
बारम्बार भन्दै आएको पनि यही थियो कि नेपालसंवत्को क्यालेण्डर भनेर जुन प्रचार प्रसार भइ आएको छ त्यही सबभन्दा बाधक भइरहेको छ । त्यो क्यालेण्डर केबल भित्तामा झुण्ड्याउने प्रयोजन बाहेक अरु हुनसकेको छैन । यसको मुख्य कारण भनेकै ३५४ दिनको क्यालेण्डर अघिसार्दै आउनु नै हो ।
नेपालसंवत् उल्लेख भएका ऐतिहासिक स्रोत तिर ध्यान दिने हो भने गनेर साध्य नहुने अनगिन्ती मात्रामा पाइन्छन् । त्यतातिर कसैले नजर अन्दाज नै गरेको होइन । ती स्रोतहरुमा १२ वटै संक्रान्तिका नामहरु उल्लेख भइरहेका छन् । ती १२ वटा संक्रान्ति हुनासाथ त्यस भित्र ३६५ दिन हुनै पर्ने हुन्छ । यो कमनसेन्स याने साधारण ज्ञान मै आउने कुरा हो । जस्तो विक्रमसंवत्को मात्र उल्लेख भएका ऐतिहासिक स्रोतमा तिथिमात्र उल्लेख भएको देख्दैमा त्यो चान्द्रमासको वर्ष होइन भने झैं नेपालसंवत्मात्र उल्लेख भएको ऐतिहासिक स्रोतहरुमा पनि तिथिमात्र उल्लेख भएको देखेर चान्द्रमासको वर्ष भन्न पाइने बिल्कुलै होइन । फेरि नेपालसंवत्को मात्र उल्लेख भएका ऐतिहासिक स्रोतहरुमा चन्द्रग्रहण र सूर्यग्रहणको कुरा पनि आइरहेका प्रशस्त पाइन्छन् । त्यसलाई नजर अन्दाज नै नगरी नेपालसंवत् चान्द्रवर्ष भन्नु अज्ञानता मात्र हो । फेरि हरेक तीन वर्षको एक चोटी अधिकमास आउँछ । यसरी अधिकमास भएको वर्षमा १३ महिना हुन्छ र १३ महिना भनेको ३९० हुन्छ भन्ने उपबुज्रुक कुरा गर्नेहरुको पनि यहाँ कुनै कमी नै छैन । त्यो पनि अज्ञानताको द्योतक मात्र हो । त्यहाँ चन्द्र सूर्य दुवैको संमिश्रण गणित बिना ती कुरा संभव नै हुने होइन भन्ने कुरा कसैले हेक्का राखेन ।
पञ्चाङ्ग पात्रोको कुरा गर्दा सूर्यसिद्धान्तको पञ्चाङ्गको आविष्कार भएको छ तर चन्द्र सिद्धान्तको पञ्चाङ्गको आविष्कार भएकै छैन त्यो कुरा बुझ्ने कहिले ? त्यो कुनै अत्तोपत्तो छैन । त्यसमाथि अझ उनीहरु नै बढी जान्नेसुन्ने बनेर आइरहेको देखिनु भनेको सूर्यलाई बत्ती देखाए भने जस्तै मात्र हुन् । दुइटा पाङ्ग्रा नभएको रथ कुनै हालतमा गुड्न सक्दैन । विक्रमसंवत्मा सूर्यगति चन्द्रगति दुइटै एकै ठाउँमा नभएकोभए त्यो संवत् गुड्न सक्दैन भनेझैं नेपालसंवत्मा पनि यी दुवै ग्रहको गति गणना नभएको भए गुड्न संभव थिएन । जहाँ तिथिको हिसाव हुन्छ त्यहाँ संक्रान्तिको पनि हिसाव हुन्छ । सूर्य र चन्द्रमाको एकसाथ हिसाव भएन भने ग्रहणको हिसाव संभव छैन र अधिकमासको हिसाव पनि संभव छैन । यति साधारण ज्ञानको अभावमा नेपालसंवतको क्यालेण्डर बनाएर बस्नेहरु अझ यसलाई जनस्तर सम्म पु¥याउन पर्ने भन्नु ,अझ बैंकमा चेक लेख्दा समेत नेपालसंवत् प्रयोग भइ दिए जनस्तर सम्म पुग्ला कि भन्नु भनेको नमच्चिने पिङ्को सय झड्का भने जस्तै हुने हो । किनभने बैंकिंग कारोबारमा ३५४ दिनको वर्ष गणना कुनै हालतमा संभव छैन भन्ने सम्म ज्ञान नभएकाहरुबाट नेपालसंवतको क्यालेण्डर बनाइ रहने अझ उनीहरु नै त्यो क्यालेण्डर जनस्तरसम्म पु¥याएर घाँटी न्याकेर भएर पनि बाध्यात्मक परिस्थिति सिर्जना गर्छु भन्नु भ्यागुताले धरहरा नाप्छु भने जत्तिको असंभव कुरा हो यही विषयलाई केन्द्रित बनाएर यो लेख तयार गर्न लागिएको हो ।
नेपालसंवत्को आन्दोलन
नेपालमा आफ्नेै नेपालसंवत् हुँदा हुँदै पनि यो संवत् चलाउन किन बन्देज लगाइयो ? त्यसैले नेपालसंवत्लाई पनि राष्ट्रिय मान्यता चाहियो भनेर ने.सं ११०० देखि आन्दोलन शुरुभएको हो । त्यसबेला सत्ताको गुलामी गर्न खोज्ने चम्चाहरुले आन्दोलनको उदघोषलाई दुस्साहस हो भनेर आक्षेप लगाए । आज नेवारहरुले नेपालसंवत्लाई राष्ट्रिय मान्यता माग्दा दिइयो भने भोली तराइका जनताले माग्ला पर्सि हिमाली भेगका जनताले माग्ला सबैको संवत् राष्ट्रिय मान्यता हुनसक्दैन भनेर चम्चाहरु कराउनु र सत्ता चाहिं आफ्नो गाथगाडी हल्लेला भनेर डराउनु संयोग मिले तब आन्दोलन माथि दमन हुन पुगे । तैपनि कुत्ता भुके हजार हात्ती लस्के बजार भने झैं आन्दोलन रोकेन ।
राणाकालमा जनताले धार्मिक किताव मात्र पढ्न पाइन्थ्यो भने अरु विषयको किताव लुकीलुकी पढ्नु पर्दथ्यो किनकि त्यस्तै चम्चाहरुले थाहापाए भने राणाहरुको दरवारमा चुगलि लाग्न सक्दथे । त्यो धङ्धङी ने.सं ११०० सम्म पनि बाँकी थियो । त्यही कारण आन्दोलन दवाउन सत्ताले छोडेनन् । सत्तामा बस्नेहरुको नजरमा नेपालसंवत्लाई राष्ट्रिय मान्यता चाहियो भन्ने नाजायज माग हो । चम्चाहरुको नजरमा नेपालसंवत् भनेको नेवारहरुको संवत् भन्ने बुझाइ थियो भने आन्दोलनमा उत्रेका मध्ये अधिकाँशको भनाइ पनि नेपालसंवत् हाम्रो मात्र एकलौटी संवत् भन्ने दाबीहुँदै आएको पनि देखियो । वास्तवमा यी सब बाहिर बाट हेर्दादेखिने एउटा देखावा चाहिं हो । यथार्थ चाहिं आन्दोलनमा सरिक हुनेहरुले पनि नेपालसंवत् नेवारसमुदायको एकलौटी हक भन्नेदाबी गर्दै आएको थियो । यो नै दूर्भाग्य थियो भने आन्दोलनमा सरिक हुनेले पनि नेपालसंवत्को व्यवहार गर्न सहज छ यो पनि ३६५ दिन कै वर्ष हो भनी बोध गराउन नसक्नु नै हो ।
शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा
१११० पछि देशमा राजनीतिक परिवर्तन भयो । तब सत्तामा पुगेका होस् या सत्तामा बिपक्षी दल सबैले नेपालसंवत्को न्हूदँको दिनमा शुभकामना दिन थाले त्यति मात्र होइन शीर्षस्थ नेता तथा प्रधानमन्त्री समेत बसन्तपुरमा भेला हुन थाले । यही नै ठूलो उपलव्धी ठान्न पुगे । त्यतिबेला पनि सबैले व्यवहार गर्नसकिने क्यालेण्डर बनाउनु भन्ने घोषणा भएको थियो । तर बनाउन त बनाए तर त्यही ३५४ दिनको बनाए । त्यो क्यालेण्डर पनि बाँदरको पुच्छर लौरो न हतियार भने जस्तो केही काम लागेन ।
