
नम्रता उप्रेती (निराश्रित)
१.
मनको वागमा फूलको वासना नचलेको धेरै भयो
खुसीको पाइलो आँगनमा आइ नबसेको धेरै भयो
सम्बन्धका पर्खालहरू मजबुत बनाउन अलि वर,
गतिलो साइनो विश्वासको छेउ नसरेको धेरै भयो ।
२.
खुसीको लामो लहरो त समाउन पाइनँ मैले
लुकाइ राख्न मात्र सकेँ देखाउन पाइनँ मैले
सम्झनामा सीमित ती प्यारका मीठा भाकाहरू,
गुनगुनाएँ मीठो स्वरमा सुनाउन पाइनँ मैले ।
३.
बग्दै गएँ भावनाको निक्कै गहिरो नहरमा
अटाईन कहिल्यै पनि खुसीको लहरमा
मायाको त्यो तँछाडमछाड, हेर्दछु भिडलाई,
सबै जसो एक्ला एक्लै देख्छु म शहरमा ।
४.
सबैका मीठा हुन्छन् रहर भन्नै पर्दैन
हर्षका मात्र आउँछन् लहर भन्नै पर्दैन
म यहीँ छु नजिकै तिमी त्यहीँ नै छौ,
भेट नहुँदैमा एक्लो छ शहर भन्नै पर्दैन ।
५.
मन जलेको मान्छे म पहिचान यस्तै छ
ल्याउँछ ठुलो आँधी हुरी तुफान यस्तै छ
जब जान्छु पाउमा पर्न फूल भेटी बोकी,
उठाउँछ मलाई सवाल भगवान यस्तै छ ।








