
समीक्षा
केटोः सुुदूूरपश्चिमेली किशोरका ६० किस्सा
जुुमन किरण
साहित्यप्रतिको रुचि र पढ्ने–लेख्ने शौखका कारण विभिन्न समयमा अनेकौँ किताबहरू मेरो हातमा आइपुग्छन् , कहिले आफैँले किनेर, कहिले कसैको स्नेहपूर्ण उपहारका रूपमा । यही क्रममा आर्डी भट्टद्वारा लिखित ‘केटो’ पनि मेरो हातमा परेको थियो ।
‘केटो’ इन्टर्नल पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित कृति हो । यसको पहिलो संस्करण २०८० मा प्रकाशित भएको हो भने पुस्तकको मूल्य रु. ४३० रहेको छ । विगत तीन दशकदेखि शिक्षण पेशामा संलग्न भट्ट लेखक मात्र नभई प्रेरक वक्ताका रूपमा समेत परिचित हुनुहुन्छ । उहाँ हाल काठमाडौंको पेप्सीकोलास्थित गेटवे एकेडेमीका संस्थापक प्रिन्सिपलका रूपमा कार्यरत हुनुहुन्छ ।
‘केटो’ पढिसकेपछि मलाई सबैभन्दा रोचक लागेको पक्ष यसको विधागत स्वरूप हो । नेपाली साहित्यमा कथा, उपन्यास, संस्मरण, निबन्धलगायत गद्यका विभिन्न विधाहरू स्थापित छन् । तर ‘केटो’लाई यीमध्ये कुनै एउटै विधाको चौघेराभित्र राखेर मात्र बुझ्न खोज्दा कृतिको सम्पूर्ण स्वाद समेटिँदैन । पुस्तकका केही अंशहरू पढ्दा कथा पढिरहेजस्तो लाग्छ, कतिपय प्रसंगले संस्मरणको अनुभूति गराउँछन्, अनि कतै पुग्दा उपन्यासकै संसारभित्र प्रवेश गरेजस्तो हुन्छ ।
‘केटो ः सुदूरपश्चिमेली किशोरका साठी किस्सा’ पढिसकेपछि मनमा उब्जिएका केही गन्थन–मन्थनलाई शब्दमा उतार्ने यो एउटा सानो प्रयास हो । यो कुनै औपचारिक समीक्षा होइन, न त पुस्तकको सम्पूर्ण मूल्याङ्कन नै। किताब पढ्दै गर्दा मनको कुनाकाप्चामा उम्रिएका केही अनुभूति र सम्झनाहरूलाई शब्दमा समेट्ने सामान्य प्रयत्न मात्र हो ।
कुनै पनि किताब पढ्दा सबैभन्दा पहिले त्यसले पाठकलाई तान्न सक्नुपर्छ जस्तो लाग्छ । किताब हातमा हुनु र किताबभित्र पस्नु फरक कुरा हो । कतिपय किताब हातमा हुन्छन्, तर मनसम्म पुग्दैनन् । पढ्नुपर्ने बाध्यताजस्तो लाग्छ । तर ‘केटो’ले मलाई सुरुदेखि नै तानिरह्यो। एउटा किस्सा सकिएपछि अर्को किस्सातिर मन आफैँ पुगिरह्यो ।
यस पुस्तकमा साठीवटा किस्सालाई छुट्टाछुट्टै शीर्षक दिएर प्रस्तुत गरिएको छ । पहिलो किस्सा ‘पहिचान’बाट सुरु भएर अन्तिम किस्सा ‘अन्तिम कक्षा’मा पुगेर टुङ्गिन्छ । ‘पहिचान’ आफैँमा अर्थपूर्ण सुरुआत लाग्छ—आफू केटो हुनुको पहिचान, केटो हुनुका अनुभूति र कताकता त्यसैप्रतिको पछुतो पनि । यहीँबाट लेखकले पाठकलाई आफ्नो बाल्यकालको संसारतिर डो¥याउन थाल्नुहुन्छ ।
बाल्यकालमा ठूलो भएपछि के बन्ने भन्ने सपना त सायद हामी सबैले कुनै न कुनै रूपमा देखेका हुन्छौँ । लेखकको ड्राइभर बन्ने सपनाले मलाई पनि आफ्नै बालापनतिर फर्काइदियो । म पनि सानो छँदा सोच्थेँ—ठूलो भएपछि गाडी किन्छु, आफैँ गाडी चलाएर घरको आँगनमा ल्याउँछु अनि बाबा–आमालाई काठमाडौं घुमाउन लैजान्छु। आज सम्झँदा त्यो सपना कति सरल थियो, तर त्यही सरलताभित्र बालमनको संसार कति ठूलो रहेछ भन्ने महसुस हुन्छ।
