
कृति : सुर्तीको पातमा झुण्डिएको जीवन
कृतिकार : शङकर कोइराला
विधा : कथासङ्ग्रह
सुर्तीको पात हुँदै अतीत र वर्तमान सम्म गरी यो कृतिमा ५६ वटा कथाहरु समावेश भएका छन्।
जीवनका अवयेवहरुको समेटिएका साङ्गोपाङ्गो भावहरु अभिव्यक्त कथाहरुको यसमा वाहुल्यता छ । जीवनका विविध यथार्थहरुलाई पर्गेलेर कथा लेखिएका छन् । कथामा बदलिँदो समयका परिवेशहरु गहन रुपमा चित्रण गरिएका छन् । दैनिक रुपमा हामीले भोगेका घरेलु समस्याका विषय,सामाजिक समस्याका विषय,जिन्दगी जिउन गरिएका दुखकष्ट र संघर्ष वरिपरि कथाहरु घुमेका छन् । कथाहरुले सामाजिक विषमताका कुराहरु उजागर गरेका छन् ।
छोटा कद,मीठासपूर्ण भाषा,हाम्रै परिवेश,हाम्रै भाव अभिव्यक्त कथाहरु पढ्न आनन्द आउँछ । दुर्वाेध्यताको शिकार बनेका छैनन्, कथाहरु सुबोध्य छन् ।
नेपाल प्रज्ञा –प्रतिष्ठानले प्रकाशित गरेको सुर्तीको पातमा झुण्डिएको जीवन विं.सं.२०४२ सालमा प्रकाशित भएको हो ।
कृति : हरि अधिकारीका कविता
विधा : कवितासङ्ग्रह
कवि : हरि अधिकारी
कवि अधिकारीको लेखन शैली आफ्नै छ । उनले यौनबिम्बहरु प्रयुक्त गरि बलशाली कविता लेखेका छन् । मानवीय पीडालाई प्रतिकात्मक ढंगले लेख्न सक्ने सामथ्र्य राख्छन् । यस कृतिका कविताहरु पनि त्यतैतिर लक्षित छन् । नारीका संवेदनाहरु खोतल्ने उनको प्रयास छ । नेपाली नारीका विभिन्न पक्षहरुमा उनका कविता आएका छन् । प्रेम,मान्छेका हीन भावना,सम्बन्धका अनेकाने आयाम,भुइँमान्छेका पीडा,गरिवीका कारुणिक भाव,काठमाडौका गल्लीको चित्रण,गाउँका दुरावस्थाको वर्णन छ । उनले कवितामा कवि मोहन कोइराला सम्झिएका छन् । यसमा हिजोको दशबर्षे द्धन्दकालीन समाजको चित्रण पनि छ । यी लगायतका यावत विषयवस्तुमाथि घोत्लिएका सुन्दर बलशाली ३५ वटा कविताहरु यस कृतिमा समावेश छन् ।
कविताहरु सरल छन् । छरिता छन् । समसामयिक दृष्टिचेतको अभिव्यक्ति बनेर आएका छन् । सुन्दर बिम्बायुक्त,प्रतीक र मिथकको उपयुक्ततापूर्वकको प्रयोगले कविता उस्तै सुन्दर देखिएका छन् । उनमा उज्यालोको तीव्रतर चाह छ भन्ने कविताले बोल्छन् ।
यो सुन्दर कविता कृति हरि अधिकारीका कविता साझा प्रकाशनले २०६३ सालमा प्रकाशित गरेको हो ।
‘
कृति : महर्षि याज्ञवल्क्य
विधा : नाटक (पूर्णाङ्की)
नाटककार : सत्यमोहन जोशी
प्रस्तुत नाटक बेदान्त दर्शनमा आधारित भएर सृजना गरिएको छ । नेपालको प्राचीन समयका पूर्वाञ्चलमा जन्मिएका महर्षि हुन् याज्ञवल्क्य जो विलक्षण प्रतिभाका धनी थिए । मिथिलामा जन्मेका उनी सूर्यदेवको उपासना गरी स्वाध्यायनले विलक्षण विद्धता भएका दार्शनिक भएर निस्केका थिए । उनको नाम याज्ञवल्क्य स्मृति र वृहदारण्य पनिषदमा छ । तिनै महर्षिको दिग्दर्शन गराउँछ नाटकले ।
यसमा सत्यमोहन जोशीको दर्शनसम्बन्धी अध्ययनको प्रतिबिम्ब झल्केको छ । याज्ञवल्क्यका दुई धर्मपत्नी मैत्रेयी र कात्यायनी समेत नाटकमा जोडिएका छन् । यसमा याज्ञावल्क्यको चरित्रलाई असाध्यै सुन्दर र मिहिन ढंगले नाटकमा चित्रण गरिएको छ । यसमा उनका छोरीहरु,छोराहरु,राजा जनकका मूल गुरु,मुनी,लगायतका तीसौं पात्रहरु यसमा जोडिएको छ । बेदान्तभित्र दर्शन यसमा पाइन्छ ।
वि.सं.२०२८ सालमा पहिलो पटक प्रकाशित यो कृति पठनीय छ ।







