निकै नमिठो मुख बनाएर
बिदा गरेथेउ एक अर्कालाई।
मेरो मुटुको शिखरबाट
तिमी सधैको लागि जब खसेर गयौ
हो त्यही दिनबाट
मैले आफैलाई पत्थर बनाए
र पुजा गरे आफै भित्रको ईश्वरलाई।
सोचेथें
तिमिसँग छुटिदा
बज्रपात हुनेछ एक्कासि पृथ्वीमा
हल्लाउनेछ भुकम्पले जमिन
अहँ त्यस्तो केही भएन
बरफ जस्तो जमिरहेको
तिम्रो चिसो विचारबाट मुक्ति पाउनु
सुखद समय थियो मेरो लागि।
हामी छुटेपछि लागेथ्यो
सायद हुने छैन फेरि भेट
आखिर यो शहर पनि त
कहाँ त्यति ठुलो रहेछ र
नचाहेरै पनि भेट हुने रहेछ
साँघुरो बाटोहरुमा र घुम्तीहरुमा।
एक दिन
अर्को एउटा साँँझ
अचानक भेट भयो तिमीसँग
देखें धेरै खुसी तिमीलाई
र लाग्यो
मेरो उपस्थिती बिना पनि
तिम्रा हरेक दिनहरु उत्सवमय बन्दा रहेछन्।