११२० मा तत्कालीन सरकारले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिदिए ।यो झन ठूलो उपलव्धी भएको ठाने । त्यतिबेला पनि सरकारले सबैले व्यवहार गर्न सकिने क्यालेण्डर बनाउनु भन्ने घोषणा भएको थियो । तर बनाउन त बनाए तर त्यही ३५४ दिन कै बनाए कुनै सार्थक सिद्ध हुन सकेन ।
नेपालसंवत्लाई राष्ट्रियसंवत् घोषणा
११२६ ।२७ तिर फेरि देशमा राजनीतिक परिवर्तन भयो । त्यसपछि बनेका सरकारले नेपालसंवत्लाई राष्ट्रिय संवत् नै घोषणा गरिदियो । त्यतिबेला हिमाल तराई पहाड सबै ठाउँको जनप्रतिनिधि भएको सरकारले नेपालसंवत्लाई राष्ट्रियसंवत् घोषणा गरे पछि चम्चाहरु सबै चूप लागे । यस प्रकार राष्ट्रिय संवत् घोषणा भए पछि आन्दोलन समाप्त प्रायः भए किनभने आन्दोलनका शुरुमा नेपालसंवत्लाई राष्ट्रिय संवत् घोषणा होस् भनी माग भएको थियो । त्यतिबेलाका सरकारले पनि सबैले व्यवहार गर्न सकिने क्यालेण्डर बनाउनु भन्ने घोषणा भएको थियो । तर अपेक्षित क्यालेण्डर बनाउन सकेन । त्यसरी बनाउन नसक्नुमा सरकारको कुनै हात छैन परन्तु कसको बिरुद्धमा आन्दोलन जारी राखेको त्यो कसैलाई थाहा छैन । राजनीतिक परिवर्तन पछि सरकारमा आएका सबै दलले नेपालसंवत्को विरोध गरेकै छैन । सरकार प्रमुखहरुले त बारम्बार भनी रहेकै हो सबैलाई ग्राह्य हुने क्यालेण्डर तपाईहरु आफै बनाउनु भने पछि बनाउने काम त आफनो हो नि । तर उही ल्यायोल्यायो लैं क्वा ल्यायो ल्यायो फसिक्वा भने जस्तो ३६५ दिनको क्यालेण्डर नबनाई खाली ३५४ दिनको क्यालेण्डर मात्र बनाइ रहने भए पछि असक्षम को ? भयो त भन्दा स्वयं आफुहरु नै भयो सरकारत होइन । सरकारले त हालै ११४४ को वर्षमा पनि सरकारी कार्यालयमा नेपालसंवत् पनि अनिवार्य उल्लेख गर्नु पर्ने घोषणा समेत गरिदिएकै छ । त्यसकारण पञ्चायत कालको सरकारलाई जस्तो अहिले राजनीतिक परिवर्तन भइसकेपछि सरकारलाई दोष दिने ठाउँ छैन किनभने माग गरेका सबैमाग पूरा गर्दै आएका छन् । बरु सरकारले माग्दै आएको सर्बग्राह्य क्यालेण्डर बुझाउन नसक्ने अकर्मण्यता आन्दोलनकारीहरु स्वयं हुन् । यसमा अरुलाई दोष दिने ठाउँ छँदै छैन ।
क्यालेण्डरको प्रकाशन
सरकारले बनाइ रहेको क्यालेण्डरमा के छैन ? त्यसमा तिथि छ तारिख छ ल्होसार छ इदमा बिदा दिएकोछ, क्रिसमसको बिदा दिएको छ ज्यापु दिवस भनेर बिदा दिएको छ तराइमा मनाउने छठमा बिदा दिएको छ । यसरी हिमाल पहाड उपत्यका तराई मधेस सबैको अनुकूल छ । केवल वि.