सायद ‘केटो’को सुन्दरता पनि यहीँ छ। यसभित्रका बालापनका किस्साहरू पढ्दै जाँदा पाठकलाई कतै न कतै आफ्नै बाल्यकाल भेटिन्छ। कुनै घटना आफ्नैजस्तो लाग्छ, कुनै कल्पना आफ्नै बालमनले कहिल्यै गरेकोजस्तो लाग्छ । ‘सायोनारा जापान’ र पानसँग जोडिएको प्रसंग पढ्दा पनि मलाई आफ्नै बाल्यकालको एउटा भ्रम सम्झिएँ । जापानमा पान धेरै पाइन्छ होला भन्ने लाग्थ्यो । पछि थाहा भयो—त्यस्तो रहेनछ । बालमनले संसारलाई आफ्नो कल्पनाले कति सजिलै पुनःनिर्माण गर्दोरहेछ ।
त्यस्तै प्रधानमन्त्रीको घरसँग जोडिएको प्रसंग पनि निकै रमाइलो लाग्यो। टाढाबाट प्रधानमन्त्रीको घर देखेपछि साथीहरूलाई ‘मैले प्रधानमन्त्रीको घर देखेको छु’ भनेर गफ लगाउन पाउने त्यो बालसुलभ गर्व र उत्साह कति स्वाभाविक थियो होला! आज हामीले सामान्य ठान्ने कुराहरू त्यतिबेला बालमनका लागि ठूलाठूला उपलब्धि हुन्थे।
तर किताबमा मलाई सबैभन्दा धेरै रोकिएको ठाउँहरू भने ती हुन्, जहाँ सामान्य बालसुलभ जिज्ञासाबाट जीवन र सृष्टितिर जाने प्रश्नहरू जन्मिन्छन्।
‘भगवानले आफैँलाई देख्न सक्ने किन बनाएनन् ?’
कति सरल वाक्य ! तर यसको गहिराइ कति धेरै । भगवान्ले मान्छे बनाए, हामीलाई बनाए, संसार बनाए—तर आफूलाई आफैँले देख्न सक्ने बनाएनन् । यो प्रश्नको व्याख्या गर्न खोज्दा शब्दहरू नै अपुग लाग्छन् । एउटा बालमनको सामान्य जिज्ञासाले दर्शनको यति गहिरो ढोका खोलिदिन्छ भन्ने कुरा आफैँमा सुन्दर लाग्छ ।
अर्को ठाउँमा आउने—रुखहरू पनि हिँड्न सक्ने भए के हुन्थ्यो होला भन्ने कल्पना पनि त्यस्तै रमाइलो छ। साँच्चै, यदि यत्रा ठूला रुखहरू आफ्ना हाँगा–बाँगा लिएर हिँड्न सक्थे भने संसार कस्तो हुन्थ्यो होला? बाटोमा हिँड्दा एकअर्काका हाँगामा अल्झिएर कस्तो फसाद पथ्र्यो होला ! तर यही कल्पनाले अन्ततः एउटा सरल सत्यतिर पु¥याउँछ—सृष्टिले जसलाई जस्तो बनाएको छ, सायद त्यही नै सुन्दर व्यवस्था हो ।
बालापन भनेकै यस्तै रहेछ—जिज्ञासा, कल्पना र उपट्याङको एउटा अनौठो संगम ।
माछा मार्न जाँदा सर्प समातेर हातमा बेरिएको किस्सा पढ्दा पनि बाल्यकालका ती दुस्साहसपूर्ण खेलहरू सम्झना आउँछन् । त्यतिबेला जोखिमको हिसाब हुँदैनथ्यो, हुन्थ्यो त केवल कौतूहल र साथीहरूबीच आफूलाई केही फरक देखाउने रहर ।
दुई रुपैयाँको नोट भेट्टाउँदाको खुसी र त्यो खुसी अरूलाई भन्न नपाउँदाको छटपटी पनि बालापनकै छुट्टै संसार हो । पैसा ठूलो थिएन, तर त्यसको अर्थ बालमनमा असाध्यै ठूलो थियो । मलाई पनि एक रुपैयाँ नपाएसम्म स्कुल जान मन लाग्दैनथ्यो । कक्षा एक–दुईतिरका ती दिनहरू अहिले धमिला भइसकेका छन्, तर ‘केटो’ पढ्दै जाँदा ती धमिला तस्बिरहरू फेरि अलिअलि देखिन थाले ।
महादेवका तीन आँखा देखेर मान्छेका पनि तीनवटा आँखा भएका भए के हुन्थ्यो होला भन्ने बालसुलभ जिज्ञासा पनि उस्तै रोचक छ । साँच्चै, सबैसँग तीनवटा आँखा भएका भए मानिस र महादेवबीचको फरक के रहन्थ्यो होला? बालमनले सोधेको प्रश्न सामान्य देखिए पनि त्यसले पहिचान, फरकपन र अस्तित्वका कुरा छोइरहेको हुन्छ ।
