
कविता
शशीश्री आचार्य
आमा तिमी नरोई बस है!
आमा तिमी नरोई बस है!
म पुन आउँछु तिम्रो आँसु पुछ्नलाई
कति पीडा हुँदो हो है तिमीलाई
एक्लै केवल एक्लै चुलोचौको गर्नलाई
आमा तिमी नरोई बस है!
यताको खबर खै के भन्नु आमा तिमीलाई
घाम नढलुन्जेल सम्म पसिना बगाउँछु
संध्याले बिस्कुन सुकाए पछि आफ्नो बासस्थान आउँछु
सके भोजन बनाउँछु नसके थकाइले निदाउँछु
यसो बसौं भने तिम्रो काख छैन
विश्राम गर्नलाई
आमा तिमी नरोई बस है!
सबेरै मिर्मिरेमा हिड्छु कर्म गर्नलाई
भोक लाग्यो कि भनेर सोध्ने कोही छैन यहाँ मलाई
नत तिम्रा ति कोमल हात छन् मेरो आँसु पुछ्नलाई
आमा तिमी नरोई बस है!
कोल्टे फेर्दा असजिलो हुँदा कोही छैन यहाँ मेरो तकिया फेर्नलाई
गर्मीले टाउको फुट्ला जस्तो हुँदा पनि धाउनुपर्छ यहाँ कर्म गर्नलाई
ठूलाठूला पहाड जत्रा फलामले बजार्छन् यहाँ मलाई
मरीमरी काम गर्दा पनि मालिक आउँछ कराउँनलाई
आमा तिमी नरोई बस है!
के गर्नु नगरी पनि भएको छैन मलाई
साहुको ऋणले कत्ति पिरल्दो होला तिमीलाई
सुकाएको बिस्कुन साहु आउँछ होला उठाउँनलाई
बारीको डल्ला फोर्दा कति थकाइ लाग्दो होला तिमीलाई
आमा तिमी नरोई बस है!
बेसींमा कस्तो धान फल्छ भन्नु है मलाई
मेरी प्यारी सानुले सघाउँछे कि सघाउँदिन तिमीलाई
भनिदिनु म कोसिस गर्दैछु धेरै पैसा कमाउनको
आमा तिमी नरोई बस है!
साच्चै नालाको पानी कहाँ सम्म पुग्यो आमा
चटारो पर्यो होला बारीमा पानी लाउनलाई
बर्खामा पानी चुहिदो होला नि!आमा
पख म आउँछु घर छाउँनलाई
आमा तिमी नरोई बस है!
रातले सुइँकुच्चा ठोक्यो नि!आमा
अब म यसो पल्टन्छ है निदाउनालाई
भोलि सबेरै जाग्नु छ कर्म गर्नलाई
लत आजलाई बिदा भएँ है आमा
पछि कुरा गर्छु है!
आमा तिमी नरोई बस है!