सं २०८१ सालको क्यालेण्डर नभनी नेपालसंवत् ११४५ को क्यालेण्डर भन्न मात्र बाँकी हो र त्यसलाई बैशाखबाट होइन कार्तिकबाट शुरु गर्ने गरिएको छैन । त्यसको लागि विक्रमसंवत् ऐतिहासिक क्रममा बिश्रृंखलता छ नेपालसंवत्मा त्यस्तो बिश्रृंखलता छैन यो कुरा सप्रमाण बुझाउन पनि त सक्नुप¥यो । खुद आफनो क्यालेण्डर यस्तो खालको हुनुप¥यो भनेर त दिन नसक्नेहरुबाट त्यो संभव नभएको अवश्य हो । सरकारी क्यालेण्डरमा जेठ र श्रावण ३२ दिनको महिना हुने पौष माघ २९ दिनको महिना हुने अरु ३० र ३१ दिनको महिना हुने दिइएको पाइन्छ । नेपालसंवत्को क्यालेण्डर हेरियो भने ती सबै यथावत् दिई ३५४ दिनको वर्ष देखाउन कार्तिक महिना एउटालाई १९ दिनको देखाएर आफनो क्यालेण्डर आफैले अव्यवहाारिक अवैज्ञानिक सिद्ध गर्दै आएको छ फेरि आफनो आन्दोलन जारी छ भनी रहने बिल्कुल नसुहाउने लज्जास्पद जिकिर देखिन आएको छ ।
क्यालेण्डर र पञ्चाङ्ग पात्रोमा भिन्नता
क्यालेण्डर भनेको संस्कृति परम्परालाई आत्मसात गरेर सबैको एकरुपता होस् भन्ने हेतुले बनाइने गरिन्छ भने पञ्चाङ्गमा घडीपला समय स्पष्ट जनाइएको हुन्छ । यसको मतलव क्यालेण्डरमा घडीपला समय जनाएर साध्य हुँदैन र गरिंदैन । त्यही भएर चाडवाडको दिनहरु क्यालेण्डरमा संस्कृति संस्कारलाई राम्रोसंग मनन गरेर यो दिन मनाउने भनेर दिइन्छ । त्यही भएर सर्बसाधारणले क्यालेण्डर त्यसै आधारमा बनेको हुन्छ भन्ने विश्वास लिएर क्यालेण्डरमा दिइएको दिन मुताविक गर्ने गर्दछन् । हरेक घरको भित्ता भित्तामा क्यालेण्डर झुण्डिएको हुन्छ भने हरेक घरघरमा पञ्चाङ्ग पात्रो पनि संकलनमा राखिएको हुन्छन् । विशेष साइत हेरेर कुनै कामगर्नु पर्दा पात्रोको प्रयोग गर्ने गर्दछ भने पितृको काम गर्नुपर्दा लाग्दो तिथि लिनुपरेकोले पञ्चाङ्ग पात्रोको प्रयोग गर्ने गर्दछ अरु हरेक कामकाजमा क्यालेण्डरको सहारा लिए पुग्छ । चाडवाडको हकमा लाग्दो तिथि हेंिरंदैन यसमा बिहान सूर्याेदय हुँदा जुनतिथि लिएर सूर्य उदाएको हो दिनभरिलाई त्यही तिथि मान्न सकिन्छ भनी शास्त्रहरुमा यसरी दिइएको छ ।
यां तिथि समनुप्राप्य उदयं याति भास्कर ।
सा तिथि सकला ज्ञेया स्नान दानादि कर्मसु ।।
(जुन तिथि लिएर सूर्य उदय भएको हो त्यही तिथि एक दिनको लागि हुन्छ , उही दिनमा स्नान दान आदि कर्म गर्न हुन्छ ।)।
यो शास्त्र वचन हो । यो कसैले कल्पना गरी मनगढन्तको आधारमा बनाइएको बचन होइन ।ज्योतिषहरुलाई पनि थाहा छ कि चिना बनाउँदा एक सूर्योदय देखि अर्को सूर्योदय नभएसम्म एउटै बार हुन्छ तर यसलाई बूझपचाएर अर्कै कुरा गर्न थालियो भने त्यो अर्कै कुरा भयो । त्यसको कुनै उपाय छैन ।
तिथिको विधि र यसको वास्तविकता
तिथिको विधि र वास्तविकता बुझ्न खोज्दा बीचको एक अंश बुझेर पुग्दैन । मान्छेहरु त्यही बीचको एक अंश बुझेको भरमा ठूलठूला कुरा गर्दै आएको देखियो ।
