डा. श्यामसुन्दर राजवंशी
सामग्री जुटाइए बिना कुनै काम प्रारम्भ हुँदैन भने झैं बहस गर्दा उठाइएका सवालको जवाफमा प्रमाण अगाडि नल्याइकन बहसको कुरा अघि बढ्न सकिंदैन भन्ने कुरा सर्बविदित मान्यता नै हो । त्यही भएर कुन कुरा सही थियो कुन कुरा गलत थियो भन्ने कुरा पनि कुनै प्रतिष्ठित मानिएका फलाना धिस्काना विद्वानले भनेको भनेर आँखा चिम्लेर पत्याएर बस्ने जमाना अहिलेको होइन तसर्थ कुनै पनि बुद्धिजीविले त्यसरी पत्याएर बस्नु बुद्धिमानी भनिंदैन।
कुरा कै सिलसिलामा केही दिन अघि एउटा कार्यक्रममा पुगेको थिएँ । त्यहाँ केही नयाँ व्यक्तिहरुसित चिनापर्ची पनि भयो र कुरा कानीमा सिन्धुपाल्चोकको महादेवटारमा नयाँ लिच्छवि अभिलेख छपाइएको बारेमा कुरा भयो र त्यही अभिलेख एकजनाले अमेरिकामा बसोबास गर्दै आएका नेपाली लेखक विद्वानलाई पढ्नलगाएको रहेछ भने एक जनाले म श्यामसुन्दरलाई पढ्न लगाएको हो । दुबैजनाले आआफनो ज्ञान सीप प्रयोग गरेर अर्थ लगाउने काम भयो । प्राप्त भएको त्यस अभिलेखमा संवत् ४४२ पौष उल्लेख भएको हुनाले त्यसलाई अमेरिकामा बस्नेले वि.सं ५७७ पौषको भनेर लेख्न पुगे भने मैले पढ्दा वि.सं ५७५ पौष ठहराएको हो । त्यहाँ भएका उपस्थित ती व्यक्तिहरुले २ वर्षको अन्तर रहेछ , खासै फरक त रहेनछ भन्ने कुरा गरे । त्यहाँ एकदुई जनाले कुरा थपथाप गर्दा उहाँहरु बीच त्यस्तै १७ । १८ महिनाको मात्र फरक हुनेगर्छ । तब त्यस विषयमा त्यहाँ कुनै बहस पैरवी गरिरहन उचित वातावरण ठानिन । त्यसपछि अरु पुराना साथीहरु भेट्न पुगें । त्यहाँको कार्यक्रम सकाएर घर आइसक्दा पनि मेरो दिमागमा भने ती व्यक्तिहरुको जुन टिप्पणीमा खासै फरक त रहेन छ भनेको कुराले कताकता घोचीरहेको थियो ।
यो भन्दा अघि पनि हाम्रै संस्कृति क्षेत्रका केही प्रतिष्ठित व्यक्तिहरुले बेलाबखतमा व्यक्त गर्दै आएका टिप्पणीमा पनि कहिलेकाहिँ इतिहासमा एकदुइ वर्षको अन्तर देखीरहनु भनेको खासै भूल होइन भन्नेहरु पनि देखिएका थिए भने कोहीकोही जावो १७ ।१८ महिना फरकले न आकास खस्छ न पाताल नै भास्छ भन्नेहरु पनि रहेछन् यस जगतमा भन्ने देखियो । फेरि लिच्छविकालमा चलेको संवत्लाई शकसंवत् मान्दा नेपालको इतिहासको कुनै हानी नै हुने होइन पनि भनेर लेख्ने गरेको पनि देखिएको छ । केही महिना अगाडि एक जना प्रतिष्ठित इतिहासकारले अनलाइन सम्वादमा भनेको थियोकि संवत्मा कार्तिकादि र चैत्रादि थियो भने , शून्यबाट शुरुहुने संवत् र एकबाट शुरुहुने संवत् भएको कारणले पनि एकदुइ वर्ष अन्तर देखापर्ने हो भन्ने जस्ता कुरा गरी वि.सं ५७७ ठिक थियो कि वि.