किताबमा आएका स्कुलका दिनहरू पनि आफ्नै किसिमका छन्—न कुनै ठूलो चिन्ता, न आजको जस्तो पढाइको दबाब। स्कुल गयो, आयो, परीक्षा दियो; पास भयो ठीकै, फेल भयो पनि जीवन त्यहीँ रोकिँदैनथ्यो । आजका बालबालिकाको पढाइ, परीक्षा र भविष्यप्रतिको दबाब सम्झँदा त्यो समय अझ सरल र रमाइलो लाग्छ ।
अनि जनक दाइजस्तोसुकै प्रश्न गरे पनि उत्तर दिन सक्ने पात्र। बालापनमा आफूभन्दा अलि बढी जान्ने, हरेक प्रश्नको उत्तर भएकोजस्तो लाग्ने मान्छे पनि त एउटा छुट्टै संसार हुन्थ्यो । हामीसँग त्यतिबेला गुगल थिएन, मोबाइल थिएन; त्यसैले हाम्रो ‘गुगल’ कहिलेकाहीँ यस्तै जनक दाइहरू हुन्थे ।
केटो’भित्र बाल्यकालका यस्ता अनेकौँ किस्साहरू छन्, जसले पाठकलाई कहिले हँसाउँछन्, कहिले आफ्नै बाल्यकालतिर फर्काउँछन् र कहिले सामान्यजस्तो लाग्ने घटनाभित्र लुकेको बालमनको जिज्ञासा देखाइदिन्छन्।
‘ही ब्ल्याक’ त्यस्तै एउटा हास्यास्पद किस्सा हो। ‘उ’ भनेको ‘ही’ र ‘कालो’ भनेको ‘ब्ल्याक’—अनि ‘हिब्ल्याक ! बालमनले भाषालाई कसरी आफ्नै ढङ्गले बुझ्छ, शब्दसँग कसरी खेल्छ र त्यसैबाट कसरी हास्यास्पद परिस्थिति जन्मिन्छ भन्ने यसको रमाइलो उदाहरण हो ।
त्यस्तै ‘काखीमुनि माछा’ पनि निकै रोचक किस्सा लाग्यो । पण्डितले काखीमुनि माछा लुकाएको प्रसंग र त्यसलाई लिएर किशोरले गर्ने प्रश्नहरूको उत्तरमा ‘काखीमुनि वेद लुकेको छ’, ‘काखीबाट वेदको रस चुहिएको छ’, ‘काखीमा वेदको बल हल्लिएको छ’ भन्नेजस्ता प्रसंगले बालसुलभ जिज्ञासा र हास्यलाई एकै ठाउँमा ल्याइदिन्छ। सामान्य घटनालाई पनि कल्पना र भाषाको खेलबाट कसरी रमाइलो बनाउन सकिन्छ भन्ने कुरा यहाँ देखिन्छ ।
यसै क्रममा कुकुरको पुच्छरमा आगो लगाएको किस्सा पनि आउँछ । आजको दृष्टिले हेर्दा त्यो बालसुलभ उपट्याङको सीमा नाघेको जस्तो लाग्न सक्छ, तर बाल्यकालका शरारतहरू सम्झँदा हामीले पनि कति नसोची अनेकौँ काम गरेका थियौँ भन्ने सम्झना आउँछ । बाल्यकाल सायद पूर्ण रूपमा निर्दोष मात्र हुँदैन; त्यसमा कौतूहल, दुस्साहस, अज्ञानता र उपट्याङ पनि मिसिएको हुन्छ ।
‘बचपनका नोट छाप्ने मेसिन’, ‘दलबहादुर दाइ’, ‘अङ्कहरूको कथा’, ‘लोभी पण्डित’ हुँदै अन्ततः ‘अन्तिम कक्षा’ सम्म पुग्दा किस्साहरूले बाल्यकालका अनेकौँ रङहरू देखाउँछन् । कतै हाँसो छ, कतै कौतूहल, कतै शरारत, कतै गाउँघरको परिवेश र कतै त्यही समयको सामाजिक जीवनको झल्को ।
यी किस्साहरू पढ्दा मलाई लागेको एउटा महत्वपूर्ण कुरा के हो भने—बाल्यकालको स्मृति वास्तवमा घटनाहरूको संग्रह मात्र रहेनछ; त्यो त हामीले संसारलाई पहिलोपटक बुझ्न थालेको समयको अभिलेख रहेछ। त्यतिबेला दुई रुपैयाँको नोट पनि ठूलो सम्पत्ति हुन्थ्यो, एउटा गाडी चलाउने सपना पनि जीवनको ठूलो लक्ष्यजस्तो लाग्थ्यो, प्रधानमन्त्रीको घर टाढाबाट देख्नु पनि साथीहरूलाई सुनाउन मिल्ने उपलब्धि हुन्थ्यो र कुनै सामान्य प्रश्नले भगवान्, मानिस र सृष्टिसम्मको जिज्ञासा जन्माउँथ्यो ।
