
काठमाडौं । नेपालसहित जलवायु परिवर्तनका कारण विपद्को सामना गरिरहेका राष्ट्रहरूलाई न्यायका लागि ४४ राष्ट्रहरूले सामूहिक आह्वान गरेका छन् ।
भोटेकोसी बाढीले निम्त्याएको विपद्मा दुःख व्यक्त गर्दै ४४ अल्प विकसित मुलुकहरूले नेपालप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।
”हालै हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमपहिरो तथा चट्टान खसेर आएको भीषण बाढीका कारण धेरै धनजनको क्षति भएकोमा नेपालका जनताप्रति हार्दिक संवेदना तथा ऐक्यबद्धता प्रकट गर्दछौँ,” उनीहरूले भनेका छन्,”अल्पविकसित देशहरूमा हानि र नोक्सानी सम्बोधनका लागि अनुदानमा आधारित स्रोतहरूसहित गुणस्तरीय जलवायु वित्तमा सहज र अभिवृद्धि पहुँचको आवश्यकता छ।”
टिमोर लेस्टेको राजधानी डिलीमा भएको सम्मेलनमा अल्प विकसित ४४ मुलुकहरूले जलवायु संकटका कारण अल्प विकसित मुलुकहरू अनावश्यक ऋणको भारमा परेकाले कार्बन उत्सर्जनमा योगदान बढी भएका मुलुकहरूले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। ”जलवायु संकटका कारण अल्पविकसित राष्ट्रहरूमा उच्च पुँजीगत लागत र ऋणको भारी बोझ रहेको अवस्थामा जलवायु वित्त संरचनामा परिवर्तन आवश्यक छ,” घोषणापत्रमा उल्लेख छ ।
उनीहरूले जलवायु संकट न्यूनीकरणका लागि विश्व तापमान वृद्धि १.५ प्रतिशत भन्दा कम गर्ने विषयमा कडाइ गर्न माग गरेका छन् ।



