
कृति : विशुदाइ
विधा : कथासङ्ग्रह
कथाकार : किशोर पहाडी
किशोर पहाडी यथार्थलाई टपक्क टिपेर कथा लेख्ने सामाथ्र्य राख्छन् । यस विशुदाइभित्र त्यस्तै यथार्थवादी धारमा लेखिएका विषयगत विविधताका १९ थान कथाहरु समावेश गरिएका छन् । भूइँमान्छेका यावत समस्याका विषयमा कथा लेख्न रुचाउने कथाकारले स्कुल पढ्न जाने बच्चाको निम्ति कलम कापी जोहो सम्म गर्न नसकेको बाबुको मनोदशा चित्रित कथादेखि प्रवासी नेपालीका काठमाडौं पीडा सहित जीवन समाप्त गरेका दुखद प्रसंगका कथा पनि छन् । कमाउन नसक्नेहरुका मस्ती देखिएका कथा पनि यहाँ छन् । यस्ता कथाले हात्तीका दाँतको उदाहरण सार्थक देखाउँछ । आम भूँइमान्छे,तल्ला ओहदामा कार्यरत कारिन्दाहरुलाई माथिल्ला उपल्ला ओहदाकाले गर्ने व्यवहार कस्तो हुन्छ यसको चित्रण गरिएका कथा पनि यस कृतिमा छन् । जीवनका यावत भोगाइका कथा छन् यहाँ । मान्छेका दैनिकी र तिनमा आउने विभिन्न उतारचढाव,दुख सुखहरुले भरिएका कथा पढ्दा पाठकको मन द्रवित बन्छ ।
कतिपय कथा फ्यान्टासी लाग्छन् । उतिवेलाका कथामा नौलोपन आएको देखिन्छ । कथा सरल छन् । लम्बेतान छैनन् । मीठो भापाशैली,रोचकताका साथ कथानकतालाई पस्कने क्षमताले भरिएका छन् कथाकार किशोर पहाडीका कथाहरु । कुनै कथा संवादात्मक शैलीका छनु त कतै वर्णनात्मक शैली प्रयोग गरिएको छ । कलात्मकताको लेपन लागेका सुन्दर कथाहरुको कृति विशुदाइले साझा पुरस्कार समेत प्राप्त गरेको थियो ।
साझा प्रकाशनबाट पहिलो पटक वि.संं २०४५ सालमा विशुदाइ प्रकाशनमा आएको हो ।
कृति : इतिहासको यस घडीमा
विधा : कवितासङ्ग्रह
कवि : कृष्ण सेन इच्छुक
नेपाली पत्रकारिता र कविताको क्षेत्रमा अलग्गै पहिचान बनाएका व्यक्ति हुन् इच्छुक । तीसको दशकको उत्तराद्र्धदेखि कविता सृजनामा लागिपरेका कवि इच्छुकका ३१ वटा विभिन्न विषयका कविताहरुको संग्रह हो । आमभुँइमान्छेको पक्षमा राज्यपक्षका दमनको विरुद्धमा उनका कविता लक्षित छन् ।
मानवीय संवेदना र करुण भावहरु पनि कवितामा व्यक्त भएका छन् । उनले देखेभोगेका र अनुभूत गरेका कुराहरु उत्कृष्ट बिम्ब र शब्द सृजनाद्धारा कविता मार्फत ओकल्छन् । उनी निराशाबादी होइनन् त्यसैले आममान्छेलाई आशावादी हुन प्रेरित गर्छन् । उनका कविताहरु कम्यूनिष्ट राजनीतिक विचारले निर्देशित भएका छन् । यसैले कवितामा कहिंकहिं कोरा नारा देखिन्छ । तर पनि प्राय कविता जीवन्त लाग्छन् । मानबका हीतका पक्षमा देखिन्छन् । उनका कवितामा अनुभूतिको तिव्रता पाइन्छ । भावनात्मक रुपले भरिपूर्ण कविताहरु लयवद्ध पनि देखिन्छन् । भाषिक संरचनाका हिसावले पनि अब्बल देखिन्छन् । विचार दिन्छन् उनी कविता मार्फत ।
इतिहासको यस घडीमा कविताकृतिलाई अखिल नेपाल जनसाँस्कृतिक संघले पहिलो पटक वि.सं.२०५६ मा प्रकाशनमा ल्याएको हो ।
कृति : म फेरी फर्कन्छु
कृतिकार : विद्यासागर
कृति : उपन्यास
प्राचीन रोमको दास विद्रोहको वीरगाथामा आधारित यो ऐतिहासिक उपन्यास हो । त्यहाँको उतिवेलाको दास मालिक युगको क्रुर,विभत्स र दर्दनाक दृष्यहरु उपन्यासमा पढ्न पाइन्छ । स्पार्टाकसको नेतृत्वमा भएको दास विद्रोहको गाथा जानकारी लिन सकिन्छ ।
मानिस सहनशील प्राणी हो हामी सबैलाई थाहा छ । तर सहनुको पनि एउटा हद हुन्छ । हदभन्दा पर गएर मान्छेले सम्झौता गर्न सक्दैन् । विद्रोहमा उत्रन्छ अन्यायको विरुद्ध । संघर्षमा होमिन्छ । यसैगरी अन्याय विरुद्धका संघर्ष र आन्दोलनहरुलाई दमनले रोक्न,छेक्न र समाप्त पार्न सकिंदैन् । जस्तै क्रुर यातना पनि त्यतिवेला फिका हुन्छन्,नेल र हत्कडी अनि जेलका चार दिवार पनि तोडिन्छन् भन्ने सन्देश बोकेको छ यो उपन्यास। उतिवेलाको स्पार्टाकस र वारिनियाको गाथाको ऐतिहासिकतालाई स्मरण गराउँछ यो उपन्यासले र त भन्न सकिन्छ ऐतिहासिक उपन्यास हो यो ।
दासता विरुद्ध भएका संघर्षका गाथालाई यस उपन्यासले उधिनेको छ। यस उपन्यासले महिलाको सार्थक सहयोग विना कुनैपनि आन्दोलन सफल नहुने सन्देश समेत प्रवाह गरेको छ । आफ्ना पुरुषहरुलाई हातमा हात मिलाएर,जोश र हौसला प्रदान गरेर लागिएका विद्रोहहरु सफल भएको चर्चा गरिएको छ ।
मानवीयता,प्रेम,सहकार्य र सहयोगको भावनात्मक अनुभूति गराउँछ उपन्यासले । शोषणका विरुद्ध भएका आन्दोलन र संघर्ष सफल किन भएन भन्ने कुराको जानकारी र शिक्षा दिन पनि उपन्यास सफल देखिएको छ ।भन्न सकिन्छ उतिवेलाको रोमन दासप्रथाको विभत्स दृष्यलाई हाम्रो आँखा अगाडि देखाउन उपन्यास सफल छ ।
म फेरी फर्कन्छु उपन्यासलाई सर्वप्रथम मानव अधिकार संरक्षण मञ्चले वि.सं.२०४७ मा प्रकाशनमा ल्याएको हो ।








