
कथा
जागिर खाने केटी
रामकुमार पण्डित
झिसमिसे समयले साँझको सङ्केत गर्दथ्यो । सडकमा फाट्टफुट्ट गाडीहरू गुडिरहेका थिए; कुनैले हेडलाइट बालेर त कुनैले नबालीकन । मानिसहरूको चहलपहलमा पनि कमि भइसकेको थियो । पुलभन्दा अन्दाजी सय हात पर एकदुई वटा रिक्सा यात्रुको प्रतीक्षामा थिए । उत्तरी दिशाको सडकपेटीबाट बाटो काट्दै दक्षिणी दिशाको सडकपेटीतिर लम्किरहेकी थिइन् एउटी युवती । हतारहतार तिनले पुलको बारमा समाइन् । तिनको आश्चर्यमय गतिविधिप्रति एउटा रिक्सा चालकले ध्यान दिएर हेरिरहेको थियो । एक निमेषमै तिनले पुलको बारमाथि उक्लिएर आँखा चिम्लदै दुई हात जोडेर नारयाणी नदीको विशाल छातीमाथि फाल हालिन् । रिक्सा चालक डौडिएर पुलमा गएर नदीतिर हे¥यो । ती युवतीलाई नदीको छालले किनारातिर हुत्तयाउँदै गरेको देख्यो उसले । त्यसपछि तुरुन्तै “मान्छे हामफाल्यो ! मान्छे हामफाल्यो !” भन्दै ऊ किनारातिर दौडियो । केही मान्छेहरूले उसलाई जिज्ञासाबस हेरे । कोही उसको पछिपछि डगुरे । किनारामा पुगेपछि उसले एउटी युवती अचेत अवस्थामा देख्यो । जसको जीउलाई नदीको पानीले स्पर्श गरिरहेको थियो । कुर्ताको फेरलाई छातीमाथि त सुरुवाललाई घुँडानिर पुर्याको थियो पानीले । भित्री कपडा भने थोरै सरेको थियो । उसले तिनको कुममा समातेर किनाराको ओभानो ठाउँमा घिसार्दै लग्यो । लत्रिएका कपडा मिलाइदिदै नाडी छाम्यो । नाडीमा चाल छ भन्ने ठम्याएर उनको पेटमा थिच्यो । हुत्लुक्क गरेर केही घुट्को पानी उनको मुखबाट बाहिर आयो । त्यति बेलासम्म उसको एउटा रिक्सा साथी र केही मान्छेहरू आइपुगिसकेका थिए ।
साथीले उसलाई र घरि ती मुच्र्छित युवतीतिर हेर्दै सोध्यो –
“ओइ पवन के भयो ? यो आइमाई को हो ?”
उसले गरेको प्रश्नप्रति त्यहाँ जम्मा भएका भिडले चासो दिए । आत्तिदै पवन बोल्यो –
“यो केटीले पुलबाट हामफाली तर काल आइपुगेको छैन रहेछ । यत्रो ठूलो नदीले छेउतिर ल्याइदियो । बाँच्ली जस्तै छ रविन्द्र ।”
साथीले पुनः प्रश्न गर्यो ।
“अनि को पर्छ तेरो ?”