सं ५७५ ठिक थियो भन्ने कुरालाई एकदम हल्का रुपमा लिइआएको देखियो । यसरी उहाँहरुले जुनरुपले हल्का ढंगले लिदै आएको थियो । वास्तवमा त्यो हलुका विषय चाहिं होइन । किनभने यहाँ एकदुई वर्षको अन्तर परेको मुद्दा बिल्कूलै होइन । यहाँ मुख्य मुद्दा भनेको सिद्धान्त नमिलेको बारेमा हो । त्यसकारण अब बहस नै गर्नु पर्ने भयो भने मुख्यमुख्य यी सिद्धान्त अगाडि राखेर दुवैपक्षले प्रमाणहरु अगाडि राखेरै बहस गर्नु पर्ने आवश्यकता देखेर देहाय बमोजिमको सवाल अगाडि राख्नुपरेको छ ।
पहिलो सवाल
लिच्छविकालको अभिलेखमा देखिने संवत्लाई शकसंवत् मान्दा २ वर्षको अन्तर देखा पर्ने तिर होइन । सिद्धान्त के समातेको छ ? भन्ने विषयमा जान आवश्यक छ । उदाहरणको रुपमा सिन्धुपाल्चोकको महादेवटारको शिवलिंग जलहरि पादपीठको अभिलेखमा संवत् ४४२ उल्लेख छ । यहाँ संवत् ४४२ मात्र होइन महिना पौष समेत उल्लेख छ । यही संवत् ४४२ पौषको तद्नुसार वि.सं ५७७ पौष हुन्छ भन्नु भनेको ५७७ र ४४२ बीचको अन्तर १३५ हुन्छ भनेको हो । यसको मतलव सिद्धान्त समात्दा विक्रमसंवत् र शकसंवत् बीचको अन्तर १३५ वर्ष हुन्छ भनेको भनेर बुझ्नु परेको छ ।
लिच्छविकालको अभिलेख भन्नाले महादेवटारको मात्र होइन सबै अभिलेखका संवत् कार्तिक शुक्ल प्रतिपदाबाट शुरुहुने कार्तिकादि संवत् थियो भन्ने कुरा त तमाम इतिहासकारले बुझीसकेको कुरा हो ।
पौषको ४४२ मा १३५ जोडेर वि.सं ५७७ बनाइए पछि वैशाखको ४४२ मा पनि वि.सं ५७७ कायम रहने होइन । भनाइको मतलव वैशाखमा ५७८ हुनजान्छ । अभिलेखको संवत् कार्तिकादि भएकोले वैशाखमा पनि ४४२ नै कायम रहन्छ भने विक्रमसंवत् त कार्तिकादि होइन । यतिबेला ५७८ र ४४२ बीचको अन्तर १३६ देखाउनु पर्ने हुन्छ ।
प्रशिद्ध इतिहासकार धनवज्र वज्राचार्यले चाँगुनारायणको मानदेवको स्तम्भलेखमा भएको संवत् ३८६ जेष्ठ महिनालाई वि.सं ५२१ जेष्ठ मान्दा ५२१ र ३८६ बीचको अन्तर पनि १३५ नै देखाउनु भएको छ भने उहाँले लिच्छविकालमा चलेको संवत् कार्तिकादि होइन कतै भन्नु भएको होइन । यसरी कार्तिकादि मान्दामान्दै पनि जेष्ठको मितिमा १३५ जोड्नु भनेको कार्तिकदेखि चैत्रसम्मको मिति भए त्यतिवेला वि.सं ५२० मात्र हुने रहेछ, त्यसो भएकोले ५२० र ३८६ बीचको अन्तर १३४ देखिने अवश्य हुन आउँछ ।
त्यसकारण शकसंवत्मा १३५ जोडेर विक्रमसंवत् बनाउने सिद्धान्त त धेरैले बुझेको कुरा भयो भने १३४ र १३६ जोड्ने प्रावधान कुन शास्त्रमा छ ? त्यो शास्त्र प्रमाण अगाडि नल्याइकन बहस गर्नु बेकार हुन्छ । अब प्राज्ञिक जगतमा साँच्चै बहस हुनको लागि शकसंवत्मा १३४ र १३६ जोड्ने प्रावधान पनि छ भनी खोजी गरी प्रमाण अगाडि ल्याउन जरुरी भएको छ । कथंकदाचित यो प्रमाण कसैले ल्याउन सकिएन भने लिच्छविकालमा चलेको संवत् शकसंवत् नै हो यो मान्दा इतिहासमा कुनै हानी हुने होइन भनी एक प्रकारले रटान गर्दै आउनुको कुनै औचित्य सावित हुँदैन र बहस गर्नुको पनि कुनै औचित्य रहँदैन ।
