
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदै छ ।
यही साउन २६ देखि ६ दिनका लागि सुरु भएको मेलाको पाँचौँ दिन लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पोस्थल पुगिसकेका आयोजकको दाबी छ ।
शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका आयोजकले जनाएको छ । यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको सङ्ख्या एक लाख ५० हजार नाघेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले ६ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो ।
अटोसो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताए ।
एक्स्पोको उद्घाटनका दिन यही साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका आयोजकको तथ्यांक छ ।
मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । नयाँ–नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरूले अवलोकनकर्तालाई आफ्ना स्टलमा आकर्षित गरिरहेका छन् ।
अवलोकनकर्ताले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी/ग्यारेन्टी, रिसेल भ्यालूलगायतका विषयमा चासो राख्ने गरेका छन् । कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । मेलामा हालसम्म विभिन्न ब्रान्डले ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् ।


