
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भावनाको कुराले मात्रै कम्युनिस्टबीच एकता सम्भव नरहेको बताएका छन् ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो भनाइ राखेका हुन् । एकताको लागि पहिला मन मिल्नुपर्ने भनाइ सहसंयोजक नेपालको छ ।
उनले मदन भण्डारीको अभिव्यक्ति उद्धृत गर्दै भने, “कुराले चिउरा भिज्नेवाला छैन । चिउरा भिजाउनका लागि कि त दही नै चाहिन्छ कि त दूध नै चाहिन्छ ।”
नेपालले वर्तमान यथार्थताको धरातलमा टेकेर मिल्न सकिने कुराहरूमा मिलेर अगाडि बढ्नुपर्ने बताए । उनले विगतका विसंगतिको आत्मसमीक्षा गर्नुपर्ने पनि बताए । आत्ममन्थन नगरी सही निष्कर्षमा पुग्न नसकिने उनको भनाइ थियो ।
“एउटा पार्टीको निम्ति मात्रै होइन, नेपालका जति पनि कम्युनिस्ट घटकहरू छन्, ती सबैले आ–आफ्नो पार्टीभित्र आत्ममन्थन गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ,” नेपालले भने, “त्यो आत्ममन्थन गरेर सही निष्कर्षमा पुग्न सक्यौँ भने बल्ल कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन सकिन्छ । नभए भावनाको कुरा गरेर मात्र हुँदैन ।”