दोस्रो सवाल
लिच्छविकालका अभिलेखहरुमा अधिकमास परेको उल्लेख आएको थूप्रै अभिलेख छन् । यसरी अधिकमास परेको वर्षमा ३९० दिन वा ३८४ दिन हुने त हो नि भन्ने कुरामा बहस गर्नु भन्दा अघि लिच्छविकालको पञ्चाङ्ग पात्रो नभेटिए पनि अधिकमास त अहिले पनि हरेक तीनतीन वर्षमा आइरहेको छ । अधिकमास परेको वर्षको नेपालसंवत्को क्यालेण्डर पनि अगाडि राखौं र विक्रमसंवत्को क्यालेण्डर पनि अगाडि राखौं । त्यतिमात्र होइन कुनकुन वर्षको पञ्चाङ्ग पात्रो र क्यालेण्डरहरुमा कुनकुन वर्षमा ३९० दिन छ कुनकुन वर्षमा ३८४ दिन छ ? त्यो कुरा खोजी गरी अगाडि राख्न नल्याइकन बहस गर्नुको कुनै औचित्य हुँदैन । कथंकदाचित ३९० दिन र ३८४ दिन भएको क्यालेण्डर खोजेर ल्याउन सकिएन भने बहस गर्नुको के औचित्य ? त्यसकारण केवल अधिकमास परेको वर्षमा ३९० दिन हुने त हो नि भनेर कुनै पार पाउने वाला छैन । यहाँ दिन भनेको के? तिथि भनेको के ?भन्ने कुरामा बहस गर्नु भन्दा पनि अधिकमास परेको वर्षमा ३९० या ३८४ दिन भएको पात्रो खोजेर ल्याउनु नितान्त जरुरी हुन आउँछ ।
तेस्रो सवाल
सुमतितन्त्रमा पछिपछि थपेको वाक्यमा मानदेवसंवत्को उल्लेख छ र त्यो मानदेवसंवत् ३०४ वर्ष चलेर टुंगियो भन्दै एक प्रकारको सुगा रटान भइआएको छ । यो कुरा देशका मूर्धन्य कहलिएका इतिहासकारहरुले समेत पत्याए भन्नेमा आश्चर्य होइन । आश्चर्य र बहसको विषय त यो हो कि सहोत्तरतन्त्र नामक हस्तलिखित ग्रन्थको पुष्पिका वाक्यमा दिइएको संवत् ३०१ लाई मानदेवसंवत् मानेपछि त्यसमा वार नक्षत्र योग समेत उल्लेख भएकोले गणना गर्दा ३०१ वैशाखको तद्नुसार वि.सं ९३५ वैशाख सिद्ध गर्न पुगेको देखेकै हो । किन वि.सं ९३५ वैशाख हुन आयो बहसको मुद्दा नै यही हो । यसरी ३०१ वैशाखलाई मानदेवसंवत् मानेपछि ३०४ वर्ष चलेको मिथ्या कि विसं ९३५ वैशाख भनेर सिद्ध गरेको मिथ्या बहसको विषय यसमा केन्द्रित छ ।
यदि सुमतितन्त्रले भनेको ३०४ वर्ष मानदेवसंवत् चलेको सत्य हो भने पं नयराज पन्तले लिच्छविसंवत्को निर्णयमा गरेको सारा गणना स्वतः मिथ्या ठहरिने भयो । किनभने निर्णयमा ३०१ वैशाख भनेको वि.सं ९३५ वैशाख भनेपछि वि.सं ९३८ कार्तिक शुक्ल प्रतिपदा नआए सम्म मानदेवसंवत् चली रहेको देखिनु पर्ने हुन्छ । यो कुरा इतिहासले यथार्थ हो भनेर कदापि स्वीकार गरेको होइन ।
