कविता
छोरीको जन्मदिनमा —
डा. अनन्त अधिकारी
छोरी, जब तिमी आयौ यो सिङ्गो धर्तीमा
मेरो आधा आकाशले
अर्को धर्ती जन्मायो
चरक्क चिरिएर कोख, उम्लियो मातृत्व
असह्य पीडा पनि बदलिएथ्यो
एउटा मिठो मुस्कानमा।
जब तिमी रोएकी थियौ पहिलो पटक
तिम्री आमाका नयन र यो बाबाका
अधीर आँखा
एकापसमा ठोकिने बित्तिकै
खुसीका आँसु बनेर सजल बगेका थिए
तिम्रो त्यो प्रिय आगमनको उत्सवमा।
प्रिय छोरी !
तिमी जन्मिएको त्यो पात्रो
अझै जस्ताको तस्तै छ सिरानीमा
न्वारनको तिलक सुरक्षित छ बट्टाभरि
अनि तिम्रो झरेको नाभि सुरक्षित राखेको छु
फर्मालिनको सिसीमा।
तिम्रा हरेक यादहरूले
आँखा खोल्दा होस् या निदाउँदा
हर्दम माया बर्साइरहन्छन्
हृदयभरि स्नेह सँगालेर तिमी भूगोलको
अर्कै गोलार्धमा छौ
आफ्नो भविष्यको सुन्दर खोजीमा
हामी धराको यो छेउमा छौँ
हरपल तिम्रो मङ्गल कामना पुकार्दै
र तिम्रो फिर्तीको मीठो पर्खाइमा।
हामीसँगै छ तिम्रो त्यो दिव्य आभा
जसले सिङ्गारिरहेछ हर्दम
हाम्रो यो समस्त परिवारको कलेवर।
छोरी, तिमी आज
बाबा-आमाको काखबाट सुदूर छौ
तर पनि सुरक्षित छौ
यता त आजकल
कठिन पलहरू झेलिरहेका छन्
हामीजस्तै थुप्रै आमा-बुबाहरूले।
दिनदिनै चिथोरिएर शरीर त्यागिरहेछन्
यहाँ थुप्रै चेलीहरूले।
अखबार र पर्दामा अचेल छोरीहरूकै
खबर आउँछन्
किशोर वयमै पापीहरूको पासोमा
पारिएका खबरहरू
झिर रोपिएका क्रूर किस्साहरू
ती बनावटी होइनन् छोरी,
ती त कलिला मुनाहरूमाथिका प्रहार हुन्।
भो, धेरै सुनाउँदिन तिमीलाई
हजारौँ कोख रित्याउने दैत्यहरू
यतै छन् भनेर
थाहा छैन, यो भूगोलका आमा-बाबुले
यो वर्ष मनाएको छोरीको जन्मदिन
अर्को वर्ष मनाउन पाउँछन् या पाउँदैनन्!
छोरी, तिमी अर्कैको तर सुरक्षित देशमा छौ
त्यसैले त हामी यहाँ ढुक्कले
मनाइरहेका छौँ तिम्रो यो सुन्दर जन्मदिन।
प्रिय छोरी, आशा छ –
हामीले पठाएका यी
आशीर्वादका गुच्छाहरू
‘ह्याप्पी बर्थ-डे’ को धुनसँगै
तिमीसामु पुग्नेछन्
र पुग्ने बित्तिकै तिमीले एउटा वाचा गर्नेछौ –
”बाबा,
म भविष्य खोज्दै अर्काको देशमा भए पनि
भेटिने बित्तिकै फर्किनेछु आफ्नै भूगोलमा
अनि होमिनेछु त्यो आन्दोलनमा-
जसले सिध्याउने छ छाउपडीमा हुने
चेलीका मृत्युहरू
जसले डाँडो कटाउने छ बालिकामाथिका
गिद्धे नजरहरू
जसले केस्रा-केस्रा केलाउने छ अपराधी
जोगाउने ती धारा र दफाहरू
अनि लेखिनेछ एउटा यस्तो
स्थापित काव्य-
जहाँ महिलामाथि कुनै अत्याचार हुने छैन
जहाँ काजोल खातुनहरूले जल्नु पर्ने छैन
र निर्मलाहरूले अनाहकमा मर्नु पर्ने छैन।
” प्रिय छोरी,
एउटा भाग्यमानी बाबाको तर्फबाट
तिम्रो जन्मदिनमा तिमीलाई
मुरी मुरी आशीर्वाद र अनन्त शुभकामना !!