
कविता
अकल्पनीय दैवीप्रकोप
उषा केसी
आयो….आयो ऊ
क्षणभरमै आयो
कल्पना गर्नै नसक्ने
गरि आयो
सिङ्गो नेपाललाई रुवाउन
ऊ आयो
बिना सूचना आयो
काल बनेर आयो
छाल बनेर आयो
भेल बनेर आयो
र
बगायो भान्छामा पाक्दै
गरेका खुसीहरू
सेकेन्डभरमै लडायो
जीवनभरिका सपना
बोकेका घरहरू
मुछेर भेलमा
थरिथरि गन्तव्यमा
हिँडेका मान्छेहरू
हो तैले
बनाइस सबैलाई
एकै चिहान।
स्याफ्रुबेँसी, बेत्रावती
टिमुरे, रसुवागढी
अनि त्रिशूली बजार
बगायौ पलभरमै !
अहो कस्तो भेल हो तँ
कसैले नचिताएको
कस्तो वेग हो तँ
कसैले नसोचेको
बनाएर उजाड
घरपरिवार
ओ त्रिशूली
हिलोमा गाडेर खुसीहरू
केवल आँसु दिइस आँसु ।
रसुवा, नुवाकोट,
धादिङ र चितवन
बनायौ खण्डहर
निल्यौ मेरो देशका
सन्तानहरू
ओ त्रिशूली !
ज्यानमारा त्रिशूली…
तँ यो रूपमा
आइस कसरी ?
अँहँ पत्याएकै थिएनन् कसैले
तर तँ,
विभत्सता बोकेर आइस्
रुवाएर सारा मानवलाई
मानवबलि खाइस्
ओ त्रिशूली
लिऊ सम्झिएर ज्यान
उन्मुक्त भइस्..
ती विद्यार्थी,
ती शिक्षक
ती सुरक्षाकर्मी
ती कर्मचारी
ती मजदुर
ती व्यापारी
ती पर्यटक
ती चालक
ती स्वास्थ्यकर्मी
ती बैङ्कर
ती इन्जिनियर
ती पत्रकार
ती दर्शनार्थी
अँहँ कोही बाँकी राखिनस
कस्तो निर्दयी
दैवीप्रकोप काल
बनेर आयो
असय बनायो
सोहोरेर लग्यौ
पलभरमै
हेर
तिमीलाई जितेर
बाँचेकाहरू पनि
जिउँदो लास
जसरी
बाँचिरहेका छन् ।
रूँदैछन् आज,
जिउँदा लास
बनेर पीडितहरू
खोज्दैछन्
ओ त्रिशूली
तँ ज्यानमारा रैछस्
म पुज्दिनँ अब हर बिहान
जल सेचन गरेर
ओ त्रिशूली तँ पानी
लाग्थ्यो जिन्दगानी
तर,
तँ पानी
ज्यानै लानी बनेपछि
म
तिमीलाई घृणाले थुक्दैछु
हामी मानिसले
बोकेर चित्कार
कति दिन बस्नु
प्रकृतिलाई पनि
गरेर धिक्कार !
२०८३ भाद्र १०
बेपत्ता भएकाहरु
खोई खै कहाँ छस् ?
फर्कने आशमा
कुरिरहेका परिवार
आँशुमा डुब्दैछन् ।
आँशुमा डुब्दैछन् ।
यता
नेताहरू
दाउ मार्दैछन्
पीडितकै नाममा
राजनीति गर्न
उता सरकार
भ्याइनभ्याइ छन्
पीडितहरुको उद्धार गर्न
कोही माला लगाएर
उत्सव मनाउँदैछन्
कोही समाजिक सञ्जालमा
गन्ध भर्दैछन्
देश चुस्ने जुकाहरु
फेरि पनि चुस्न नपाएर देश
राम्रै गर्नेको
खुट्टा तान्दैछन्
तिनका भेँडाहरु अझै
भ्या..भ्या..कराइरहेकै छन्
पीडित परिवारका आँखामा
आँशुको भेल
बगिरहेकै छन् ।
ओ त्रिशुली यो कस्तो
सजायँ दियौ
सिंगो मानव युगलाई ?
भन,
सजायँ दियौ
सिंगो मानव युगलाई ?



