
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई मात्रै नभई लोकतन्त्रलाई नै लक्षित गरेर सिध्याउने गरी भदौ २३ र २४ मा षडयन्त्र भएको दाबी गरेका छन् । मदन भण्डारी फाउन्डेसनले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन् । उनले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गरिएको दाबी गरे ।
“अहिले नेपालको वामपन्थी आन्दोलनलाई मात्रै होइन लोकतन्त्रलाई टार्गेट गरेर त्यसलाई नै सिध्याउने गरी भदौ २३ र २४ को प्रतिगामी षडयन्त्र भयो,” कार्यक्रममा ओलीले भने, “त्यो षडयन्त्रले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गर्यो । यो लोकतन्त्र हुनै सक्दैन । लोकतान्त्रिक आन्दोलन हुनै सक्दैन ।”
लोकतान्त्रिक सरकारलाई बलजफती विस्थापित गरिएको भनाइ ओलीको थियो । सरकार बनाउने, अपदस्थ गर्ने, फेर्ने सबै काम संसद्बाट हुनुपर्ने बताउँदै ओलीले भने, “तर बलजफती भंग गरियो । वैधानिक सरकार ढालेर अवैधानिक सरकार गठन गर्न पाइँदैन ।”
उनले मन्तव्यकै क्रममा भने,’प्रधानमन्त्रीले रास्वपा महाधिवेशनमा बोलेपछि कतिपयले संसदमा दिएको अभिव्यक्ति खण्डित भएको व्याख्या गरेको भन्दै ओलीले प्रधानमन्त्रीको सीमारेखा अभिव्यक्ति खण्डन भएको छैन्।’
‘हामीले छिमेकी भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं अरे, कति झुट। कति निराधार कुरो। कति देश विरोधी कुरो,’ मदन भण्डारीको ७५ औं जन्मजयन्ती समारोहमा उनले भने, ‘अस्ति चितवनमा गएर लिपुलेक र कालापानी हाम्रै हो भनेपछि हामीले थुप्रै ठाउँमा सीमा मिचेका छौं भन्ने अभिव्यक्तिको खण्डन भयो भन्ने विद्वानहरू फेरि निस्किए। कहाँ खण्डन भयो। लिपुलेक र कालापानी नेपालको हो भन्नेमा संसदमा विवाद भएको होइन। नेपालले थुप्रै ठाउँमा सीमा मिचेको छ भन्ने कुरामा विवाद भएको हो। जुन कुरा खण्डन गरेको छैन। अर्को मन्त्रीले जबाफ दिएर खण्डन भएन।’