
कविता
उदास साँझ
शुषमा चित्रकार
सायद, यो साँझ पनि उदास छ
बाटाका छेउ उम्रिएका
जंगली झ्याङ्गमाथि
अड्किन थालेका अन्धकारका टुक्राहरू
मौन छन्
पातहरु हल्लिएका छैनन्
बोटमा ओइलिएका केही फूलहरु
सुस्त, सुर्ताएका जस्ता मलिन
बतासमा कुनै सुसेली छैन
मानौं हावाका ती झोंक्काहरु
कुनै रुखपछाडि पर्खिरहेका छन्
अगाडि बढ्न कुनै सिटीको ।
पिपलको रुखमुनि
बाफिन नसकेको चिसो एकान्त
बिजुलीको तारमाथि एक्लो चरो
खै के कुरेको हो !
बिना आकृतिका धमिला बादल
आकासमाथि निस्चेत पल्टिएको छ
रंग फेर्दै गरेको पहाडको फेदतिर
बल्न थालेका
ती एकाध घरका मधुरा बत्तीहरु
जूनकिरी जस्ता टिलपिलाउँदा छन्
कोलाहल पर कतै थामिएको छ
न झ्याउँकिरीको कर्कस आवाज
न गुंड फर्कंदै गरेका पंछीका हल्ला
कुनै सरसराहट छैन, उष्णता छैन
बिना आवाजका यो निरवता पनि
कहिलेकाँही कस्तो कहाली लाग्दो !
सुनिंदै गरेका आफ्नै पदचाप
कुनै लय छैन उमङ्गको
बेस्वादिलो कुनै प्रसङ्ग बिना
त्यसै त्यसै अमिलो बनाइरहेछ मन
भन्न सक्दिनँ
आज म उदास छु या
संगसंगै हिडिरहेको यो साँझ ?
ललितपुर