यदि इतिहासले भनेको वि.सं ९३६ कार्तिक शुक्ल प्रतिपदाको दिन नेपालसंवत् आरम्भ भएको सकार्यौ भने सुमतितन्त्रले ३०४ वर्ष मानदेव संवत् चल्यो भनेको पनि मिथ्या र सुमतितन्त्रको मान्यता सकारेर गणना गरेको भन्दै लिच्छविसंवत्को निर्णयमा देखाएको तमाम गणना स्वतः मिथ्या ठहरिने भएकोले बहस गर्दा सुमतितन्त्र समात्ने कि नयराज पन्तको गणना समात्ने वा यथार्थ इतिहास समात्ने यी तीनवटा धार मध्ये कुन समात्ने भन्ने मै बहस हुन जरुरी दखिन आएको छ । जे जस्तो भए पनि वास्तविक इतिहासको धार नरोजी सुखै हुँदैन । तब सुमतितन्त्र र नयराज पन्तको कुरा समातेर बहस गर्नुको कुनै औचित्य हुँदैन ।
चौथो सवाल
नेपालसंवत्को प्रारम्भ वि.सं ९३६ कार्तिक हो या वि.सं ९३८ कार्तिक हो बहस यसमा गर्नु पर्ने देखिन आएको छ । किनभने यहाँ दुइवर्षको अन्तर प्रत्यक्ष रुपले देखिन्छ । यहाँ शून्यबाट शुरुहुने र एकबाट शुरुहुने सिद्धान्तलाई समातियो भने एक वर्षको हिसावको मात्र फरक हुनुपर्नेमा दुइवर्षको फरक प्रत्यक्ष छ । कार्तिकादि र चैत्रादिको सिद्धान्त समातियो भने पनि एकवर्षको फरक मात्र हुनुपर्ने दुइवर्षको फरक किन देखापरिरहेको छ ? यदि दुइ वर्षनै फरक हुने त होनि भनियो भने त्यसको प्रमाण चाहियो । यदि प्रमाण अगाडि ल्याउन समर्थ भएन भने बहस गर्नुको औचित्य हुँदैन ।
अहिले वि.सं २०८१ सालको गत कार्तिकमा नेपालसंवत् ११४५ हुन पुगेको छ । त्यो ११४५ वि.सं २०८२ सालको कार्तिक नआएसम्म रहने भएपछि विक्रमसंवत् र नेपालसंवत् बीचमा ९३६ र ९३७ नै फरक देखिने हुन आउने भएकोले वि.सं ९३८ को कार्तिकसम्म नेपालसंवत् १(एक) रहने ठीक त होनि भनियो र यो मान्यता समाते पछि सुमतितन्त्रले भने मुताविक ३०४ वर्ष मानदेवसंवत् चलेको पनि समीचिन हुन्छ । यो अवस्थामा बहसको विषय जटिल देखापर्ने हुन्छ ।
यदि ९३६ कार्तिकबाट शुरुभएको मान्यौ भने ९३६ को कार्तिक देखि ९३७ को असोजसम्म नेपालसंवत् १ (एक)रहनु पर्ने भएकोले विक्रमसंवत् र नेपालसंवत् बीचको अन्तर ९३५ र ९३६ मात्र हुन्छ । यहाँ हाल ९३६ र ९३७ अन्तर देखापर्ने भइआएको छ । यो नै बडो समस्याको रुपमा देखापर्छ । यदि सुमतितन्त्रले भने मुताविक ३०४ वर्ष मानदेव संवत् चल्यो अर्थात् ३०४ वर्ष मानदेवसंवत् चलेर टुंगियो भन्दै जुन रटान कायम छ । यसलाई आत्मसात गर्ने हो भने वि.सं ९३८ कार्तिकमा नेपालसंवत् प्रारम्भ भएको नभनी पनि सुख छैन तर वि.सं ९३८ कार्तिकमा नेपालसंवत् प्रारम्भ भएको ठीक हो भनी पुष्टि गर्ने प्रमाण चाहियो । कथंकदाचित वि.सं ९३७ कार्तिक बाट नेपालसंवत् प्रारम्भ भएको प्रमाण पनि ल्याउन सकिएन , वि.सं ९३८ मा प्रारम्भ भएको भनेर पुष्टि गर्ने प्रमाण पनि ल्याउन सकिएन भने बहस गर्नुको कुनै औचित्य त्यतिबेला पनि रहँदैन ।
पाँचौं सवाल