सुस्केरा हाल्दै उसले बोल्यो –“मेरो कोइपनि पर्दैन यार । पुलबाट हामफालेको देखेँ । दौडिएर आई हेर्दा यी बाँच्नेजस्तो लाग्यो र मानवीय धर्म निर्वाह गर्दैछु ।” यसपछि चासो दिनेहरूले केही बुझेजस्तो गरे । एकदुई जना आपसमा भन्न लागे–
“कस्ती केटी रहिछ । यस्तो ठाउँमा हामफाल्नु पर्ने । काल नआइ मरिदैन भन्थे, हो रहेछ ।”
कोही उरण्ठेउला केटा बोले –“यसको प्रेमीले धोका दिएजस्तो छ । सहन नसकेर हामफाली ।” अर्कोले त्यसैमा थप्यो –“सके पाप बोकेकी होली अर्काको । त्यही लुकाउन यस्तो गरी ।” ती युवाहरू पटकपटक आफ्नो गिद्दे नजर युवतीको पानीले भिजेको संवेदनशील अङ्गतिर लगाउँथे । त्यही बेला एउटी पाको उमेरकी महिला बोलिन्–
“हरे विचरा ! ज्यान केही नि रहेन छ । मुख पनि पहेँलो भइसकेछ । भिजेको लुगाले कति चिसो भयो होला । चु..चु..चु..(चुकचुकाउँदै), मुखभरि र्याल निस्केको रहेछ ।”
कसैको वास्ता नगरी रविन्द्र र ऊ भएर तिनलाई किनाराको भित्तामा आड लगाए । तलतिर टाउको मास्तिर खुट्टा पारिदिएपछि पवनले हलुकासँग उनको पेटमा दुई हातले थिच्यो । एकै क्षणभित्र मुखबाट पेटै खालिहुने गरी पानी बाहिर आयो । त्यसपछि आरामसँग त्यहीँ कतैकतै घाँस उम्रिएको भुइँमा ती दुई मिलेर सुताए । केही बेरपछि युवतीले आँखा खोलिन् । बिस्तारै पल्याकपुलुक वरिपरि हेरेर मुख खोलिन् –
“यत्रा मान्छेको मुखुञ्जेल बेइज्जत हुनुभन्दा त काल आकै निको हुन्थ्यो नि । दैवले किन न्याय गर्दैनन् ? म अभागीलाई अरूबाट लुटिएर बाँच्न कति विवश पारिएको होला ? घर, गाउँ, सहर सबैको हेला सहेर पटकपटक मारिनुभन्दा त एकै पटक मारेको भए कति जाति हुन्थ्यो होला । उँ…हुँ…हुँ…।”
युवती रुन थालेपछि उनलाई सुमसुमाउँदै बुज्रुक नारीले प्रश्न गरिन् ।
“के भयो नानी ? के भयो ? किन हिम्मत हारेको ?” यसपछि अरू मान्छेमा पनि कुतुहुल जाग्यो । उनीहरू “हो मा हो” भन्दै मुखले कम जीउले बढी लोली मिलाउन थाले ।
“मैले मोर्न चाहेँ र पनि काल आएन दिदी । उँ…हुँ…हुँ…।” पहिलेभन्दा अलि ठूलो रुञ्चे आवाजमा युवती बोलिन् ।
“हामी छौँ नानी, तिमीलाई साथ दिने । केही अन्याय परेको भए भन, हामी न्याय दिलाउँछौँ ।” बुज्रुक नारीले प्रष्ट आवाजमा बोलिन् ।
“हो ! हो ! हामी छौँ नि । भगवान्ले दिएको जोवन त्यसै खेर फाल्न हुन्न ।” पवनले पनि जोशिएर बोल्यो । भिडले पनि उसको आवाजमा सही लगाए ।
युवतीले अगाडि खुट्टा पसार्दै हत्केलाले भुईंको आड लिएर बसिन् । वरिपरि आँखा डुलाउँदै युवती कोक्किइकोक्किइ रुदै बोल्न थालिन्ः
“भगवान्ले नदिएको न्याय अब कसले देला दिदी मलाई ? मलाई के पुरुष के नारी ! कसैप्रति विश्वास रहेन अब । पुरुष र नारीकै मिलोमतोको कारण म बरवाद भएँ । यो बिटुलो ज्यानलाई सजायँ दिउँ भनी हिजो रूखमा झुण्डिएँ । रूखको हाँगै भाँचियो । म मोर्न सकिन । आज यति ठूलो नदीमा पुलबाट हामफालेँ । नदीले तपाईँहरूको हातमा सुम्पिदियो । मलाई बचाउनु भयो । (यसपछि उनी कडा आवाजमा बोल्न थालिन् ।) मलाई मोर्न नदिएर किन बचाउनु भयो ? फेरि फेरि, पटक पटक मेरो अस्मिता लुटाउनु छ तपाईँहरूलाई ? उँ…हुँ…हुँ…।” यति भन्दाभन्दै उनी मुच्र्छित भई भुइँमा ढलिन् ।
“लौ यी केटी बाँच्छिन् । अस्पताल लानुप¥यो ।” पवनले त्यति बोल्नासाथ भिडले एकआपसको आँखामा हेरे । रमिता हेर्न आएकाहरू अलिअलि गर्दै पछिपछि हटे । आफ्नो साथीलाई हेर्दै पवनले विनय ग¥यो ।
“लौन रविन्द्र ! अस्पताल लैजाउँन ।”
“पवन घरमा मेरी छोरी बिरामी छे । म जान सक्दिनँ । रात पनि परिसक्यो ।” रविन्द्रको मलिन आवाजपछि पवन केही आत्तिदै बोल्यो ।
“रविन्द्र, त्याँ सडकमा रिक्सासम्म मद्दत गर्न त । म लैजान्छु अस्पताल, एक्लै भए पनि । मानिसलाई पर्दा मानिसले नै साथ नदिए बाँच्नुको के अर्थ ?”
