
फर्पिङ,काठमाडौं । नेपालको ऎतिहासिक पहिलो जलविद्युत उत्पादन गृह फर्पिङको पानीपोखरीमा पर्यटन विषयमा दर्जनौं कविहरु सुनिए ।
सुसेली साहित्यिक प्रतिष्ठान, शब्दाङकुर, वर्तमान कविता समूह र शब्दपथले आयोजना गरेको कार्यक्रममा स्थापित कविहरूको उपस्थिति रहेको थियो ।
कविहरू कृष्ण कँडेल , विश्व सिग्देल , चन्द्रबहादुर लामा , कृष्णकुमार श्रेष्ठ , गोविन्दबहादुर खड्का , चन्द्रलाल तामाङ , विनोद खत्री , दीपक लोहनी , धन्वन्तरी मिश्र , नवीन्द्रराज पाण्डे , नारायण तिवारी , प्रमोद प्रधान , बालकृष्ण श्रेष्ठ पासा, मुरारि सिग्देल , रजनी खत्री , रमेश बलामी , राजेन्द्र शलभ, रामगोपाल आशुतोष , अच्युत घिमिरे , राजाराम राउत, विधान आचार्य , विश्वनाथ वाग्ले , विश्वविमोहन श्रेष्ठ , विष्णुविभु घिमिरे , शेखर अर्याल , सञ्जय सुमन , सविता केसी बोहरा , सरिता बलामी , सुभाषचन्द्र पौडेल भीमफेदीया, सुशान्त केसी , स्नेही शिव, रामराजा केसी , धीरकुमार श्रेष्ठ , रमी प्रिया, डा शेखरकुमार श्रेष्ठ , भोगेन्द्र लिङ्देन र किशोर पहाडीले रचना वाचन गरेका थिए ।
पर्यटन विषयमा वाचन गरिएका कविताहरू शब्दाङकुरमा अंग्रेजीमा अनुवाद गरी प्रकाशन गरिने आयोजकले जानकारी गराएका थिए ।
आयोजक संस्था शब्दपथका प्रधान सम्पादक किशोर पहाडीले आफ्नो मन्तव्य व्यक्त गर्दै भने – ‘आज मेरो एउटा सपना पूरा भयो । ऐतिहासिक स्थानमा स्रष्टा पदयात्रा सहित रचना वाचन गर्ने सपना केही वर्ष पहिलादेखि देखेको थिएँ। हाम्रो उमेरका मित्रहरू हिंडन गाह्रो मान्ने भएकाले सवारी साधनमै आएर भए पनि, चार विभिन्न संस्थाहरू मिलेर सम्पन्न गरिएकोमा खुशी लागेको छ’ ।
रचना वाचन गर्ने कविहरूलाई आयोजक समूहका किशोर पहाडी , रमी प्रिया, राजाराम केसी र राजेन्द्र लिङ्देनले मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रमपश्चात् कविहरूलाई स्थानीयले नेवारी समेबजी खाजाले स्वागत गरेका थिए भने कविहरूले ऐतिहासिक जलविद्युत गृह, स्मारकस्थल, राणाहरूको तत्कालिन विश्रामगृहको अवलोकन पनि गरेका थिए।
सभापति र प्रमुख अतिथि नराखी कार्यक्रम सञ्चालन सुसेली साहित्यिक प्रतिष्ठानका सल्लाहकार डा. शेखरकुमार श्रेष्ठले गरेका थिए ।
अलिअलि घाम, बतास लागिरहेको घमाइलो मौसम र सुन्दर प्रकृतिको रमणीय स्पर्श सहित कविता सुन्ने सुनाउने सबै स्रष्टाहरु मन्त्रमुग्ध भएका थिए ।राणा प्रधानमन्त्री चन्द्रशमशेरद्वारा निर्माण गरिएको चन्द्रज्योति नाम दिइएको विद्युत गृहलाई नेपालको पहिलो जलविद्युत गृह मानिन्छ।