प्राप्त अभिलेखीय स्रोतलाई प्राधान्यता दिने कि विद्वान ठानेको व्यक्तिको भनाइलाई प्राधान्यता दिने , यो विषयको बहस हुन अति जरुरी देखिन्छ तर यही कुरा नेपालमा अभाव छ ।
किनभने शिलालेख पनि प्रामाणिक ऐतिहासिक स्रोत हो भनेर पं. भगवानलाल इन्द्रजीले वि.सं १९३७ मा तेइसवटा नेपालका प्राचीन अभिलेखहरु संकलन गरेर पुस्तक प्रकाश गरी नेपालीहरुको आँखा उघारि दिएका थिए । यो कुरा थाहा नपाएका व्यक्ति बिरलै मात्र होला नत्र सबैलाई थाहा छ । उनले प्रकाश गरेको त्यस पुस्तकमा पन्ध्रवटा अभिलेख त लिच्छविकालका नै परेका छन् । त्यसमा संवत् ५३५ श्रावणको लगन ज्यावहालको अभिलेख समाविष्ट भइसकेका थिए । यो कुरा पनि प्राचीन अभिलेखका बारेमा जानकारहरु सबैलाई थाहा छ र इतिहासकार धनवज्र वज्राचार्यको लिच्छविकालका अभिलेख पल्टाएर हेरियो भने पनि यो अभिलेख भगवानलाल इन्द्रजीले पनि छपाए भने नोलीले पनि छपाए भनेर लेखेकै छ । अंशुवर्माको पालाको संवत् ५३५ को अभिलेख सुमतितन्त्र नामक ज्योतिष ग्रन्थ रचना गर्नु भन्दा धेरै अगाडिको स्रोत हो भन्ने कुरा सर्वसाधारणलाई त्यति जानकार नभएतापनि प्राचीन इतिहास पढ्ने जोकोहीलाई यो थाहा छ ।
सुमतितन्त्रको मात्र बखान गरेर नथाकेका व्यक्तिहरुले यो अभिलेख पनि छ भनेर ख्यालै नराखी त्यही सुमतितन्त्रलाई मात्र आधार बनाई निर्णय गरेको लिच्छविसंवत्को निर्णयको पछाडि आँखा चिम्ली पछ्याई रहनु पर्ने बाध्यकारी कुरा कहाँबाट उत्पत्ति भयो यो बडो आश्चर्य छ?
संवत् ५३५ को अभिलेखमा अंशुवर्माको नाम देखिएको छैन नि भन्ने हो भने अंशुवर्मा कै नाम देखिएको संवत् ५३६ को अभिलेख भेटिएको पनि अहिले ३५ वर्ष भई सक्यो भने पछि आँखा भएर पनि हेर्न नचाहने कान भएर पनि सुन्न नचाहने रबैया मात्र देखाएर आउनु त कोही पनि बुद्धिजीविको लागि सुहाउने कुरा होइन ।
छैठौं सवाल
सुमतितन्त्रको मूल वाक्यको मात्र कुरा गर्नेले त्यसमा ४९८ सम्म शकसंवत् चल्ने छ र ३०४वर्षसम्म मानदेवसंवत् चल्नेछ भनेर लेखिएको कुरालाई मात्र देखाएर प्राधान्यता दिइ आउने होइन ।
त्यही मूलवाक्यमा युधिस्थिर दुर्योधन संवत् नेपालमा प्रचलनमा रहेको प्रमाण कहिले छ खोज्ने गरेको खोई ? नन्दसंवत्, चन्द्रगुप्तसंवत् शूद्रकदेवसंवत् र शकराजा नेपालमा कहिले आए ? कसरी उनीहरुले आआफनो संवत् चलाएर देखाए त्यसको अस्तित्वको प्रमाण खोज्नु प¥यो तर कहिल्यै खोजको होइन किन ? त्यही मूलवाक्यमा विक्रमसंवत् उल्लेख गर्न कसले छुटाए किन छुटाए र सुमतितन्त्रमा विक्रमसंवत्को कुनै सुईको सम्म पनि दिइएको छैन तापनि वि.सं ६३३ देखि मानदेवसंवत् उठे भनेर सुमतितन्त्रमा उल्लेख छ भन्दै ढाँटी रहने को हो ? त्यस बारे खोजीनिती कुनै गर्नु नपरेको कारण के अचम्म होइन र ?