त्यसैले ‘केटो’का साठी किस्सा लेखकका मात्र बाल्यकालका कथा जस्ता लाग्दैनन् । पढ्दै जाँदा ती कतै न कतै आफ्नै पनि भइदिन्छन् । लेखकको स्मृतिमा रहेको एउटा घटना पाठकको आफ्नै कुनै पुरानो सम्झनासँग जोडिन्छ र त्यहीँबाट किताब र पाठकबीचको दूरी हराउँदै जान्छ ।
सायद कुनै पुस्तकले पाठकलाई तान्ने सबैभन्दा ठूलो कारण यही हो—उसले आफूभित्रको कुनै बिर्सिएको मान्छेलाई फेरि भेटाइदिनु । ‘केटो’ पढ्दा मैले आफ्नै बाल्यकालको त्यही अलिकति उपट्याङ, अलिकति जिज्ञासु र धेरै नै कल्पनाशील केटोलाई कताकता फेरि भेटिरहेँ ।
सायद यही कारणले ‘केटो’ पढ्दा म केवल लेखकको बाल्यकाल पढिरहेको जस्तो लागेन । आफ्नै बाल्यकालको बन्द ढोका खोलिरहेको जस्तो लाग्यो । फरक भूगोल, फरक परिवेश र फरक अनुभव भए पनि बालमनको भाषा भने उस्तै हुँदोरहेछ—सपना उस्तै, जिज्ञासा उस्तै, उपट्याङ उस्तै अनि सानो कुरामा खुसी हुने तरिका पनि उस्तै ।
‘केटो’का साठी किस्सा पढ्दै जाँदा अन्ततः लाग्यो—बाल्यकाल बितेर गएको समय मात्र होइन रहेछ; त्यो त हामीभित्र कतै सुरक्षित रहेको एउटा यस्तो भूगोल रहेछ, जहाँ फर्किन कुनै बसको टिकट चाहिँदैन । एउटा किताब पर्याप्त हुँदो रहेछ ।
समग्रमा भन्नुपर्दा ‘केटो’ एकदमै सरल, सहज र आत्मीय भाषामा लेखिएको पुस्तक हो । यहाँ प्रस्तुत गरिएका किस्साहरू लेखकको जीवनका मात्र किस्सा भएर सीमित रहँदैनन् पढ्दै जाँदा ती पाठकका आफ्नै स्मृति र अनुभवसँग कतै न कतै जोडिन पुग्छन् । यही नै यस पुस्तकको मिठो संयोग हो—लेखकको बाल्यकाल पढिरहँदा पाठकले आफ्नै बालापनका धुमिल तस्बिरहरू भेट्टाउन थाल्छ ।
किताब पढिसकेपछि मनमा लाग्यो, बाल्यकाल सायद हामीबाट कहिल्यै टाढा जाँदैन रहेछ । समयले हामीलाई उमेरसँगै अगाडि लैजान्छ, तर बालापनका ती साना–साना खुसी, जिज्ञासा, सपना र उपट्याङहरू मनको कुनै कुनामा सधैँ बाँकी रहँदा रहेछन् । ‘केटो’ले त्यही बिर्सिँदै गएको बालमनलाई फेरि एकपटक बोलाएको अनुभूति हुन्छ ।
त्यसैले ‘केटो’ केवल सुदूरपश्चिमेली किशोरका साठी किस्साहरूको सङ्ग्रह मात्र नभएर, हामी सबैको कुनै न कुनै हराएको बाल्यकालसँग भेट गराउने पुस्तक हो । सरल भाषामा लेखिएको भए पनि यसले पाठकको मनमा छोड्ने अनुभूति भने निकै गहिरो छ । मलाई लाग्छ, बाल्यकाल सम्झन चाहने, आफ्ना पुराना दिनहरूलाई फेरि एकपटक छुन चाहने र सरल तर मिठासपूर्ण गद्य पढ्न चाहने हरेक पाठकले यो पुस्तक एकपटक अवश्य पढ्नुपर्छ ।
यति सुन्दर कृति हामी पाठकसामु ल्याउनुभएकोमा आदरणीय आर्डी भट्टज्यूलाई हार्दिक बधाई तथा शुभकामन व्यक्त गर्दछु । यहाँको लेखकीय यात्राले अझ फराकिलो आकाश पाओस्, कलमले निरन्तर नयाँ अनुभूति र नयाँ कथाहरू जन्माइरहोस्। आगामी साहित्यिक यात्राको निरन्तरताका लागि हार्दिक शुभकामना ।




