
स्तूप र थुवेको निर्माणमा धेरै जनश्रम र समय लाग्ने कुरा निर्विवाद छ । अतः कालान्तरमा स्तूप बनाउन इच्छुक तर बनाउने क्षमता नभएका श्रद्धालुहरूले विस्तारै गजूर र गर्भगृहमात्र भएका प्रस्तर चैत्यहरू बनाउन थाले होला । यस्ता पंचबुद्ध नभएको अर्धगोलाकार चैत्यहरू नेपालमा विशेष गरेर नमोबुद्ध, चारुमति विहार, छुस्याबहाल (चि.नं. १३) र ठमेल भगवान् (चि.नं. १२) बाहिर पाइन्छन् । नमोबुद्धमा पाइने यस्तो चैत्यमा चून लिपि राखेको हुनाले ती चैत्यका प्रस्तरहरू लोहलेप, ताम्रलेप लगाएको चैत्य जस्तै चिप्ला छन् कि छैनन् थाहा हुदैन, तर ठमेल र चारूमति वहाल बाहिर पाइने चैत्यहरू लिच्छवि कालीन चैत्य जस्तै चिप्ला र सुन्दर देखिन्छन् । हाम्रो नेपालमा मात्र होइन निर्वाण चैत्य भनिने कशिआ कुशिनाराको गजूर नभएको तर तीन तह छत्र युक्त चैत्य पनि ठीक यस्तै आकारको देखिन्छ । फेरि इ.पू. तेस्रो शताब्दीको स्तूप भनी नाम कहलिएको शांचिको मुख्य स्तूप (चित्र नं. ३) पनि हुबहू यस्तै देखिन्छ । यसमा तीन तह छत्र छन् अनि त्यस पछि जालि जस्तो धर्को धर्को बनाइएको हर्मिका र त्यस मुनि ईंटैईंटा जोडी बनाएको बिशाल गर्भगृहयुक्त स्तूप देखिन्छ । भनिन्छ, यसमा पहिले ढुंगाको पेटी र बार लगाइएका थिएन र पछि मात्र यसमा बार र पेटी लगाइएको हो ।


यसरी चैत्यको सन्दर्भमा विचार गर्दा स्वयम्भू, थंवहील, नमोबुद्ध, ध्वाकावहाल, टेबहाल र चारुमति विहार एकताका श्रद्धालु बौद्धहरूको प्रमुख क्षेत्र मध्येका होला भन्ने विचार उठ्नु नैसर्गिक नै देखिन्छ । अद्यापि उक्त ठमेल विहारमा सुन चाँदिले लेखिएका शतसह्रसिका प्रज्ञापारमिताको प्रदर्शन र पाठ गर्ने प्रचलन श्रावण महिनामा गरिदै आएको छ । सो प्रज्ञापारमिताको प्रदर्शन पनि भव्यताका साथ फागुपूर्णीको भोलिपल्ट बाजा गाजा सहित चकंद्यः अर्थात् सिंहसार्थ बाहुको प्रत्यक्ष सहभागितामा सिंहसार्थवाहुको रातो मूर्ति अघि अघि लगाई पंचविशतीका प्रज्ञापारमिताको जात्रा गरी ठूलो घण्टा बजाउँदै बसन्तपुर को तरुमुल विहारसम्म शहर परिक्रमा गराउने प्रचलन छ । अनि सुरत श्री महाविहारको अगाडि पुगेपछि लहरै नौ वटा पद्म पुष्पको मण्डल लेखी सुरत श्री महाविहारका वज्राचार्यले पाठ पूजा गरी सकेपछि त्यस मण्डलमाथि सिंहसार्थबाहुको नृत्य पनि प्रस्तुत गर्ने प्रचलन छ । अर्थात् यस प्रचलनले सुरत श्री महाविहार र बसन्तपुरको तरुमूलविहार र थंवही विक्रमशील महाविहार बीचको सम्बन्ध राम्रो रहेछ भन्ने कुरो अवगत हुन्छ ।
