
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठुला दलको सहकार्यमा रहेको वर्तमान सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका छन् ।
उनले प्रचण्ड विरुद्ध लक्षित गर्दै सरकार चाँडै ढल्छ र सरकार निर्माण नै अप्राकृति छ भन्ने प्रचण्डको भनाई प्रति कटाक्ष गरे । कसैले नि भ्रमको खेती नगरे हुन्छ भन्दै ०६४ सालको जस्तो जनता सधैं नझुक्किने धारणा व्यक्त गरे ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै उनले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै देश विकासको गति बढाउने बताएका हुन् ।
उनले भने, ‘अब नेपालमा विकासको क्रममा अगाडी बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभईकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठुला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ । सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली काँग्रेस र नेकपा (एमाले)ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ ।’
उनले पूर्व सहमतिअनुसार अहिले आफूले काँग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि काँग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट पारे ।
उनले संसदको हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने बताए ।
उनले आफ्नो स्वास्थ्यलाई मजाक नबनाउन पनि चेतावनी दिए ।ओलीले आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलामा तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएको पनि टिप्पणी गरेका छन् ।
‘मलाई रुघाखोकी लागेको हो । एन्टीबायोटिकले अलि कमजोर बनाएको छ तर हाँच्छ्यू गरेको देख्यो भने आइसियु कक्षमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन् । तपाईले देख्नु भएको छ अहिले म कहाँ छु । भ्रमको खेती गर्नेलाई केही गर्न सकिँदैन् ।’प्रधानमन्त्री ओलीले भने ।
उनले प्रचणडले जातीय विभाजनको काम गरेको आरोप लगाए । प्रधानमन्त्रीले सबै जोड्दा पनि प्रतिपक्ष बलियो नभएको भन्दै देशका हितका लागि सुझाव दिन आग्रह समेत गरे ।
यसको साथै, सरकारको विरोध गर्ने नाममा सिमित संख्या भएकाहरुको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरुको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे ।
‘स्वीस बैंकका लगानी गरेर भौचर भन्दै निकाल्छन्,हुँदाहुँदा कम्बोडियामा थोरै हो र ३२ अर्व लागनी छ भनिदिन्छन् । चिर्कटो बनाएर अर्कालाई बोल्न लगाउने,अनि प्रहरीले पक्रिएर सोध्दा होइन अर्कैले बोलेको भन्ने।’ यस्तो भ्रमले राजनीति नगर्न पनि उनले भने । स्वस्थ प्रतिष्पर्धा गर्न प्रधानमन्त्रीले जोड दिए ।
उनले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतङ्कको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह पनि गरेका छन् ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापा, पूर्वमन्त्री महेश बस्नेत, नगरप्रमुख वासुदेव थापालगायतले राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणमा मिलेर काम गर्नुपर्नेमा जोड दिए ।




