अन्य बालीमा जस्तै धानबालीमा पनि विभिन्न रोगहरु लाग्न सक्छन् । यी रोग भाइरल,ब्याक्टेरिया,ढुसी(फँगस) जुका आदिले धानबालीमा आक्रमण गर्न सक्छ । यसैगरी विषाणुजन्य विभिन्न प्रकारका रोगहरु पुड्के,राइस ड्वार्फ,खिइने राइस टुँग्रो, डढुवा रोग(ब्याक्टेरियल ब्लाइट, धर्के र खैरो पातेफेद कुहिने रोग,ढुसीजनक रोगमा मरुवा, खैरोथोेप्ले,पातेफेद डढुवा,डाँठ कुहिने, सानो खैरो थोप्ले, पातेफेद डढुवा, धर्के,बेर्ना डढुवा,दाना डढुवा,दागी दाना,जुकाजनक रोगमा सेतो टुप्पो,जरामा गाँठा लाग्ने जस्ता रोगहरु पर्दछन् । यसको अलावा वाताबरण प्रतिकुल हुन गै लाग्ने रोग,खाद्यतत्वको कमी हुनाले लाग्ने रोगमा चिसोले खाने,जिँग तत्वको कमिले हुने खैरा रोग आदि धानबालीमा लाग्ने प्रमुख रोगहरु हुन् ।
यस्ता रोगहरुको प्रकोप र त्यसले हुने हानी नोक्सानी ठाउँ अनुसार फरक हुन्छ । सामान्यतया खैरो थोप्ले,सानो खैरो थोप्ले,कालोपोके र दागी दाना जस्ता रोगहरु जताततै हुन्छ । यस्ता रोगले अलिक कम नोक्सानी पार्ने हुन्छ । सेतो टुप्पो,पुड्के,खिइने,दाना डढुवा आदि रोग छिटै लागि हाल्दैन् तर लागेपछि यसले प्रकोपको रुप लिन्छ र बढी क्षति पार्छ । बर्षेनी लाग्नसक्ने रोग चाही मरुवा,डढुवा,फेद कुहिने,पातेफेद डढुवा,पात फेद कुहिने जस्ता रोगहरु पर्छन् । पातेफेद डढुवा र पातेफेद कुहिने रोग पहाड र तपाई सबै क्षेत्रमा हुन्छ भने मरुवाको प्रकोप तराई र भित्री तराईमा र डढुवा पहाडी क्षेत्रमा पनि पाइन्छ । खैरे पातेफेद कुहिने रोग विशेषतः उच्च पहाडी भूभागमा लाग्छ ।
रोग लाग्ने जातको बाली,रोगको अनूकुल वातावरण र सशक्त जीवाणुको उपस्थितिले रोग लाग्ने हो । उदाहरणको लागी ताइचिन धान र मंसुली धानमा मरुवा बढी हुन्छ । यसमा यूरिया मलको बढी प्रयोग र फोस्फोरस र पोटासयुक्त मल प्रयोग नगर्दा यस्ता रोगले आक्रमण गर्दछन् ।
रोग कसरी नियन्त्रण गर्ने ?
मरुवा : यस रोगको जीवाणु पाइरिकुलारिया ओराइजा
यस रोगको लक्षणमा पातका दुवै छेउ चुच्चिएका अण्डाकार,खैराथोप्लाहरु निस्कन्छन् । थोप्लाको बीचमा सेतो विन्दु हुन्छ । प्रकोप बढी हुँदै जाँदा पात डढ्छ । यो रोग आँख्लामा पनि लाग्छ । यसैगरी बालाको घाटीमा पनि लाग्छ । यस्तो रोगमा नियन्त्रण गर्न सकेसम्म रोग प्रतिरोधात्मक क्षमता भएका धानका जातहरु लगाउन पर्दछ । मरुवा रोग प्रतिरोधात्मक क्षमता भएका वा रोगै लागेपनि कम लाग्ने पहाडी भूभागको लागि खुमल ४,खुमल ८,खुमल १०,खुमल ११,चन्दननाथ १,चन्दननाथ २,लेकाली धान २,लेकाली धान ३ पर्दछन् । यसैगरी भित्री मधेश र मधेशको निम्ति परवानीपूर १,लक्ष्मी,दुर्गा,जानकी ,चैते२,खजुरा २,रामपुर मसुली,राधा४,राधा ११,हर्दिनाथ १,शाम्बा मन्सुली सब १,स्वर्णा सब १,सुख्खा १,सुख्खा २,सुख्खा ३,सुख्खा ४,सुख्खा ५ आदि जातका धानहरु लगाउँदा उपयुक्त हुन्छ ।
धानमा युरीया मल मात्र बढी प्रयोग गर्नुहुँदैन् । फोस्फोरस र पोटास प्राविधिकको सल्लाहमा प्रयोग गर्नुपर्दछ । बीउको उपचार गरेर मात्र ब्याड राख्नु राम्रो हुन्छ । बेर्ना गाँजिरहेको बेला रोग लागेमा कासु बी २ मिलिलिटर वा बीम १ ग्राम वा हेक्कजाकोनाजोल २ मिलिलिटर प्रति लिटर पानी मिसाएर बेर्नामा छर्नु उपयुक्त हुन्छ । धानको बाला निस्कने बेलामा एक पटक र बाला निस्केपछि एकपटक नेक व्लाष्टको लागि पनि माथि उल्लेखित विषादी सोही मात्रामा छरे राम्रो हुन्छ । क्रमशः……………..