त्यस्तै शंखपुर (शांखु) को गुंविहारबाट काठमाडौं आएका वज्राचार्यहरूले गुविहार अन्तर्गत अवस्थित आफ्नो गुणाकर महाविहारको सम्झनामा यहाँ। काठमाडौंमा पनि गुणाकर, हेनाकर महाविहार स्थापना गरी चलन चल्तीको नाम ध्वाकावहा, छुस्यावहा भनी नामकरण गरेर यहाँ गुणाकर महाविहार (छुस्या वही) मा पनि अष्टसहस्रिका प्रज्ञा पारमिता लेखाइ श्रावण महिनामा पाठ गर्ने गराउने गुठी संचालन गरेको देखिन्छ । राजा प्रतापमल्लका पालामा यस विहारमा अरू विहारसँग सुमधुर सम्बन्ध स्थापना गर्ने हेतुले मैत्रीपुर महाविहार (क्वावहाल ठंहिटी), श्रीखण्ड तरुमुल विहार वसन्तपुर, हेमवर्ण महाविहार (गंवहाल) नघल, मंखवहाल र टेवहालका थायपाहरूद्वारा पाठ गराउनका लागि आयष्टा राखी गुठी संचालन समेत गरेका थिए । अनि यही प्रज्ञापारमिता प्रतिको आफ्नो महनीय श्रद्धा एवं भक्तिलाई प्रदर्शन गर्न सो गुणाकर महाविहार को मूल ढोकाको तोरणमा श्री प्रज्ञापारमिताको अद्वितीय कलाकृतिपूर्ण प्रतिमा कुंदिएका तोरण पनि राखेका छन् । बौद्ध कलाको इतिहासमा ढोका एवं द्वार भित्र जुन इष्ट देव तथा इष्ट देवी प्रतिष्ठा गरेको छ सो इष्ट देवदेवीको संकेत गर्ने चिन्ह वा मूर्ति सो तोरणमा कुंदी उक्त द्वारभित्र मुख्य कुरा के छ भन्ने संकेत गर्ने प्रचलन छ । यो साह्रै विचारणीय र मौलिक नेपाली बौद्ध संस्कृतिका द्यौतक गम्भीर पक्ष हो ।
वस्तुत: गर्भ गृह (विम्ब) गजूर मात्र भएको चैत्यलाई स्तूप, थूरो एवं थूवेको विकशितरुप मान्नु बुद्धिमानी मात्र होइन, वाध्यता पनि हुन आउँछ । यहाँको मात्र होइन, उपर्युक्त भारतका विभिन्न ठाउँमा पाइएका स्तूपहरूले पनि यही कुरा पुष्टि गर्छ । अर्धगोलाकार गर्भगृह, गजूर अर्थात् त्रयोदश भुवन मात्र भएका चैत्यहरू जुन स्वयम्भू, चावहील, भगवान् वहाल थंवहील र नमोबुद्ध र छुस्याबहालमा भेटिएका छन् त्यस्तो अन्त पाइएका छैनन् । नमो बुद्ध चैत्यको वगलमा (चि.नं. १४) लहरै प्रतिष्ठित तीन वटा चैत्य मध्ये बीचको र अन्तिम चैत्यको आकार क्रियासमुच्चयमा मिल्न आउँछ । अनि ती चैत्यका गजूर पनि विचित्रको देखिन्छ । अर्थात् त्यो चैत्यको गजूर एउटा कुम्भ (घडा) माथि अर्को साना कुम्भको विक राखे जस्तो, खप्ट्याएको जस्तो देखिन्छ । गजूरको आकृतिसंग मिल्दैन । गजूर को संदर्भमा चर्चा गर्दा चावहिलको मूर्ति नभएको चैत्यको गजूरलाई पनि विचार गर्नु सान्दर्भिक हुन आउँछ । सम्राट् अशोकका पुत्री चारुमतिले आफ्ना बुबा (सम्राट् अशोक) लाई साथ दिदै बुद्धधर्मको प्रचारका साथ साथै चौराशि हजार चैत्य स्थापना गर्ने क्रममा चावहिलमा चैत्य स्थापना गर्दा पंचध्यानी बुद्धहरूको आविष्कार त अवश्यै भएको थिएन होला तर पनि चर्तुध्यानी बुद्धलाई संकेत गर्ने चक्र, वज्र, रत्न, पद्म, विश्ववज्र चाही क्रमश गजूरको चारै दिशामा तोरण जस्तो हलिपट (हलं पौ) भनिने त्रयोदश भुवन शुरु हुनु भन्दा अगाडिको ठाउँमा यथावत् नै राखिएको देखिन्छ । यसरी त्रयोदश भुवन (चक्रावली) अंकित गजूर पनि हुनुबाट के ठहर्छ भने त्यसबेला महायानको सिद्धान्त मात्र होइन, वज्रयान सिद्धान्तको पनि विकाश भैसकेको तर प्रकटरुपमा ध्यानीबुद्धहरू मात्र नराखिएको मान्न सकिन्छ । तसर्थ यस किसिमका चैत्यहरू शायद अशोक कालिन होइन कि भन्ने निर्व्योलमा पुग्नु पर्ने बाध्यता हामीलाई महशुस हुन्छ । किनकी, शांखुको गुंविहारमा पनि यस्तै गर्भगृहमात्र भएको लिच्छविकालीन चैत्य मानिने चैत्यमा पनि त्रयोदश भूमियुक्त गजुरको सत्ता गोलाकार स-सानो ढुंगामात्र राखिएका छन् ।
