
कविता
पलपल समीप
काँचको कथा
नियालिरहन्छौ आफूलाई
कहिलेकसो बेजोड
अभिनय बोकेर उभिन्छौ,
मुस्कुराउँछौ, खिलखिलाउँछौ ।
धेरै पटक सतह पुछिरहन्छौ
दाग देखियो भनेर,
म मुस्कुराइदिन्छु
किनभने
म जतन गर्न चाहान्छु
तिमीभित्रको भ्रम ।
तिमीले देखेजस्तो,
फिटिक्कै सग्लो छैन म
बाँडिएको छु टुक्राहरुमा ।
हरेक टुक्रासँग छन् एक-एक कथा
केही आला कथा,केही दाग कथा
केही श्रव्य,
केही दृश्य,
अनि केही पार्श्व कथा ।
पारदर्शी देखिने म
समाहित गराउँछु तिमीलाई
दुरुस्त म मा ।
के को आकर्षणले
तानिरहन्छ तिमीलाई मप्रति?
बाहिरी आवरणले मोहित हुने तिमी
छामेका छौ र,
मभित्रको अर्को पाटो ?
केही आँसु,
केही हर्ष,
केही दु:ख,
केही विस्मय !
कुनै टुक्रामा योजना,
कुनैमा भविष्य,
कतै अभिनय त कतै
वर्तमान बोकेर
म विभाजित छु चोइटाहरुमा ।
कहिले अलापिन्छौ छाती चर्काएर,
चिच्याएर रुन्छौ अविरल आँसु ,
तिमी चिच्याएर रुँदा
म भने भित्र
कतै टुक्रिरहेछु ।
तर
गलेर होइन,
थाकेर होइन,
दुखेर पनि होइन ।
म त अझै
पिठो बन्न तयार छु
के
तिमी पिस्न सक्छौ
काँचका टुक्राहरु ?






