काठमाडौं ।शुक्रबार काठमाडौंमा एमालेले आयोजना गरेको जागरण सभामा बोल्दै प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सरकार पुरै आयु चल्ने बताए ।
कतिपयले माघ–फागुनसम्म मात्रै यो सरकार जाने हल्ला चलाएको बताउँदै २०८४ को चुनावसम्मै गठबन्धन कायम रहने बताएका हुन्।
‘सरकार बन्दै बन्दैन। बन्यो। विश्वासको मत पाउँदै पाउँदैन। पायो। यो महिना कट्दै कट्दैन। कट्यो। दसैं देख्दै देख्दैन। दसैं देख्यो होइन मनायो पनि। त्यतिमात्र होइन तिहार कट्दैकट्दैन। त्यो पनि देख्यो। कात्तिक कट्दैन। त्यो पनि कट्यो। मंसिर टेक्दैन, त्यो पनि कट्यो। उनले भने । सबैले बुझे हुन्छ। कान खोलेर सुने हुन्छ–म अब २०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु। म प्रधानमन्त्री छोडेर शेरबहादुरजीलाई जिम्मा लगाउँछु। उहाँले फेरि १८ महिना चलाउनुहुन्छ।’
प्रधानमन्त्री ओलीले मुलुक र लोकतन्त्रलाई अप्ठ्यारोमा पार्न नदिन र समाजमा अराजकता मच्चाउने काम हुन नदिन कांग्रेससँग सहकार्य गरेर अघि बढ्नुपरेको पनि स्पष्ट पारे।गर्दै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्ष्य गर्दै सहकारी ठगी गर्नेहरू अरूलाई गाली गर्दै हिँडेको बताएका हुन्।
‘उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन्। आफै सहकारी ठगी गर्ने, अरूलाई मुख छाड्ने ?अरूलाई गाली गर्ने ?’ओलीले भने।
उनले अहिलेको सरकारलाई कुनैपनि प्रकार भ्रष्टाचार सह्य नहुने बताए। ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न /’उनले दृढता व्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डताको रक्षा गर्दै छिमेक सम्बन्ध सुदृढ बनाउने बताएका छन् ।
‘पारस्परिक लाभका आधारमा सम्बन्ध र व्यवहार राख्छौं। कसैप्रति वैरभाव छैन, छैन हाम्रो शत्रु, सबै छन् मित्रु, सबै मित्रको ढंगले हामी व्यवहार गर्न चाहन्छौं,’ उनले भने। प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमणमा जान लागेको भन्दै भ्रमण अत्यन्तै सफल हुने बताए ।
कम्बोडियामा आफ्नो लगानी रहेको भन्ने सामाजिक सञ्जालमा फिँजाइएको भ्रम चिर्दै कम्बोडियाको टेलिकममा क–कसको लगानी छ भन्ने सहजै थाहा पाउन सकिने बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा उनले भ्रम फैलाएर जनतामा घृणा फैलाउने दुश्चेष्टा भएको बताए ।
‘कम्बोडिया भन्ने देश त्यहीँ छ, चारघण्टाभित्र फ्लाइटमा पुगिन्छ । त्यहाँको लगानीमा क–कसको लगानी भन्ने थाहा पाउन नसकिने अनौठो कुरा हो र ? थाहा पाउन सकिने कुरा हो । यस्ता कुरालाई भ्रमपूर्ण फैलाएर जनतामा घृणा फैलाउने दुश्चेष्टा भइरहेका छन्।’