यस्तै कुम्भ आकारको चैत्यको भग्नावशेष पनि चावहीलको परिसरमा उपलब्ध छ । यस चैत्यको कुम्भाकार गर्भगृह कलात्मक द्वारै द्वार युक्त भएको घेरामाथि स्थापित छ । यसमा गजूर हराएको टुटिसकेको जस्तो देखिन्छ । जहाँसम्म लाग्छ पछि मात्र त्यो गर्भगृहलाई अर्को चैत्यको द्वारैद्वारयुक्त वेदी वा घेरामाथि राखेको जस्तो भान हुन्छ । चावहील सम्राट् अशोकका छोरी चारुमतिकै देनले प्रमुख क्षेत्रमध्ये एक हुन सफल भएको ठाउँ हो । चारुमति नामले प्रसिद्ध उक्त विहारको अगाडि अवस्थित धनद्यः चैत्यलाई यद्यपि जीर्णोद्धार गरी अर्कै प्रारुप श्रद्धालु भक्तहरूले दिइसकेका छन् तर पनि धेरै अन्वेषण र उत्खनन गर्नु पर्ने कुराहरू अझ प्रशस्त छन् । चारुमति विहारकै मुख्यद्वारको ठीक अगाडि पत्तिको चौरमा पनि यस्तै मूर्ति नभएको स्तूपाकार चैत्य छ जसमा राखिएको
गजूर अनौठो मात्र होइन अद्वितीय देखिन्छ भने त्यसको अर्धगोलाकार गर्भगृह निखर कालो लोहलेपले चिप्लो र तलक्क तल्किने पारिएको छ । यसको गजूर ठीक यष्टीबाट सुरु हुन्छ । तर अरु चैत्यमा झै यसमा हर्मिका, तोरण र हलीपट (हलंपौ) राखिएको छैन । भुवन अर्थात् चक्रावली पनि अरुमा जस्तो तेह तह छैन चार तल्ला मात्र छन् । यो चैत्य पनि अनौठो तरिकाले अलि खस्रो ढुंगाको चारै दिशामा द्वारयुक्त पीठमा अड्याइएको छ । माथिको भाग मात्र लोहलेपयुक्त भएको नाताले यो पनि अर्कै चैत्यको भग्नावशेष माथि अड्याइएको त होइन भन्ने शंका उत्पन्न हुनु स्वाभाविक छ । अर्को फेरि महत्वपूर्ण कुरा के छ भने यो चैत्यमा चार भुवन (चार चक्रावली) मात्र हुनु हो ।
ठमेल भगवान् वहालको बाहिरी चोकमा पनि बुद्ध मूर्ति नभएको लोहलेपले चिप्लो पारिएको गजूर हराएको गर्भगृह र पद्मपाणीको सुन्दर मूर्ति चारैतिर उभिरहेको हेनाकर महाविहारको जस्तो स्तम्भ चैत्य (व्यूह चैत्य) पाइन्छ । त्यस्तै ठमेल भगवान् बहालकै कुमारी चोकमा पनि अशोक चैत्य भनिने लोहलेप प्रयोग नगरेको तथा मूर्ति नभएको द्वारै द्वार भएको खस्रो ढुंगाको चैत्य पाइन्छ ।
फेरि ठमेल भगवान् बहालबाट केही दुरीमा अमृत साइन्स कलेजको ठीक पछाडिको ढुंगेधारामा (चि.नं. १५) पनि यस्तै द्वारैद्वारको गोल घेरामाथि गजूर हराएको मूर्ति भएको चिप्लो गर्भगृह भएको चैत्य पाइन्छ । यही चैत्यको अगाडि भूँइमा ढुंगाको गोलगोल १२ वटा मण्डलहरू पनि कुँडिएका छन् भने संगैको अर्को चैत्यमा गर्भगृहको चारैतिर ठूलठूला बुद्धमूर्तिहरू चारैतिर सजाइएको गजूर नभएको चैत्य छ भने गोल आकारको घेरा रहेको द्वार वा प्रतिमागृहको बीच बीचमा कमलमाथि ससानो चैत्य आकार पनि चावहिलको चैत्यमा जस्तै कुदेको छ । भनिन्छ यो धारा र चैत्यहरू सिंह सार्थवाहुका बहिनीले निर्माण गरिएका हुन् ।








