प्रहरीले स्रोतसाधनको सीमितता र चुनौतीहरूको बावजुद अपराधको नियन्त्रण तथा अनुसन्धान, समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम एवम् कानून कार्यान्वयनमा निर्वाह गरेको भूमिकाको चर्चा गरे । नेपाल प्रहरीले अझ व्यावसायिक एवम् नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्दै अझ सक्षम र व्यवस्थित रूपमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
गृहसचिव श्रेष्ठले आसन्न निर्वाचनलाई सफल बनाउनको निम्ति सबैको सत्प्रयास आवश्यक रहेको उल्लेख गर्दै सबै सरोकारवाला निकायहरूबीच उच्च समन्वय तथा सहकार्य गरी योजनाबद्ध ढंगले कार्यसम्पदान गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । प्रहरी संगठनले गरेको अपेक्षा र आवश्यक स्रोत साधनको व्यवस्था साथै अन्य मन्त्रालयसँगको समन्वयको लागि गृह मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्ने उनले बताए ।
सो अवसरमा धन्यवाद ज्ञापन गर्दै महानिरीक्षक दान बहादुर कार्कीले गृहसचिवबाट प्राप्त अत्यन्तै महत्वपूर्ण, समयसापेक्ष र व्यावसायिक निर्देशनलाई संगठनले पूर्णरूपमा कार्यक्षेत्रमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।