नेपालले हालसम्म खेलकुदको विश्वकपमा सहभागिता जनाएको भनेकै टि ट्वान्टी विश्वकप क्रिकेट हो । केहीदिनपछि शुरु हुने टि ट्वान्टी विश्वकपको नवौं संस्करणमा नेपाल पनि प्रतिष्पर्धामा उत्रेको छ । सन् २०१४ मा पारश खड्काको कप्तानीमा सहभागिता जनाएको नेपालले रनरेटको आधारमा दोश्रो चरणमा पुग्न नसकेको थियो । यहि सँगै नेपालको विश्वकप यात्रा टुङ्गिएको भएपनि विश्वमा त्यहि बेलादेखि नेपालको क्रिकेट चर्चा चुलिएको हो । एकदशक पछि लयमा फर्केको नेपालले नवौं संस्करणको खेल सबैभन्दा कान्छा क्याप्टेन रोहित पौडेलको कप्तानीमा सहभागिता जनाउँदैछ ।
उनी सहित आसिफ सेफ,अनिल कुमार शाह,कुशल भुर्तेल,कुशल मल्ल, ललित राजबंशी,दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण के.सी.,गुलसन झा, प्रतिस जोशी, सन्दिप जोहोरा,अविनाश वोहोरा, सागर ढकाल र कमलसिंह ऐरीले प्रतिष्पर्धा गर्दैछन् । चर्चित क्रिकेटर सन्दिप लामिछानेले हालसम्म पनि भिसा प्राप्त गर्न नसकेकाले उनको विश्वकपको यात्रा अनिश्चित नै देखिएको छ । २० देशको सहभागितामा सम्पन्न हुने टी ट्वान्टी विश्वकपमा क्षेत्रिय प्रतिष्पर्धावाट छनोटमा पुगेको नेपाल ग्रुप डि मा परेको छ ।
नेपालसँगै दक्षिण अफ्रिका,श्रीलंका,बंगलादेश,नेदरल्याण्ड रहेका छन् । नेपालले नबौं संस्करणको पहिलो खेल आगामी जुन ४मा निदरल्याण्डसँग प्रतिष्पर्धा गर्नेछ । पहिलो चरणमै बलिया टीमसँग भिडन्त गर्नुपर्ने चूनौतीसंगै नेपाललाई यो एउटा क्रिकेटमा महत्वपूर्ण अबसर पनि हो । आशा गरौं, विश्वलाई सरप्राइज दिन नेपाल सफल हुनेछ ।