उसको त्यति आवाज आएपछि ती बुज्रुक नारीले पनि साथ दिइन् । उनीहरूले माथी सडकमा अड्याइएको रिक्सामा तिनलाई राखे ।
“नजिकको अस्पतालमा लैजा पवन, म भोलि आउँला ।” रविन्द्रको आवाज सकिन नपाउँदै पवनले रिक्साको पाइडलमा खुट्टाले थिच्यो । अलिअलि गर्दैगर्दै वेगमा हुइँकियो तर रिक्साको बत्ती मधुरो थियो । बेलाबेलामा चर्को हेडलाइट बालेर ठूला गाडीहरू आउनेजाने गर्दथे । त्यसलाई पनि वेवास्ता गर्दै ऊ कसैको ज्यान बचाउन कुद्यो । थोरै समयमै नजिकैैको अस्पताल आइपुगेपछि ब्रेक थिच्यो । रिक्सा रोकिएपछि ओर्लिएर उनलाई आफैँले पिठिउँमा बोकेर अस्पतालको इमरजेन्सीमा पु¥यायो । इमरजेन्सीले सामान्य विवरण पुछताछ गरी भर्ना गर्न बिरामीको नाम सोध्यो । उसले हडबडाउँदै “माया” भनी दियो । त्यही नाम उल्लेख भयो त्यहाँ । पाँच हजार जति रुपियाँ डिपोजिट गर्न लगाए । त्यसपछि सल्यानपानी चढाएर आवश्यक उपचार गर्न थाले । अस्पतालले तत्काल थुप्रै औषधिहरू ल्याउन लगायो । औषधि पसलमा गएर बुझ्दा अर्को पाँच हजार जति लाग्ने रहेछ । अघि त केही दिनको कमाइ आफैँसँग थियो र डिपोजिट राख्यो । यस पटक त्यति रकम ऊसँग थिएन । के गर्ने ? उसले एक छिन सोच्यो र पसलेलाई भन्यो –
“म एक छिनमा पैसा लिएर आउँछु ।” उसले थोपाथोपा गरी केही पैसा बैँकमा जम्मा गरेको थियो । आवश्यक परेको बेलामा खर्च गर्नलाई नै जम्मा गरिएको हो भन्दै उसले एटिएमबाट दस हजार जति झिक्यो । अघि ल्याउनु भनेको औषधि किनेर लग्यो ।
बिरामी भित्र इमरजेन्सीमा थिइन् । ऊ इमरजेन्सी बाहिर एउटा मेचमा अरू कुरुवासँगै बसेको थियो । बिरामीसँगको नातामा उसले साथी मात्रै भनेर लेखेको हुनाले भोलिपल्ट बिहान नर्सले बिरामीको परिवारलाई बोलाउन अह्राइन् । उसले आत्तिएर सोध्यो –
“किन बिरामी नबाँच्ने जस्तो छ र ?”
