
तु्इन जिन्दगी
डा. रेणुका सोलुको १८ वटा संस्मरणात्मक निबन्धहरुले भरिएको छ ‘तुइन जिन्दगी ‘।
यसमा समावेश निबन्धहरु तथ्यपरक लाग्छन् । यथार्थको सन्निकट देखिन्छन् । आफु बाँचेको समय र परिवेशलाई विभिन्न कोणबाट नियालेर निबन्धमा कुशलतापूर्वक प्रस्तुत गर्ने खुवी देखिएको छ । निबन्धहरुले समयका विभिन्न क्षणमा महिलाले देखेभोगेका कुराहरु उजागर गरेका छन् । छोरा र छोरी विचको हाम्रो समाजले हेर्ने विभेदपूर्ण दृष्टिलाई सुस्पष्ट राखेकी सोलुले महिलाहरुमा विभिन्न समयमा आउने उतारचढाव ति चाहे जैविक हुन् वा सामाजिक व्यवहार,नयाँ पुस्तामा आएका परिवर्तन,नारीमाथि हुने विभिन्न विभेद,लगायतका विषयहरुले निबन्धमा स्थान बनाएका छन् ।
निबन्धहरु कल्पनाको उडानभन्दा पर यथार्थवादी दृष्टिचेतबाट लेखिएका छन् । समयको घाउहरु यसमा देखिएका छन् । एक नारी स्रष्टाले नारीहरुको आवाजलाई अभिव्यक्त गरेकी छन् ।
शब्दहरु असाध्यै सरल छन् । भाषाशैली मिठासयुक्त छन् । निबन्धहरु पढ्दा लाग्छ निबन्धहरु सामाजिक,राजनीतिक र आर्थिक दुर्गमताबीच गाँजिएका कुराहरु छन् । भन्न सकिन्छ आम नेपाली महिलाहरुको कथा व्यथालाई डा.रेणुले निबन्धहरु मार्फत बाहिर ल्याएकी छिन् ।
तुइन जिन्दगीलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।
निर्धरा
नारायण निरासीद्धारा लिखित निर्धरा हाम्रै समाजको कथा हो ।
नेपाली समाजमा किनाराकृत पात्रहरुको जीवनलाई उपन्यासले मूख्य विषयवस्तु बनाएको छ । हाम्रा समाजका त्यस्ता पात्रहरु जसको दुरावस्थाको भग्न कहानीलाई कथानकता बनाइ लेखिएको छ । जतिबेला देशमा शसस्त्र द्धन्द थियो त्यतिवेलाको समयावधीको सजिव चित्रण गरेर लेखिएको यो उपन्यास द्धन्दको चपेटामा परेको समाजको ह्रदयविदारक,चरम दर्दनाक कथा हो । एक समाजमा किनाराकृत परेकी एकल महिला धनमायाको समग्र भोगाइको पीडादायी कथाव्यथालाई उपन्यासको मुख्य विषयवस्तु बनाएर निर्धरा लेखिएको छ।
मर्माहत बनाउँछ । मनै हल्लाउँछ । दुर्दान्त जीवनको साछी बनाउँछ पाठकलाई । यस्ता कैयन धनमायाहरु यस समाजमा जहिँतहिँ भेटिन्छन् ,जो समाज,भाग्य,सबै हिसावले किनाराकृत पारिएकी छे । मनै भक्कानिन्छ ।
सरल भाषाशैली,पढेपछि छोड्न मन नलाग्ने कथाको विषयवस्तु र त्यसलाई सलल बगेको लेखनबाट पाठकको मन खिँच्न सक्ने कृति देखिन्छ निर्धरा । शब्दहरुको खिपाइ सुन्दर लाग्छ । पाठकको ह्रदय जित्ने कथाबस्तु छ ।
निर्धरालाई माया पब्लिकेशनले बजारमा ल्याएको हो ।
डोहोडोहो डोल्पो
रञ्जु दाहालको यात्रानिबन्ध कृति डोहोडोहो डोल्पो भौगोलिक रुपमा सबैभन्दा ठूलो जिल्ला डोल्पाको यात्रापछि लेखिएको हो । विभिन्न १० थान निबन्धहरु समावेश भएको यो कृतिमा डोल्पा र त्यसको आसपासको सुन्दर प्राकृतिक छटाको बारेमा जानकारी दिएकी दाहालले त्यहाँको भौगोलिक विकटता,दुखदायी जनजीवन र त्यहाँको विषम एवं जटिल परिवेशहरुलाई उजागर गरेकी छिन् ।
कृतिलाई त्यहाँको अभाव र विकटतासँगमात्र नभएर प्राकृतिक सौन्दर्यको खानी,आर्थिक रुपले प्रचुर सम्भावना बोकेको क्षेत्र,पर्यटकीय सम्भावनको क्षेत्रको ्रुपमा समेत उनले चर्चा गरेकी छिन् । समग्रतामा भन्नुपर्दा डोल्पालाई यस कृतिले मज्जैले संबोधन गरेको छ ।
भाषाको मीठासपूर्ण प्रयोग,सरल शब्दाबलीले पठनीय बनेको छ यो निबन्धकृति।
डोहोडोहो डोल्पोलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।








