
काठमाडौैँ । त्रिभुवन विश्वविद्यालय(त्रिवि) केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विश्वविद्यालयका नियुक्तिहरूमा राजनीतिक हस्तक्षेप र दलगत भागबन्डा हुन खोजेको भन्दै आपत्ति जनाएको छ।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले रास्वपाको झण्डा बोकेको वा भोट मागेको व्यक्तिलाई नियुक्तिमा १ नम्बर थप्ने भनी दिएको अभिव्यक्तिप्रति स्ववियुले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
रास्वपा महामन्त्रीको नियुक्तिमा १ नम्बर थप्ने अभिव्यक्तिले विश्वविद्यालयलाई रास्वपाकरण गर्न खोजिएको आशङ्का स्ववियुले व्यक्त गरेको छ।
स्ववियुले विश्वविद्यालयको स्वायत्तता र योग्यता प्रणालीको मर्ममाथि प्रहार भएको भन्दै नियुक्ति प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने माग गरेको छ।

‘यस्ता अभिव्यक्तिले त्रिविमा उपकुलपति लगायतका विभिन्न पदाधिकारीहरूको नियुक्ति प्रक्रियामा समेत सत्तारूढ दलको अनुचित हस्तक्षेप बढाई विश्वविद्यालयलाई रास्वपाकरण गर्न खोजिएको आशङ्का उब्जाएको र यसले सक्षम एवं इमानदार व्यक्तिहरूलाई निरुत्साहित गर्ने’ स्ववियु अध्यक्ष दिपक राज जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
हामन्त्री बुर्लाकोटीको अभिव्यक्तिले विश्वविद्यालयको स्वायत्तता र मेरिटोक्रेसी (योग्यता प्रणाली) को मूल मर्ममाथि गम्भीर प्रहार गरेको ठहर गर्दै स्ववियुले उक्त अभिव्यक्तिको घोर निन्दा गरेको छ ।