“बिरामीलाई अब वार्डतिर सार्नुपर्छ । भरपर्दो परिवारको मान्छे चाहिन्छ ।” नर्स बोलिन् ।
“यो त मलाई नि थाहा छैन । बिरामीलाई नै सोध्नुपर्छ ।” पवनको जवाफपछि नर्स मौन बसिन् ।
पवनजस्तो असल मान्छेको चाहना र अस्पतालको मेहेनतको कारण उनको होस झिसमिसे उज्यालोमै फर्किसकेको थियो । अघिकी नर्सले उनको परिवारको बारेमा सोध्दा केही जवाफ दिइनन् । त्यसपछि पवनकै जिम्मामा ती युवतीलाई बेड नम्बर ३०७ मा सारियो । यो तीन वटा बेड भएको कोठा थियो । दुई वटा बेड खाली नै थिए । दुईतीन जना नर्सहरूले तिनलाई बेडमा सुताएर फेरि अर्को सल्यानपानी चढाएपछि तिनको ज्वरो,प्रेसर आदिको नाप लिएर बाहिरिए । त्यस अवस्थामा आफूलाई अपरिचित युवकले कुरेर बसेको देखेपछि उनी चकित भएर सोधिन् –
“तपाईँले किन मलाई अस्पताल ल्याउनु भो ?”
“जीवनको लागि ।”
“म बाँचेर तपाईँले के पाउनु हुन्छ र ?”
“पाउन त केही नि पाउँदिन । बस् मानवीय धर्म गर्दैछु ।”
“मर्न दिएको भए भइहाल्थ्यो नि । तपाईँलाई नि दुःख हुन्थेन । म पनि दुःखित हुन्थिनँ ।”
“सायद ईश्वर यो चाहदैनन् कि; तपाईँ यति छिट्टै माथि जानुहोस् भनेर । तपाईँले अझै धेरै जीवन भोग्नु छ सायद ।”
“मलाई यही जीवन नै घाँडो भइसक्यो । अब अरू बाँच्ने चाह छैन । मलाई पुरुषहरूप्रति घृणा छ ।”
“यदि मदेखि पनि घृणा छ भने आफ्नो घरपरिवारको सम्पर्क नम्बर दिनुस् । म बोलाइदिन्छु र त्यसपछि जान्छु ।”
“हँ, के भन्नु भो ? जान्छु रे ! मलाई यति छिट्टै छोडिदिनु हुन्छ ? अरूजस्तो वाध्यताको जञ्जिरले बाँधेर लुट्नु हुन्न ?”
“अरूलाई विवश बनाएर मजा लुट्ने म भएको भए किन तपाइँ सामू हुन्थेँ र ? म पनि हिजै त्यो भिडजस्तै हराइसक्थेँ । एक्ली आमाको ममतामा पौडिन म पुगिसक्थेँ हजुर ।”
“उफ् ! सायद तपाईँ असल हुनुहुन्छ होला । तर बाँचेर कसले बिहे गर्छ मलाई ? मेरो गरिव परिवारले घरबाटै निकाले । उनीहरू आउँदैनन् । म बोलाउन सक्दिनँ । बरु तपाईँले मर्नै दिए हुन्थ्यो । उँ …हुँ…हुँ…।”
हेरविचार गर्ने नर्सले उनीहरू गफिएको देखेर बिरामीसँग धेरै नबोल्नु भनिन् । तिनले एकदुई वटा रिर्पोट हेरिन् । स्वास्थ्य सुध्रिदै गएको जनाइन् । त्यस दिन ऊ रिक्सा चलाउन गएन न त एक्ली आमालाई नै भेट्न गयो । आमालाई ‘आउँदिन’ भनेर फोन गरेको भरमा दिनभरि उनको कुरुवा बनेर बस्यो । न कुनै सम्बन्ध, न कुनै चिनजान । आन्तरिक अज्ञात शक्तिले उसलाई तिनको कुरुवा बनाएको थियो । उनको शारीरिक र मानसिक स्वास्थ्य सामान्य भएपछि सन्तोषको श्वास फेर्ने अठोट थियो उसको । मानिसको लागि मानिस काम लाग्नुपर्छ भन्ने निस्वार्थ भावले उसलाई जागृत गराइरहेको थियो ।
