काठमाडौं । आख्यानकार दाजु गुरुङको उपन्यास ‘निरजोया’माथि विमर्श सम्पन्न भएको छ ।
यस अघि दुई कथाकृति प्रकाशित गुरुङको यो पहिलो उपन्यास हो ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपन्यासकार अनिता कोइरालाले कृतिमाथि पाठकीय टिप्पणी गरिन् । उनले ‘निरजोया’मा मुगलान जाने प्रवृत्तिलाई प्रस्तुत गरिएको बताइन् । मलेसियाका श्रमिकको जीवन सचित्र भएर उपन्यासमा आएको उनले उल्लेख गरिन् ।
समीक्षक हेम भण्डारीले ताप्लेजुङको पात्र, मलेसियाको कर्म, मले समाजमा नारीको अवस्था, निरोज र जोयाको लिभिङ टुगेदरमा बस्दै आएको जीवनबारे चर्चा गरे । उपन्यासमा सांस्कृतिक अन्तरघुलनको विषय पनि प्रकट भएको उनले बताए । उनले प्रवासमा बस्ने नेपालीको पीडा उजागर गर्न उपन्यास सफल भएको बताए ।
‘कलमका साथी’द्वारा आयोजित कार्यक्रममा उपन्यासकार दाजु गुरुङ, गीता रेग्मी र भारती न्यौपानेले कृति र कृतिकारका बारेमा बोलेका थिए ।