
सुर्खेत । अविरल वर्षाका कारण जाजरकोटका विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । विपद्का घटनामा परी सातजना घाइते भएका छन् ।
भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी स्थानीय केदार कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी गम्भीर घाइते भएका कार्कीलाई उद्धार गरी उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
पहिरोमा परी भेरी नगरपालिका–२ फारुलाकी ५४ वर्षीया उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्कीसहित तीनजना बेपत्ता भएका छन् । बेपत्ता तीनै जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
बाढी तथा पहिरोमा परी सातजना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ भने दुईजनालाई थप उपचारका लागि सुर्खेत लगिएको प्रहरीले जानकारी दिएको छ ।
अविरल वर्षाका कारण भेरी नगरपालिका–२ को रिसाङ क्षेत्रसँगै वडा नम्बर ३ का स्याँला, माथिल्लो थाप्ले र ठाँटी क्षेत्र पनि जोखिममा परेका छन् । वडा नम्बर १ का पिपे, मैदे, डौरीकाँडा, घुयलनेटा र रावतगाउँका बस्तीसमेत बाढी तथा पहिरोको उच्च जोखिममा रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार आइतबार बिहानैदेखि प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ



