बनेपा,काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ बर्षदेखि वैशाख पूर्णिमाको अवसरमा मनाइँदै आइएको ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न भएको छ ।
बर्सेनि वैशाख शुक्ल पूर्णिमाका अवसरमा तीन दिनसम्म मनाइने बनेपाको उक्त जात्रा आइतबार साँझ सकिएको हो । करिब दुई हजार ५०० वर्षअघिदेखि मनाइँदै आइएको चण्डेश्वरी जात्रामा चण्डेश्वरी देवीलाई रथ ९खट०मा राखी शनिबार ऐतिहासिक सहर बनेपाको पुरानो बजारमा रथारोहण गराई आइतबार साँझ मन्दिरमै लगिएपछि जात्रा सम्पन्न भएको हो ।
‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने गरेको तथा ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् । सरकारको तर्फबाट समेत पूजा गर्ने भएकाले पनि यसको महत्वले अझ व्यापकता पाएकामा बनेपाली गर्व गर्ने गरेका छन् ।
चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वकासाथ लिइने गरिएको हो । जात्रा अवधिभर बनेपा नगरमा सार्वजनिक बिदा दिइएको थियो ।