
काठमाडौं । नूर–गंगा प्रतिभा पुरस्कार गुठीले पुरस्कृत प्रतिभाहरूको घोषणा गरेको छ ।
सोमबार गुठीको साधारणसभाले पुरस्कारको सिफारिस अनुमोदन गर्दै पुरस्कृतहरूको नाम घोषणा गरेको हो । गुठीबाट बालसाहित्य, लोकगीत गायन र साहित्य विधाका गरी आठ प्रतिभाहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
गुठीले एक लाख रुपैयाँ राशिको ‘नूर–गंगा राष्ट्रिय स्थापित लोकगीत गायन प्रतिभा पुरस्कार’ संयुक्त रूपमा क्षेत्रबहादुर गुरुङ (स्याङ्जा) र पूर्ण नेपाली (कास्की) लाई प्रदान गर्ने निर्णय गरेको छ । गुठीले दुवै सर्जकलाई ५०/५० हजार रुपैया नगद राशि प्रदान गर्नेछ ।
त्यस्तै गुठीले एक लाख रुपैयाँ राशिको ‘नूर–गंगा राष्ट्रिय स्थापित बालसाहित्य प्रतिभा पुरस्कार’ मुक्तिनाथ शर्मा नेउपाने (लमजुङ) र देवीप्रसाद वनबासी (स्याङ्जा) लाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको छ ।
‘नूर–गंगा क्षेत्रीय स्थापित साहित्य प्रतिभा पुरस्कार’ वनमाली निराकार (रूपन्देही) र ‘नूर–गंगा क्षेत्रीय स्थापित लोकगीत गायन प्रतिभा पुरस्कार’ पद्मध्वज केसी (नवलपरासी) लाई प्रदान गर्ने निर्णय गरेको छ । दुवै पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।
त्यस्तै गुठीले ‘नूर–गंगा राष्ट्रिय नवप्रतिभा साहित्य पुरस्कार’ आँचल श्रेष्ठ (ललितपुर) र ‘नूर–गंगा राष्ट्रिय नवप्रतिभा लोकगीत गायन पुरस्कार’ अर्जुन सापकोटा (नवलपुर) लाई प्रदान गर्ने निर्णय गरेको छ ।
यी दुवै पुरस्कारको राशि ३० हजार रुपैयाँ रहेको छ ।
गुठी प्रबन्ध समितिका अध्यक्ष प्रा.डा. गोविन्द नेपालको अध्यक्षतामा बसेको साधारण सभाले पुरस्कारका निम्ति प्रतिभाहरूको चयन अनुमोदन गर्दै निर्णय गरिएको प्रबन्ध समिति सदस्य यादव भट्टराईले जानकारी दिएका छन् ।




