तान्या ,इन्द्रकमल र अन्धकार
विधा : कथासङ्ग्रह
कथाकार : अविनाश श्रेष्ठ
यसमा समावेश कथाहरुले प्रेमको नयाँ रुपको अनुभूति ब्यक्त गर्दछन् । ११ वटा लामा कथाहरु रहेको यसमा जादुमयी लाग्दा कथा छन् । सीमित पात्रमा छरिता कथ्य कोरेर कथा लेख्न सिपालु देखिन्छन् अविनाश । यो सङ्ग्रहले श्रेष्ठको उचाइ बढाएको छ । सुन्दर कलात्मकताले लेपन गरिएका ,परिपक्व संरचनायुक्त समकालीन समाजको दुई विपरित लिड्डप्रतिको आकर्षण र सम्बन्धका विविध आयामहरुले कथा भरिएका छन् ।
उनका कथाहरु सामाजिक यथार्थवादी धारमा वगेजस्ता लाग्छन् । पाठकहरुलाई मन्त्रमुग्ध बनाएर आफुतिर आकर्षित गर्ने सामाथ्र्य कथाहरुमा पाइन्छन । रत्न पुस्तक भण्डारले यो कृति वि.सं.२०६३ सालमा प्रकाशित गरेको थियो ।
हवाईजहाजसँग उडेको मन
विधा : कथासङ्ग्रह
कथाकार : सुस्मिता नेपाल
मझौला कदका २४ वटा कथाहरु समावेश भएको कृति हो हवाईजहाजसँग उडेको मन । जहाँ उसको आँसु देखि समय अनुहारसम्म शिर्षकका कथाहरु रहेका छन् । सरल र सहज भाषाशैली उनका कथाका प्राण लाग्छन् । जीवनवोध,मानवीय मूल्य र मान्यता,विद्धता,नेपाली संस्कार र संस्कृति झल्काउने कथाहरुको प्रधानता छ यसमा । विषयगत रुपमा हेर्दा विविधता देख्न पाइन्छ ।
गरिवी र अभावमा पिल्सिएकाहरुको दैनिकी,प्रेम प्रसंग सहितका विषयमा पनि यहाँ कथा छन् । कुनैकुनै कथामा नविनता पनि झल्किन्छ । यस्ता कथाहरुमा हरेक दिन म गुडिरहन्छु,को होला मेरो बाबा ?घाम नडुब्दै जस्ता कथाहरु पर्दछन् ।
भन्नैपर्दा बस्तुपरक र घट्नापरक कथाहरुको बाहुल्यतामा अडेको छ कथासङ्ग्रह । हाम्रा शहरिया जीवनका दैनिकी र समस्याहरुले पनि कथामा स्थान पाएका छन् । महिलाका दुख,पीडा र भोगाइका कथाहरुमा नारी संवेदनशीलता नै मुखरित भएर आएका छन् ।
शब्द सामान्य पाठकले बुझ्नसक्छ । कथा आमपाठकले पढेर अथ्र्याउन सक्छ । अरुको भोगाइमा आफैं संवेदना पोखेर समाजनिष्ट कथा लेख्न सक्नु कथाकारको खुवी लाग्छ ।
जीवनबेली
विधा : कथासङ्ग्रह
कथाकार : स्व.कृष्णप्रसाद पराजुली

नेपाली भाषा साहित्यमा कृष्णप्रसाद पराजुलीको महत्वपूर्ण योगदान छ । उनले तीन दर्जन भन्दा बढी नेपाली भाषा साहित्यका कृतिहरु हामीलाई दिएका छन् ।
जीवनबेलीमा समावेश कथाहरुले जीवनका फूल बनेका कथाहरु लाग्छन् । जीवनको लयलाई यहाँ समाबेश कथाहरुले ब्याख्या गरेका छन् । सामाजिक समाजका उपज नै कथाका विषय बनेका छन् ।जीवनका विभिन्न प्रसँगहरुको जीवन्त प्रतिबिम्ब हो यो । पराजुलीको साहित्यिक जीवनका प्रारम्भिक कालमा लेखिएका कथाहरु यसका बढी छन् । हाम्रा दैनिकीहरुको फेहरिस्त लाग्छन् कथाहरु ।
विषयगत विविधताका अठार थान कथाहरुले जीवनबेलीमा स्थान पाएका छन् । कथाहरु मझ्यौला आयाममा रहेका छन् ।
सरल भाषाशैली पराजुलीका कथामा पाइन्छ । सामाजिक पृष्ठभूमिका उनका कथाहरु सलल बग्ने नदी जस्ता छन् । मीठो भाषा,सामान्य पाठकले बुझ्नसक्ने सरल शब्दहरुले कथालाई सजीवता प्रदान गरेको छ ।
यो कथासङ्ग्रह साहित्य संगम,वारणासीले २०५८ मा प्रकाशनमा ल्याएको हो ।