पञ्चाङ्ग बनाउँदा शुरुमा १२ वटा संक्रान्ति र त्यसको बार पत्ता लगाउने गरेको हुन्छ । त्यसपछि दुइटा संक्रान्ति बारको बीचमा गते राख्दै गए पछि जेठ र श्रावण तिर ३२ दिन सम्म पुग्ने र पुस माघ तिर २९ दिन सम्मको हुने बाँकी महिना ३० र ३१ दिनको हुन जान्छ । त्यसपछि त्यही गते र बार माथि तिथि ल्याएर बसाउँछ । त्यो तिथि त्यस दिनको सूर्योदयको आधारमा कतिञ्जेल बस्छ त्यो घडीपलामा व्यक्त गरेको हुन्छ र त्यो घडीपला लाई समय मिनेटमा पनि दिइएको हुन्छ । यो भनेको कार्तिक १७ गते शनिवार प्रतिपदा ३१ घडी ५३ पला भन्नुको साथै त्यो दिन १९ वजेर १ मिनेटसम्म रहन्छ । १९ वजेर १ मिनेट सम्म रहन्छ भनेको त्यो दिन बिहानको सूर्योदय ६ वजेर १६ मिनेटमा हुने भएकोले त्यहाँ देखि ३१ घडी ५३ पला भनेको १९ वजेर १ मिनेट सम्म रहने छ भनेको हो । त्यस दिन सूर्यास्त १७ वजेर १७ मिनेट मै हुने भएकोले १९ वजेर १ मिनेट भनेको सूर्यास्त पछिसम्म पनि त्यो तिथि कायम छ भनेको हो । त्यसरी हरेक पञ्चाङ्गको यतिकुरा बुझ्नै पर्दछ । बाँकी अरु नक्षत्र,योग, योगा राशि दिनमान र तारिख समेत खुलाएर दिइएको हुन्छ । त्यसकारण सूर्योदयको समयमा तिथि उदय र अस्त देखाइएको कुरा पात्रो हेर्दा नै स्पष्ट हुन्छ । भनाइको तात्पर्य यही कि सूर्योदय संगसंगै तिथि उदय र अस्त देखाइएको हुँदाहुँदै त्यसलाई चन्द्रोदय भनेर अर्थ लगाउनु सूर्यलाई बत्ती देखाउनु हो ।
ऐना हुँदा हुँदै कुवामा झाँक्न जानुपर्दैन । पात्रो हुँदा हुँदै पात्रोको कुरा नहेरेर चन्द्रमाको एक दिन भनेकोे एउटा तिथि हो । चन्द्रमाको एक महिना भनेको २९.५ दिन मात्र हुन्छ ३० दिनको एक महिना मान्नु परेकोले तिथि घटबढ हुने हो यदि तिथिले सूर्योदय देख्नपाएन भने तिथि टूट भएको मानिने र एउटै तिथिले दुइटा सूर्योदय देख्यो भने तिथि दोहरिएको मानिने जस्ता तर्कहरु गर्दैआएको देखिन्छ । ज्योतिषीय परिभाषा अनुसार सूर्योदयदेखि सूर्यास्तसम्म दिन र सूर्यास्तदेखि सूर्योदय सम्मलाई रात मान्ने गरिन्छ भन्ने तिर लागियोभने कुनै दिन तिथि अहोरात्र नक्षत्र अहोरात्र भनेर दिइएको छ भने अहोरात्र भनेको २४ घण्टा भनेर बुझ्न कतातिर लाग्ने भनेर दिग्भ्रमित हुनजान्छ । त्यसकारण ऐना हुँदा हुँदै किन कुवा खोज्ने भन्ने नै मुख्य कुरो बुझ्न जरुरी हुन आउँछ ।
निष्कर्ष
आन्दोलनकारीले मागे जति सबै माग पूरा भइ आएको भनेको संसारमा कुनै छ भने नेपालमा नेपालसंवत् एउटै मात्र देखिन्छ । तर बाँदरको हातमा नरिवल भने जस्तै नेपालसंवत्को सदुपयोग गर्न जानेको भने कोही होइन । उनीहरुले नेपालसंवत् चान्द्रमासको मात्र संवत् होइन भन्नेसम्म पनि थाहा छैन । यो ३५४ दिनको वर्ष होइन । यसरी ३५४ दिनको वर्ष देखाउन कार्तिक महिना एउटा १९ दिनको महिना मात्र देखाएर ३५४ दिनको सिद्ध गर्नसक्ने