निष्कर्ष
यस प्रकार ढाँट्नेले ढाँटी रहने र पत्याउनेहरु आँखा चिम्ली पत्याइ रहने क्रम कहिलेसम्म जारी रहने हो ? थाहा छैन तर यो पाठकहरुमाथि निर्भर रहने कुरा हो । कतिपय पाठकहरु बीच अब यो विषयमा बहस हुनु प¥यो भन्ने खालको कुरा गाईगुर्इं चल्न थालेको देखिन आएको छ । निश्चय पनि बहस त हुनै पर्ने हो तापनि कोसंग ,कुन संस्थासंग ? बहस गर्ने भन्ने कुरा नै पहिले निक्र्यौल गर्नुपर्ने हुन्छ तर ती व्यक्ति र संस्थाले सर्बप्रथम माथि उल्लेख भएका पहिलो सवालदेखि छैठौं सवालसम्म उठाइएका प्रश्नलाई खण्डन गर्न प्रमाण नै पहिले जुटाइएको हुनु प¥यो । ती प्रमाण जुटाए पछि बल्ल बहस गर्नु सार्थक हुने हुन्छ भने ती कुराको पुष्ट्याई हुने प्रमाण नै नजुटाईकन बृथामा समय बरबाद गर्न मात्र बहस गर्ने त हुनु भएन । फेरि ती प्रमाण यदि जुटाउन कोही समर्थ नै हुनु भएन भने बहस गरी राख्नुको कुनै औचित्य पनि त्यहाँ रहने छैन ।
मान्छेहरुलाई गफ मात्र गर्न कुनै प्रमाण चाहिएन तर लिखित इतिहास तयार पार्न प्रमाण बिना संभव छैन । पहिलो सवाल अन्तर्गत शकसंवत् भनिएकोमा १३४ र १३६ जोडेर पनि विक्रमसंवत् बनाउन सकिन्छ भन्ने कुरा कुन शास्त्रमा छ , दोस्रो सवालमा अधिमास भएको वर्षमा ३९० दिन हुने कुरा पनि एउटा कुनै पञ्चाङ्ग र क्यालेण्डरको उदाहरण अगाडि ल्याएर राख्नु प¥यो । तेस्रो र चौथो सवालमा वि.सं ९३५ मा ३०१ भएको मानदेवसंवत् कुन सालमा गएर ३०४मा टुंगिन पुग्छ र वि.सं ९३६ ,९३७ र ९३८ कुन सालमा ल्याएर ३०४ वर्ष मानदेवसंवत् चलेको हिसावको फरफारक हुनेहो त्यो फरफारक गरेर देखाउनु पर्यो । त्यस्तै पाँचौं र छैठौं सवाल अन्तर्गत लिच्छविसंवत्को निर्णय गर्न ५३५ को अभिलेखलाई बेवास्ता गर्नु पर्नाको कारण अगाडि ल्याउनु प¥यो र सुमतितन्त्रको मूलवाक्यमा विक्रमसंवत्को उल्लेख कसले छुटायो किन छुटायो ? त्यो कुरा गफ गरेर होइन शास्त्र प्रमाण अघिसारेर पहिले सिद्ध गरेर देखाउनु प¥यो । तब बहस गर्नुको रौणक नै बेग्लै देखिएला । होइन भने निरर्थक बहस नगर्नु नै उचित होला ।