गलेको शरीर थियो । त्यसमाथि औषधिको डोजले अझै शिथिल पारेको थियो । बिहानको नौ बजेतिर थोरै दालभात खाएपछि निकै बेर निदाएकी उनी साँझ पख बिउँझिइन् । बिउँझदा आफ्नो अगाडि उसलाई देखेर मुस्कुराइन् । सायद उनको यो मुस्कान उसको लागि पहिलो थियो । उनी सिरानी अग्लो बनाएर त्यसैको आडमा बसिन् । उसले प्रेमपूर्वक अनारको रस पियायो । सो रसपानपछि उनले आफूसँगै बेडमा बस्न अनुरोध गरिन् तर त्यसरी बस्नु अस्पतालको नियमबाहिर हुनेभएकोले उसले इन्कार ग¥यो । ऊ नजिकैको स्टुलमा बसेर उनको विगतदेखिका केही संस्मरण सुनाउन अनुरोध ग¥यो । त्यसपछि उनले बिस्तारै आफ्नो विगतका कथाहरू कोट्याउँदै गइन् ।
“मैले एउटा बैँकमा जागिर खान्थेँ । मेरो स्नातक तहमा विशिष्ट श्रेणीको प्राप्ताङ्क थियो । तैपनि जागिर भने मैले सहायक स्तरमा पाएको थिएँ । सुरुमा मलाई बैँकको ग्राहक बिस्तार गर्ने कार्यको जिम्मेवारी दिइयो । बैँकको छेउछाउको क्षेत्रहरूमा गएर मैले केही मान्छेहरूलाई विश्वास दिलाइ खाता खोल्न लगाएँ । केही साथी तथा आफन्तहरूलाई अनुरोध गरेर खाता खोलाएँ । मेरो यो काम सन्तोषजनक भएपछि मलाई क्यास काउन्टरमा काम दिइयो । क्यास काउन्टरको काम बढो कठिन रहेछ । ग्राहकको सही ठीक भए नभएको ठम्याउनु पर्ने । ठूलो रकमको चेक आए हाकिमलाई देखाउनु पर्ने । भिडभाडमा जोगिएर काम गर्न चुनौती नै थियो । एक पटक एउटी साथीको एक लाख क्यास सर्ट भयो । सबै चेक तथा नगद पूनः गणना गरिए तर फेला परेन । त्यही बेलामा सि.सि. क्यामेरा बिग्रिएकोले त्यसबाट परीक्षण गर्न सकिएन । विचरीले आफ्नै तलबबाट सो रकम तिर्नु प¥यो । उसको त्यो गल्तीपछि मेरो पनि नियमित क्यास सर्ट हुनथाल्यो । कहिले पाँच हजार पुग्दैन । कहिले दस हजार पुग्दैन । नपुगेको रकम आफ्नै तलबबाट काटिन थाल्यो । त्यसपछि मैले त्यो काउन्टरको जिम्मा लिन अस्वीकार गरेपछि मलाई टेलिफोन अपरेटरको जिम्मा दिइयो । आएका फोनहरूको राम्रोसँग जवाफ दिने तथा हाकिमका फोन लगाइदिने काम पर्दथ्यो । त्यस्तै आक्कलझुक्कल काउन्टरमा गएर नोट मिलाइदिने र राष्ट्र बैँकमा नोटहरू बुझाउने काम पनि पर्दथ्यो । बैँकको काम सधैँ अपडेट हुनु अनिवार्य थियो । आजको काम भोलि गरौँला भनेर त कुनै मौकै थिएन । बरु रातिको दसै किन नबजोस्, सोही दिन सक्नु पर्दथ्यो । त्यसरी ढिला भएमा अफिसकै गाडीले घर पु¥याउँथ्यो । एक दिन काम त्यसैगरी ढिला भयो । बेलुकाको आठ बजिसकेको थियो । संयोगले हाकिमको पनि काम त्यति नै बेला सकिएछ । उनकै गाडीले मलाई पनि लैजाने जिम्मा लियो । उनी र म पछाडि एउटै सिटमा बस्यौँ । गाडी बाहिर हेडलाइट बालेपनि भित्र बालिएको थिएन । तसर्थ हामीलाई बाहिरबाट प्रष्ट देख्न सकिन्नथ्यो । अगाडिको ड्राइभरले पनि देख्दैन थियो । हाकिमले मेरो तिघ्रातिर उनको हात तन्काए । मलाई आफूभन्दा सिनियर मान्छेको यो क्रिया मन परेन र चुपचाप हात पन्छाइदिएँ । पाँच दस मिनेटपछि पूनः यसैगरी हात लेराए; उसैगरी मैले हात हटाइदिएँ । त्यसपछि कहिले आफ्नो घर आइपुग्लाजस्तो भएको थियो मलाई । आधा घण्टाको यात्रा पनि घण्टौँघण्टाको लागेको थियो मलाई । आफ्नो घर नजिक आएर उत्रिएपछि धेरै लामो श्वास फेरेको थिएँ मैले । भोलिपल्ट बैँककी एउटी दिदीले मसँग त्यस हाकिमको कुरा गरिन् । भन्थिन्, “त्यो हाकिम राम्रो मान्छे हो । अविवाहित छ र मसँग प्रेम गर्छ” भनेर । मैले “उसको चरित्र राम्रो छैन, म ऊसँग बिहे गर्दिन भनिदिएँ ।” तर बारम्बार महिना दिनभन्दा नि बढी त्यो हाकिमको बेलिबिस्तार लगाइरहिन् उनले । हाकिमले पनि महङ्गामहङ्गा उपहार किनेर दिन थाले मलाई । त्यसपछि बिस्तारैबिस्तारै उनीसँग मन मिलाउँदै जान थालेँ, यद्यपि हाम्रो उमेर बाह्रपन्ध्र वर्षले नमिले पनि । अर्थात् हाकिम मभन्दा जेठो थिए । त्यसपछि उनले मलाई ड्रप गर्ने बहानामा एकैछिन चिया पिउँन भन्दै ठूलठूला होटेलमा लिएर जान्थे । अल्कोहल आफू पनि पिउँदै मलाई पनि पिउन आग्रह गर्दथे तर म यो आग्रहलाई इन्कार गरिदिन्थेँ । उनले एक दिन मलाई बिहेको प्रस्ताव गरे । म उनीप्रति प्रभावित भइसकेको भएर स्वीकार गरिदिएँ । तर उनले बिहे तुरुन्तै गरेनन् । बरु बिहेपछि गर्दै गरौँला अरू काम अघि नै गरौँ न भनेर कर गरिरहे । उनको बिहेको प्रस्ताव, अफिसकी दिदीको सधैँको तारिफ अनि सधैँ सँगै हिँड्ने भएपछि एक दिन मैले बिहेपछि गरिने काम अघि नै गर्न उनलाई स्वीकृति दिएँ । उनले त्यसपछि हरेक हप्तामा एक पटक मलाई खेलाउन थाले । म खेलिदै गएँ । बिस्तारै अफिस, घर, गाउँतिरकाले त्यो हाकिमसँग मलाई जोड्न थाले । मलाई देखेपछि मान्छेहरू खासखुस कुरा काट्थे । घरमा थाहा भएपछि बाबाआमाबाट पनि छिटै हाकिमसँग बिहे गर्न दवाव आयो । मैले यही कुरा हाकिमलाई भनेँ । हाकिमले त्यसपछि बल्ल आफू विवाहित भएको बतायो । उसको सात कक्षा पढ्ने छोरा छ रे । मैले पहिला आफूले गरेको कुरा र ती दिदीले बिहे भएको छैन भनेकी कुरा भनेँ । उसले हाँसेर जवाफ दिदैँ; ‘ती सबै नाटक हुन् । ती दिदीलाई पनि मैले किनिसकेको छु पो’ भन्यो । उफ् ! त्यसपछि मेरो नौ नाडी गल्यो । म निकै बेर रोएँ । त्यो हाकिम पटक्कै पग्लिएन । साँझ परेपछि सबै घर फर्किए । हाकिम पनि निस्कियो । म पनि पहाडले थिचेजस्तो भएको मेरो मनलाई सान्त्वना दिदैँ सकिनसकी उठेँ । बिस्तारै कार्यालयबाट बाहिरिएँ । बसपार्क पुगेर गाडी चढेँ । बाटो हिँड्दा र गाडीभित्रै पनि अरूले मलाई हेर्दा, अप्ठ्यारो महसुस हुन्थ्यो । सबैले त्यस हाकिमकी रखैल भन्दा हुन् भन्ने लाग्यो । यसरी भित्रि मनैदेखि थकित र गलित मलाई यस धर्तीमा बाँच्ने चाहना म¥यो । सारा कपटी पुरुष र आइमाईलाई हेर्न मनै लागेन । बाँकी जीवन फेरि त्यस अधर्मीको खैलौना बन्नूभन्दा मर्नु निको लाग्यो । भन्नुस्, यस हालतमा मलाई कसले बिहे गर्छ र म किन कलङ्कित मुहार लिएर बाचौँ ।”
