काठमाडौं । ०४३ सालदेखि सुरु भएको नेपालको महिला भलिबलमा भारतलाई पहिलो पटक हराएर इतिहास रचेको छ ।
काभा वुमन्स नेसन्स लिग २०२४ अन्तर्गत नेपालले शनिबार दशरथ रंगशालामा भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित हात पारेको छ ।
नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हराउँदै इतिहास रचेको हो । नेपाली महिला भलिबल टोलीले पछिल्लो केही वर्षयता अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
भारतसँगको जितले नेपालको भलिबललाई अर्को उचाइमा पुग्ने मुख्य प्रशिक्षक जगदिश भट्ट बताउँछन् ।
‘जितपछि मेरो मनमा केही थिएन । केही सोच्न सकिएन । भारतसँग खेल्दैछौं है भन्ने डरबाट सुरुवात गरेको खेल आज जित्दा छुट्टै खालको इमोसन हुन्छ’ । जितपछि कप्तान अरुणा शाहीले भनिन् ।