
विंं.सं.२०८१ हामीबाट चिप्लेर गयो । छुटेर गयो । विदा मागेर गयो । यससंगै हाम्रो आयु एकवर्ष घटाएर गयो । आम नेपाली जनताका आशा र अपेक्षाहरु उत्तिकै थाँति राखेर गयो । देशका यावत समस्याहरु छोडेर गयो । परिवर्तनको आशावादितामा हामीलाई घँचेडेर गयो ।
मुलुकमा सुशासन होला,विकासले गति लेला,राजनीतिक स्थायित्वले राजनीतिलाई छोला भन्ने आम नेपाली जनताका अपेक्षाहरुलाई तुसारापात गरेर गयो ।भ्रष्टाचारमुक्त राजनीति र प्रशासन,आधारभूत आवश्यकताको सहज परिपूर्ति,बेथितीबाट मुक्त समाज जस्ता आम जनताका आशा एवं अपेक्षामा धुलो छ्यापेर गयो ।
राजनीतिमा स्थायित्वको नारा दिएर ठूला दुईदल नेपाली काँग्रेस र नेकपा(एमाले)को संयुक्त गठबन्धनमा सरकार बन्यो । तर खै के के मा सरकार अलमलमा पर्यो कुन्नि। काँग्रेस सहित सात राजनीतिक दलको समर्थनमा बनेको सरकार पनि खास कामयाबी देखिएन् । हरक्षेत्र चौपट । युवाहरुमा निराशा र विदेश पलायनको संख्या दिन दुगुना रात चौगुना भो । उद्योग व्यावसायीका समस्या उस्तै रहे ।
गत असार १७ मा माओवादी नेतृत्वको सरकार ढालेपछि भनियो- ‘मुलुकका यावत समस्याबाट जनतालाई त्राण दिन् । विकासको नयाँ मार्ग खोज्न यो गठबन्धन गर्नुपरेको हो । यो नयाँ अध्याय हो । अब परिवर्तन हुन्छ ।’ यी कुरा ओली प्रधानमन्त्री हुनेबेला बोलेका थिए । उनले उतिबेला भने भ्रष्टाचार नियन्त्रणमा ‘स्टन्ट नभएर सही इन्टेन्सन’ को मनसायले काम हुनेछ । गति के छ हामी आफैं बुझ्न सक्छौं ।
संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माणलाई प्राथमिकता दिने कुरा पनि एकादेशको कथा भयो ।
यो वर्ष देशमा थरीथरीका आन्दोलनहरु चले । प्रदर्शनी थरीथरीका भए । राजावादीहरुले राजा पुर्नस्थापना गर्ने भन्दै आन्दोलन गरे । यतिमात्र हैन् सत्तापक्ष समेत गणतन्त्रमाथि खतरा देख्दै सडकमा उत्रियो । कुलमान घिसिंगलाई बर्खास्त गरेको भन्दै आन्दोलनमा उत्रिनेको संख्या पनि उल्लेख्य देखियो । उता मिटरव्याजीहरुको आन्दोलनले माइतिघर आसपासमा खुबै चर्चा पायो । यता सहकारी पीडितहरुको आन्दोलन थुप्रै दिन देशभर चल्यो ।कवाड व्यवसायी समेत सडकमा उत्रिएर नारा लाउन थाले ।
चक र डस्टर समात्ने गुरुहरु समेत आन्दोलनमा उत्रिए । उनीहरुले ५ असोज ०८० मा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै विभिन्न प्रकृतिका आन्दोलनका स्वरुपहरु सहित राजधानी तताए । पोस्ट ग्य्राजुएट तहका चिकित्सकहरू पनि आफ्ना माग पुरा गराउन आन्दोलनकै सहरा लिन बाध्य भए।उता कोशी प्रदेशको मुकुम्लुङ क्षेत्रमा केवलकार बनाउने निर्णयविरुद्ध राजधानी सहितका स्थानमा आन्दोलन चले ।
पत्रकारीतापछि राजनीतिमा दल खोलेर होमिएका रवि लामिछानेको चौथो शक्ति बनेर उदाएको रास्वपा । त्यही दलका सभापति लामिछाने सधैं विवादको घेरामै रहे । पहिले नागरिकता विवादमा मुछिएका उनी सहकारी ठगी प्रकरणमा चर्चामा रहे । अदालती प्रकृयाबाट छुट्न नसकेका उनी कारावासमा रहे ।उनको साँसद पदसमेत गत पुषदेखि निलम्बनमा परेको छ ।
यसैगरी मेडिकल व्यवसायी दुर्गा प्रसाई राजालाई गद्दीमा विराजमान गराउने लक्ष्य सहित गरिएको आन्दोलनको कमाण्डर बन्दै गरिएका आन्दोलनमा पत्रकार रजक सहित अन्य दुई व्यक्ति मारिएपछि भागेर भुमिगत भए ।अन्तत:प्रहरी सामु आत्मसमर्पण गरे ।
राजनीतिमा अपराधीकरणको लेवल चढेको पनि यो पाली नेपाली जनताले महसुस गर्न पाए । देशका जननिर्वाचित मेयरदेखि साँसद,मन्त्रि,डीआइजीसमेत पक्राउ परे ।भुटानी शरणार्थीदेखि ललिता निवास काण्डहरुले चर्चा पायो । यतिमात्र कहाँ हो र बाँसबारी, बालमन्दिर ,गिरीबन्धु, पतञ्जलीको जग्गा काण्डहरुको पनि चर्चासम्म भयो ।
स्वास्थ्य क्षेत्रका समस्या ज्युँका त्यूँ रहे ।
गत वर्ष प्रकृतिले पनि हामीलाई दुःख दियो । दैवीविपत्तिको मारमा पनि जनता परे । गत असोजमहिनाको अविरल वर्षा पछि आएको बाढी पहिरोमा सैयौंले ज्यान गुमाए । हजारौंको उठिबास नै लाग्यो । जनधनको अपुरणिय क्षति सहनु पर्यो । भौतिक संरचनाको ठूलो क्षति बेहोर्न बाध्य हुनुपर्यो ।यी यावत कारणहरुले वि.सं.२०८१ कुनैपनि मानेमा सुखद देखिएन् ।
राजनीतिक खिचातानी र अस्वस्थताले मुलुकलाई गाँजेको विगतबाटसिकौं। आशा र अपेक्षा गरौं । नयाँ सालको थालनीदेखि नै सकारात्मक संकेत आउँनेछन् । हर समस्याहरुले क्रमशः मुलुकमा त्राण पाउनेछ । सबैले सकारात्मक सोच र भाव राखौं । सबैको जय होस,सबैको भलो होस । नयाँ वर्ष वि.सं.२०८२ को हार्दिक मंगलमय शुभकामना ।