होइन यस्तो गर्दा आफ्नै नाक भाँचिने हो र उल्टो जग हाँस्छ भन्ने सम्म पनि हेक्का राख्न नसक्नाले नेवारको मात्र होइन नेपाल देश कै बेइज्जत भइरहेको भन्ने सम्म महसूस कसैले गरेनन् । नेपाल हाम्रो देशको नाम हो । यस देशमा रहेका सकल नेपालीलाई देशको माया हुनै पर्छ । नेपालसंवत् हाम्रो पनि साझासंवत् हो भनेर नेवार इतरले आत्मसात् गर्न नसक्नु नेवारको टाउको दुखाई होइन । नेपालसंवत् शुरु हुँदा भनौं वा यो संवत्को नाम नेपालसंवत् राख्दा यो देशमा नेवारहरु मात्रै थिए भनेर सिद्ध गर्ने बहादुर पनि कोही निस्केनन् भने नेपालसंवत् नेवार कै मात्र संवत् कहिले देखि भयो त्यो पनि प्रमाणित गर्ने बहादुर कोही निस्केनन् । अहिले नेपालसंवत्को न्हूदँको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दैगर्दा त्यहाँ नेवारहरु मात्र देखिए पछि नेपालसंवत् नेवारको मात्रै त भयो नि भनेर खिस्सीट्यूरी गर्न खोज्नेहरुको पनि यहाँ कुनै कमी छैन । केही वर्ष अघि देखिको न्हूदँ समारोह समितिको गतिविधि हेर्दा नेवार बाहेक अरु कसैले पनि हाम्रो पनि हो भन्न नचाहेर नेवार इतरहरु पन्छिए पछि त्यो नेवारको टाउको दुखाइ होइन । नेपालसंवत् हाम्रो पनि हो त्यसैले हामी पनि शुभकामना आदान प्रदानको कार्यक्रम गर्छौ त्यसमा नेवार समुदाय पनि उपस्थित हुन आइदिनु र तपाईहरुले आयोजना गरेको समारोहमा हामीलाई पनि निम्तो दिनु होला भन्ने आग्रह नगरे पछि यो पनि नेवार समुदायको निमित्त टाउको दुखाई होइन ।
वास्तवमा जे नहुनुपर्ने थियो त्यो भइरहेको छ । भनाइको तात्पर्य नेपालसंवत्को मामलामा नेवारसमुदायले मात्र नेपालसंवत्लाई माया गर्दै आएकोले नेपालसंवत् नेवारको देखिन गएको र विक्रमसंवत्को नयाँ वर्षमा नेवारहरुलाई पनि आह्वान गरेर यो तपाईहरुको पनि हो आउनु होला कहिल्यै भनेको देखिएन । यथार्थमा हेर्ने हो भने विक्रमसंवत्को कुनै ऐतिहासिक धरातल नभएको हुनाले नेवार समुदायले आत्मसात गर्न नचाहेको मात्र हो । किनभने विक्रमसंवत् भनेको शकसंवत्मा १३५ जोडेर बनेको हुनुपर्ने मा लिच्छविकालमा चलेको शकपूर्व २ को लिच्छविसंवत्लाई नै शकसंवत् ठानेर त्यसमा १३५ जोडेर बनाइएको हुनाले विक्रमसंवत्को धरातल छैन भनेको हो । वास्तवमा विक्रमसंवत्लाई नै नेपालसंवत्मा मर्ज गरेर(गाभेर) २०८१ को निरन्तरतालाई सदाको लागि त्यागेर नेपालसंवत्को ११४५ लाई निरन्तरता दिइ गतेबाट नयाँ वर्ष कार्तिक १ गते र तिथिबाट नयाँ वर्ष कार्तिक शुक्ल प्रतिपदालाई न्हूदँ अर्थात् नयाँ वर्ष मानेर हरेक वर्ष त्यही क्रममा जानु पर्ने आवश्यक छ र यो बाहेक अरु उपाय छैन । सकल नेपाली एक भई यसमा मनन गरी अगाडि बढ्ने प्रेरणा मिलोस् । नेपालसंवत्को जय होस् । नेपाल आमाको जय होस् ।








