मुक्तकहरु
ज्ञानु दाहाल
१.
बोल्नै नहुने कस्तो के भाछ अचेल
बोल्यो भने किन पोल्न लाछ अचेल
चुपै बस्न पनि सकिँदो रहेनछ
हुँदै नभएको दोष पाछ अचेल।
२.
अव्यक्त प्रेमले मान्छे मार्दो रहेछ
एकको रिस अर्कोमा सार्दो रहेछ
पूरा नहुने भएपछि आफ्नो चाहना
सङ्गै अरु नि खाल्डामा पार्दो रहेछ।
३.
टेकेको विश्वासको पाइला फर्किनुहुन्न
गल्ती नगरी धम्क्याइले नि तर्किनुहुन्न
कामको सिलसिलामा तितामिठा बात होलान्
त्यति मै अस्तित्व मेटिदिन्छु चर्किनुहुन्न।
४.
ऋण तिर्नु पर्दैन भोज तयार छ
रक्सी मासु जमात मोज तयार छ
अपशब्द डाँको उसैको चर्को बाबै
तिर्नु है भन्दा गाली रोज तयार छ।
५.
नियम बनाउँछ कार्यान्वयन गर्दैन सरकार
पीडितको आङमा कहिल्यै घाम पर्दैन सरकार
निमुखा चाहिँ घोक्रेठ्याक वरिष्ठलाई छुन नमिल्ने
अब त यस्तो राजनीतिले टर्दैन सरकार।
बनेपा