
चर्चामा पुस्तक
हुरीको इन्द्रेणी उक्लेर
विष्णुविभु घिमिरे बौद्धिक छन् । नेपाली काव्य साहित्यमा उनको उपस्थिति लोभलाग्दो छ । सरल भाषामा समसामयिकतामाथि काव्य सृजना उनको विशेषता हो । हामी बाँचेको जीवन र जगत उनका कविताका विषय बनेर आएका छन् । मानवताबादको पक्षमा उनको कलम चलेको छ । कविताहरुले मानविय संवेदनालाई निकट बनाएर छोएका छन् । परिवर्तन घिमिरेको मनको अन्तस्करणको चाहना हो जुन कविता मार्फत पोखिएको छ।
कला र सौन्दर्यप्रति सचेत र चनाखो रहेका विभुका कविताहरु सौन्दर्यचेतले भरिएका,सरल भावभंगीमा लेखिएका छन् । सर्वसाधारणका खुशी उनका कविताका विषय बन्छन्। सकारात्मक समाजको अग्रगामी परिवर्तन उनका कविताका शिर्षक बन्छन् । देख्दा जति शालिन छन् त्यति ने लेखनीमा शालिनता प्रस्तुत गर्छन् । उनको कविताको विशेषता भनेकै जुन घट्नाले उनलाई छुन्छ त्यो कविताको विषय हुन्छ र नाटकीय तत्वको विद्यमानता रहेको छ । भन्न सकिन्छ जीवनसँग सम्बन्धित हर विषयले कवितामा ठाउँ बनाएका छन् । उनका कविता लामो आयुका देखिन्छन् । समाजलाई उनले बुझेर कविता सृजना कर्ममा लागेका छन् ।
४६ थान विषयगत विविधाका कविताह्ररुले यो कृति भरिएको छ । कविता लम्बेतानयुक्त छैनन् । मझ्यौैला आकारका छन् । सरल छन् । क्लिष्टता रत्तिभर छैन् । सुन्दर बिम्बप्रयुक्त गरिएका कविता छन् ।
हुरीको इन्द्रेणी उक्लेर लाई माया पब्लिकेसन प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।
ग्वँगचुलीको हिउँ
नेपाली साहित्यका विविध विधामा कलम चलाउँने तेजप्रकाश श्रेष्ठको नियात्रा कृति हो ग्वँगचुलीको हिउँ । सुन्दर,रहरलाग्दा पढुँम पढुँम लाग्ने नियात्राहरु यसमा समावेश छन् । उनी आफुले यात्राको क्रममा देखेभोगेका कुराहरुलाई नियात्रामा सजिव ढंगले पोख्छन् । यसमा नेपाली प्रकृति र संस्कृतिका २६ थान नियात्राहरु समावेश गरिएका छन् । नेपालको सुदुर पूर्वदेखि सुदुर पश्चिमसम्मका विभिन्न भूगोलहरु जहाँ जहाँ श्रेष्ठ पुगे ,त्यहाँ त्यहाँका भौगोलिक,सुन्दर प्राकृतिक दृष्यह्ररुको मनमोहक वर्णन छ नियात्राहरुमा । नेपालका विभिन्न जातजातिका संस्कार र संस्कृतिहरुको सदृष्य जानकारी छ पुस्तकमा ।
निजात्मक अनुभूतिमा बगेका नियात्राहरुले पाठकलाई मज्जैले तान्न सक्छन् । आफ्नै देशाटनको कुरा छ यहाँ । स्थानीयताले लछप्पै भिजेका भाषा र शब्दहरुको यथेष्ठ प्रयोग छ यहाँ । आफ्नै पाखापहरा,आफ्नै खोलानाला र झरनाको सुसेली शब्दमा अनुदित भएर लेखिएका नियात्राहरु पठनीय छन् । देश बुझेका नियात्राकार लाग्छन् पुस्तक पढ्दा ।
स्मृतिको तरेलीमा कृष्णप्रकाश श्रेष्ठ
पत्रकारिता र साहित्यलाई संगसंगै लिएर जीवनभरि सोही क्षेत्रमा निरन्तर अविराम नदी जस्तै लागेको व्यक्तित्व कृष्णप्रकाश श्रेष्ठकोे जिन्दगीका विभिन्न विषयहरुमा विभिन्न स्रष्टाहरुद्धारा स्मरण गरिएर लेखिएको छ । यति मात्र होइन नेपाली साहित्यलाई रुसमा प्रवेश गराउन असाध्यै मिहेनत गरे उनले ।दुई देशबीचको अन्तरसाँस्कृतिक परिवेशको सेतु पनि हुन् । अनुवादक हुन् । सम्पादक पनि हुन् । यस्ता बहुआयामिक व्यक्तित्वको बारेमा ्विभिन्न स्रष्टा सर्जकहरुले लेखेका कुराहरुले कृति भरिएको छ । यस कृतिमा ३० जनाले स्व.कृष्णप्रकाश श्रेष्ठको बारेमा सम्झनाका गुच्छाहरुले भरिएका विषयहरु यसमा छन् ।
कुनैवेला रुसका लागि अबैतानिक राजदुत थिए श्रेष्ठ । यस्ता विशिष्ठ व्यक्तिको बारेमा उनीसँग सम्पर्क ,सम्बन्ध रहेका ,सहकार्य गरेका व्यक्तित्वहरुले यसमा उनको विभिन्न विषयमा चर्चा गरेर उनलाई सम्झिएका छन् ।
यस्तो पठनीय कृतिलाई नेपाल रुस साहित्य समाजले प्रकाशनमा ल्याएको हो ।








