
दोलखा । दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको पाँचौँ वार्षिक साधारण सभा दोलखाको चरिकोटस्थित सातदोबाटोको दरबार पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
साधारण सभामा संघका उपाध्यक्ष विनोद जिरेलले स्वागत तथा शुभकामना मन्तव्य दिँदै दोलखालाई बागमती प्रदेशको पर्यटन राजधानीका रूपमा विकास गर्नुपर्ने प्रस्ताव राखेका छन् । उनले अन्य जिल्लाको तुलनामा दोलखामा पर्यटनको प्रचुर सम्भावना रहेकाले त्यसलाई उजागर गर्दै जिल्लालाई प्रदेशकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।
साधारण सभाका अवसरमा पर्यटन तथा होटल व्यवसायमा योगदान पुर्याएको भन्दै दरबार पार्टी प्यालेस तथा एसएस किङ्सका सञ्चालक शंकर बस्नेतलाई उत्कृष्ट व्यवसायीका रूपमा सम्मान गरिएको छ ।
भीमेश्वर नगरपालिका–चरिकोटमा आयोजित सभामा होटल तथा पर्यटन व्यवसायी, संघका पदाधिकारी तथा सदस्य, स्थानीय जनप्रतिनिधि, पर्यटन क्षेत्रका सरोकारवाला तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
सभामा दोलखाको पर्यटनलाई व्यवस्थित र व्यावसायिक बनाउँदै जिल्लाको आर्थिक समृद्धिसँग जोड्ने विषयलाई प्राथमिकतामा राखिएको थियो । सहभागीहरूले दोलखालाई बागमती प्रदेशको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्न दीर्घकालीन योजना र सरकारी तथा निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए ।
वक्ताहरूले दोलखा प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा, ऐतिहासिक महत्व र साहसिक पर्यटनका दृष्टिले सम्भावनायुक्त जिल्ला भएको उल्लेख गरे । जिल्लाका पर्यटकीय गन्तव्यको प्रभावकारी प्रचारप्रसारसँगै आवश्यक पूर्वाधार निर्माण गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढाउन सकिने उनीहरूको भनाइ थियो ।
कालिन्चोक, शैलुङ, जिरी, रोल्वालिङ, गौरीशंकर, भीमेश्वर, तामाकोशी, बिगु तथा लाप्चीलगायत क्षेत्रलाई समेटेर एकीकृत पर्यटन प्याकेज निर्माण गर्नुपर्नेमा समेत सहभागीहरूले जोड दिए । पर्यटकलाई आकर्षित गर्ने मात्र नभई जिल्लामा उनीहरूको बसाइ अवधि लम्ब्याउने वातावरण निर्माण गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
साधारण सभामा पर्यटन पूर्वाधार, सडक तथा यातायातको सहजता, होटल सेवाको गुणस्तर सुधार, व्यवसायीको क्षमता अभिवृद्धि, सीपमूलक तालिम, डिजिटल माध्यमबाट पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणलगायत विषयमा छलफल भएको थियो ।
संघका अध्यक्ष कुमार श्रेष्ठले दोलखाको पर्यटन विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्मको सहकार्य आवश्यक रहेको बताए । जिल्लामा रहेका पर्यटनका सम्भावनालाई व्यवहारमा उतार्न सबै पक्षबीच साझा योजना र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
सभाले संघको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै आगामी वर्षका लागि विभिन्न कार्ययोजना तय गरेको छ । पर्यटन व्यवसायीका समस्या समाधान, सेवा गुणस्तर सुधार, पर्यटन प्रवर्द्धनका कार्यक्रम विस्तार तथा पर्यटक आगमन बढाउने कार्यलाई प्राथमिकतामा राख्ने निर्णय गरिएको छ ।
साधारण सभाले संघको नाम तथा विधान संशोधन गर्दै ‘दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ’को नाम परिवर्तन गरी ‘होटल संघ दोलखा’ राख्ने निर्णयसमेत गरेको छ ।
दोलखाको पर्यटनलाई जिल्लाको आर्थिक विकासको प्रमुख आधार बनाउँदै व्यवसायीको हित संरक्षण र समग्र पर्यटन क्षेत्रको विकासमार्फत दोलखालाई बागमती प्रदेशकै आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिबद्धतासहित साधारण सभा सम्पन्न भएको हो ।





