
काठमाडौं । बंगलादेशले घरेलु टोली अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा नौ विकेटको सानदार जित निकालेको छ ।
बंगलादेशले टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई दोस्रोपटक पराजित गरेको हो । यसअघि बंगलादेशले ९ वर्षअगाडि अस्ट्रेलियाविरुद्ध जित निकालेको थियो ।
यो जितसँगै बंगलादेशले दुई टेस्टको शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम टेस्ट अगस्ट २२ देखि म्याकेस्थित ग्रेट ब्यारियल रिफ एरिनामा हुनेछ ।
डार्बिनस्थित मरारा क्रिकेट मैदानमा अस्ट्रेलियाले प्रस्तुत गरेको ५७ रनको लक्ष्य बंगलादेशले मात्र एक विकेट गुमाएर पूरा गर्यो ।
बंगलादेशका मोमिनउल हकले अविजित ३० र शदमन इस्लामले अविजित २५ रन बनाए ।
अस्ट्रेलियाका लागि एक मात्र विकेट जोस हेजलउडले लिए ।
दोस्रो इनिङमा घरेलु टोली अस्ट्रेलियाले २८४ रन मात्र बनाउन सकेपछि बंगलादेशले ५७ रनको झिनो लक्ष्य प्राप्त गरेको थियो ।
दोस्रो इनिङमा अस्ट्रेलियाका क्यामरुन ग्रिनले १०४ रनको योगदान गरे । उनले २०४ बलमा चार चौका र एक छक्का प्रहार गरे ।
यसैगरी, स्टिभ स्मिथले ४४, मार्नुस लाबुसेनले ३१, मिचेल मार्शले १८, ट्राभिस हेडले १७ र नाथन लायोनले १५ रन बनाए ।
बंगलादेशका मेहदी हसन मिराजले पाँच, हसन मोहम्मदले तीन तथा तस्किन अहमद र ताइजुल इस्लामले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलिया पहिलो इनिङमा १९८ रनमै समेटिएको थियो । पहिलो इनिङमा ४५६ रन बनाउँदै बंगलादेशले २२८ रनको अग्रता लिएको थियो ।


