
कोलोराडो (अमेरिका) । नौबुँदे घोषणापत्र जारी गर्दै अमेरिकाको कोलोराडोमा आयोजित तीनदिने नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको मुख्य आयोजना र अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोको वेष्टमिनिस्टरस्थित होटेल ड्ररीमा शनिबारदेखि सुरु भएको तीनदिने वृह्त अन्तर्राष्ट्रिय सम्मेलन सोमबार ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको हो ।
घोषणापत्रमा विश्वमा नेपाली साहित्यको प्रवर्द्धन लगायतका गतिविधि समेटेर वार्षिक रूपमा प्राज्ञिक अनुसन्धानमूलक जर्नल प्रकाशित गर्ने, एआई र क्वान्टम लेखनलगायत विषय केन्द्रित आधारित गोष्ठीहरू सञ्चालन गरिने, ३० वर्षमुनिका युवा लेखकलाई प्रोत्साहनका लागि अनेसास लेखवृत्ति प्रदान गर्ने उल्लेख छ ।
त्यस्तै, प्रकाशोन्मुख पाण्डुलिपी सम्पादनका लागि विज्ञ लेखक उपलब्ध गराउने, बालबालिकालाई लेखनमा प्रोत्साहन गर्न प्रत्येक वर्ष १८ वर्ष मुनिको एकजनालाई बाल प्रतिभा पुरस्कार घोषणा तथा पुरस्कृत गर्ने, समान प्रकृतिका अन्य संघसंस्थासँग औपचारिक सहकार्य गर्ने दिशामा थप प्रयत्न गर्ने, विश्वभर रहेका नेपालीहरूलाई साहित्यका विविध विधामा प्रोत्साहन गर्न लेखन प्रशिक्षण सञ्चालन गर्ने समावेश गरिएको छ ।
घोषणापत्रमा नवप्रतिभा संलग्न विदेशी भाषाका तर नेपाली मर्मका अभिव्यक्तिलाई प्रोत्साहित र अनेसासका केन्द्रीय सदस्य वा सदस्यहरूको छाप्न योग्य वा अयोग्य सामग्री जाँचको प्रणाली खडा गरिनेलगायत बुँदाहरू उल्लेख छन् ।
घोषणापत्रसम्बन्धी प्रस्ताव अनेसासका प्राज्ञिक समिति सम्बद्ध समालोचक महेश पौडेलले पढेर सुनाएका थिए ।
एनआरएनए एनसीसी अमेरिकालगायत संघ संस्थाको सहयोग तथा नेपाल अमेरिका पत्रकार संघ (नेजा)को सहकार्यमा आयोजित भव्य सम्मेलनको उद्घाटन वरिष्ठ साहित्यकार तथा मदन पुरस्कार विजेता प्रमुख अतिथि डा. नवराज लम्साल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्मा र अनेसासका वर्तमान अध्यक्ष सर्वज्ञ वाग्लेले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा नौ प्रतिभाशाली महिला साहित्यकार, लेखक तथा साहित्य अभियन्तालाई ‘अनेसास नवरत्न साहित्य सम्मान तथा पुरस्कार’ वितरण गरिएको छ ।
नवरत्न सम्मान पाउनेमा रेणुका सोल (नेपाल), रिजा प्रधान (अस्ट्रेलिया), सीतादेवी बास्तोला (डेनमार्क), सवि श्रेष्ठ (पोर्चुगल), सीता अर्याल (अमेरिका), कमला न्यौपाने (अमेरिका), लक्ष्मी श्रेष्ठ (अमेरिका), आना स्टिर (अमेरिका) र विष्णु घले (अमेरिका) छन् । नेपाली साहित्यको अन्तर्राष्ट्रिय प्रवर्द्धन, अध्ययन, लेखन तथा अभियानमा विशेष भूमिका निर्वाह गरेबापत हरेक दुई वर्षमा दिइने यो सम्मान तथा पुरस्कारको राशि दुई सय अमेरिकी डलर छ
विशेष अतिथिका रूपमा मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिका, ख्यातिप्राप्त अंग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, कोलोराडोको बोल्डर सहरका मेयर आरोन ब्रकेट, वेष्टमिनिस्टर सहरकी मेयर क्लेयर केरमेलिया, एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साहलगायत थिए ।
उद्घाटनलगत्तै डा. ज्याकलिनले ‘कि नोट स्पीकर’का रूपमा विश्व साहित्यको वर्तमान चुनौती, नेपाली साहित्यको सम्भावना र योगदानका विषयमा चर्चा गरेकी थिइन् । अनेसासका महासचिव राजु सिटौला र कोषाध्यक्ष तारा अधिकारीले सञ्चालन गरेको सम्मेलनमा एक सयभन्दा धेरै पुस्तक विमोचन गरिएको थियो भने झण्डै १४० जना साहित्यकारले आफ्नो रचना वाचन गरेका थिए ।
‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ सेसनमा साहित्यकार निलम कार्की निहारिका, कान्तिपुरका पूर्वप्रधानसम्पादक तथा लेखक सुधीर शर्मा, अनलाइनखबरका प्रधानसम्पादक तथा लेखक बसन्त बस्नेत वक्ता रहेको सेसन रोचक रह्यो । बीबीसी साझा सवालका पूर्वप्रस्तोता नारायण श्रेष्ठले सहजीकरण गरेको यो सेसनले इतिहासका चर्चित घटनाहरूलाई आख्यानमार्फत आम पाठकमाझ ल्याउने लेखकको योगदान र भूमिकाको चर्चा गरियो।