उनको कुरा सुनेर गम्भीर भएको पवनले मनभित्र आशाको टुकी जलाउँदै कुरा सुरु गर्यो ।
“तपाईँको कथा संवेदनशील रहेछ । यो सुनेपछि मेरो पनि कुरा राखौँजस्तो लाग्यो । सुन्नुस् मेरो कुरा ! मैले स्नातक जसोतसो पास गरेको छु । घरमा रोगले थलिएकी आमामात्रै हुनुहुन्छ । उहाँकै हेरविचार गर्नुपर्ने भएकोले म विदेश जान सकिनँ । जागिरको लागि धेरै प्रयास गरेँ तर कतै काम नपाएपछि रिक्सा चलाउन थालेको हुँ । मेरो पनि बिहे गर्ने उमेर भयो तर केटी पाएको छैन । पैसा पनि अलिअलि गरेर जम्मा गर्दैछु । सबै धन दौलत हेर्छन् त्यसमाथि रोगी आमा स्याहार्नु पर्ने भनेर कुनै केटी राजी हुन्नन् बिहे गर्न । यदि तपाईँलाई म योग्य लाग्छ भने, म छु नि त ।”
उसले मनभित्र बालेको आशाको दियोको चहक उनको मुहारमा देखियो । तिनले फ्वाट्ट बोलिहालिन् ।
“मलाई धन होइन मन चाहिन्छ । तपार्इँजस्तो आधुनिक सोचले सजिएको युवा पाए मलाई के चाहियो र ? उसो त मैले दोस्रो जीवन यहाँबाटै पाएको छु । यस जीवन रूपी रूखको स्याहारसम्भार गर्ने जिम्मा हजुरकै ।”
“तर…।”
उसले तर भनेर थामिएपछि उनी झस्किइन् । अघि उसैले बालेको मनभित्रको दियो हावा आएर निभ्लाजस्तै भयो । उसले धेरै बेर नलगाइकन वाक्य पूरा ग¥यो ।
“तर तपाईँले तिनीहरूसँग बदला लिनुपर्छ । तबमात्रै म बिहे गर्छु ।”
“बदला !” एक पटक ऊ झस्किई र पूनः बोली । “बदला लिन सक्ने भए म किन मर्न चाहन्थेँ र हजुर । पुलिसकाँ गयो पुलिसैले यो घृणित कुरा बारम्बार बोल्न लाएर मानसिक बलात्कार गर्छ । न्यायालय गयो, कठघरैमा बारम्बार पेशी भन्दै यही कुरा सबका सामू बक्न लाएर इज्जतमाथि बलात्कार गर्छ । दुनियाँले गर्ने पटकपटकको बलात्कारजस्ता घृणा सहने शक्ति मसँग छैन । भैगो, यहाँको लायक म छैन ।”
उसले सम्झाउँदै भन्यो ।
“धैर्य गर्नुस्, धैर्य ! महाभारतको लडाइँमा अर्जुनको सारथी बनेर कृष्णले रथ हाँकेझैँ यस लडाइँमा म सारथी बन्नेछु । तीर तपाईँ चलाउनुस् अर्जुनलेजस्तै । जित सत्यको भएरै छोड्छ ।”
त्यसमा उनले सहमति जनाइन् । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि अर्को दिन अस्पतालले डिस्चार्ज गर्यो । काठमाडौँकी काँठकी केटी, उनको जागिर पनि काठमाडौँकै एउटा बैँकमा थियो । उनीहरूले मोबाइल नम्बर साटासाट गरे । कामकुरा मिलेपछि चितवनबाट काठमाडौँ आउने उसले वाचा ग¥यो । उसले भनेझैँ गर्नू भनी उनलाई सम्झाएर उनीहरू छुट्टिए ।
