
१.
हाँसेर बिताउने जीवन सधैं रुनु किन होला
अर्काको संघर्षले कमाएको छुनु किन होला
परिवार आफ्नो हो तर विस्वासमा अडेको हुन्छ
जथाभावी गरेर जतासुकै झुटा हुनु किन होला ?
२.
आमा तिम्रा पालाका कुरा सुनेर रुन मन लाग्छ
हिजोआज दुःखका आँसुले आँखा धुन मन लाग्छ
समय छिटो बदलिँदो रहेछ कहाँ राजा अनि नेता
परिश्रम गरेर खाँदाको दिन सम्झदा गुन्न मन लाग्छ
३.
सम्बन्ध थियो तिम्रो र मेरो कापीकलम जस्तै
चोट लाग्दा आँसु झार्थ्यौ बट्टाको मलम जस्तै
निको हुन बेर लाग्दैन थियो तिम्रो हाँसो पाउँदा
कतै जाँदा लुकेर हेर्थ्यौ कतै छलम जस्तै ।
४.
आँखामा खड्किरहेछ आफ्नो मान्छेको खुशी हेर्न
जिन्दगीको गोरेटोमा सदाचार भएर अंगालोमा बेर्न
सकिँदैन जिन्दगी सजिलै दुःख सुखको पहिरोमा
सधैभरी कहाँ सकिन्छ र पीर ब्यथालाई राखेर घेर्न ।
५.
नहेर न कर्के नजरले आँखामा धुलो पस्न सक्छ
भोलि तिमी परदेश जान्छौं कतै आँसु खस्न सक्छ
धेरै कमाएर समाजलाई देखाउ है भन्न पनि सक्दिन
पीडाले मुटुमा चुडिएका नसाले सजिलै कस्न सक्छ।
झापा








