
काठमाडौँ।इरानका दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि प्रक्रिया सुरु भएको छ।
आइतबार राजधानी तेहरानमा आयोजित शोक सभामा हजारौँ नागरिक र सरकारका उच्च अधिकारीहरू सहभागी भएका छन्।
सो कार्यक्रममा दिवंगत खामेनीका अन्य तीन छोराहरू मसुद, मोस्तफा र मेइशमका साथै राष्ट्रपति मसुद पेजेस्कियान र रिभोलुसनरी गार्डका प्रमुख अहमद वाहिदी उपस्थित थिए।
तर,इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी भने आफ्ना पिताको अन्त्येष्टि समारोहमा अनुपस्थित देखिएका छन्।
सन् १९८९ देखि इरानमा शासन गरेका अली खामेनीको गत फेब्रुअरीमा निधन भएको थियो।
आइतबार इरानभर सार्वजनिक बिदा दिइएको थियो। आगामी बिहीबार उनको पैतृक सहर मशहदमा अन्त्येष्टि गरिनुअघि पार्थिव शरीरलाई सोमबार तेहरानमा नगर परिक्रमा गराइनेछ भने मंगलबार कोम र बुधबार इराक लगिने तालिका छ।