झण्डै पन्ध्र दिनपछि उनी बैँक गएकी थिइन् । बिरामी भएको कारण आउन सकिनँ भनी उनले अस्पतालको कागजसहित निवेदन दिइन् । हाकिम पहिलाकै थिए । उनले सजिलै विदा मिलाइदिए । धेरैपछि भेट भएको भनी हाकिम उनीसँग चेपारे हुँदै थिए । उनले पनि सकारात्मक कुरा गरिन् । अर्की सहकर्मी दिदी पनि उनीसँग कुरा गर्न आइन् । तिनलाई सबै कुरा थाहा भएको रहेनछ । पूनः हाकिम अविवाहित र मिलनसार भएको कुरा धेरै बेर गरिन् । उनले बस् सुनिरहिन् । प्रतिवाद केही नि गरिनन् । बेलुका भएपछि उनलाई हाकिमले पु¥याइदिने कुरा गरे । उनले सहमति जनाइन् । सदाझैँ पहिला होटेलको गोप्य कोठामा लगे हाकिमले । ढोकाको चुकुल बन्द गर्नासाथ हाकिमले उनको बस्त्र खोल्न हतार गरे । यस पटक उनले हाकिमलाई रोक्दै भनिन् ।
“किन यति हतार ? पहिला म खोलिदिन्छु हजुरको” भन्दै उनले एकएक गरी कोट, पाइन्ट,टाइ,सर्ट र कट्टु खोलेर नाङ्गो पारिन् । चुपचाप उत्सुक हुँदै बसेको हाकिम त्यसपछि उनको कुर्ता खोल्न हत्पतिए । त्यही बेलामा उनको मोबाइलमा फोन बज्यो ।
“ओ हो ,यही बेलामा फोन बज्नु पर्ने ? स्वीच अफ गर्नु पर्दैन ?” हाकिम कड्किए ।
“बिर्सिएछु । एक छिन है, म रिसिभ गर्छु ।” यति भन्दै उनले ठाडो पारेको मोबाइल रिसिभ गरिन् ।
“हेलो ! अँ… सबै भयो । ल…ल..हुन्छ ।” मोबाइल बन्द गरी नसक्दै उनलाई हाकिमले तानेर सुरुवाल खोल्न आँटे । उनले हाकिमको हात रोक्दै “हतार नगर्नू न । गफ गर्नू न पहिला ।” भन्न थालिन् । “के गफ गर्नू र ?” हाकिम अकमकिए । सधैँ हत्पताउने बानी लागेको हाकिमले उनलाई काखमा राखेर एक हातले छातीमा समाउँदै अधरपान गर्न तम्सिए । त्यही बेलामा ढोकामा ढ्वाक्ढ्वाक् आवाज आयो । उनी बाथरुमभित्र पसिन् । हत्त न पत्त पाइन्ट लगाएर हाकिमले ढोका खोले । वैटर होला भन्ने उनको ठम्याइ बज्रियो । बाहिर पुलिस रहेछ । पुलिस कोठाभित्र पसेपछि उनी बाथरुमबाट बाहिर निस्किएर बोलिन् । “यिनै हाकिम हुन् मलाई बलात्कार गर्ने । मलाई न्याय दिनुस् हजुर” भनेर उनले हात जोर्दै मोबाइलमा अघि खिचेको सबै नग्न दृश्य र संवाद देखाइन् । मोबाइलमा दिउँस सहपाठी दिदीको पनि संवाद रेकर्ड भएको थियो । त्यो सबै भएपछि हाकिमले माफी माग्दै छोड्न हात जोडे । त्यो कुरा न उनले मानिन्, न पुलिसले । अझ प्रशस्तै धन सम्पत्ति दिन्छु भनेर हाकिमले फकाए तर त्यो कुरा कसैले सुनेनन् । “यस्तो कुरा गर्नुहुन्छ भने झन् फस्नु होला” भनेर पुलिसले धम्काए । यसपछि हाकिम र त्यस मतियार सहपाठी दिदीलाई मुद्दा हालियो । उनीहरूलाई बलात्कारजन्य कसुरमा जेल चलान गरियो । उनलाई क्षतिपूर्तिवापत अदालतबाट उचित धनसम्पत्ति भराइयो, त्यस हाकिमबाट । त्यसपछि उनी र पवनवीच धुमधामसँग बिहे भयो ।
का. म. पा. ६सिमलटार ।


